प्रतिष्ठित बन्दै शनिश्चरे क्याम्पस, सुरक्षित अध्ययन हुने हुँदा छात्राहरु बढी « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

प्रतिष्ठित बन्दै शनिश्चरे क्याम्पस, सुरक्षित अध्ययन हुने हुँदा छात्राहरु बढी


यलम्वर टाइम्स
६ श्रावण २०८१, आईतवार १०:३१

अर्जुनधारा । शैक्षिक प्रतिष्ठानको हब बन्दै आएको शनिश्चरे बहुमुखी क्याम्पस ग्रामिण क्षेत्रका विद्यार्थीहरुका लागि पहिलो गन्तव्य बन्दै आएको छ ।

सस्तोसँगै भरपर्दो रुपमा अध्ययन हुँदा ग्रामिण क्षेत्रका विद्यार्थीहको पहिलो गन्तव्य बन्दै आएको हो । शनिश्चरे क्याम्पस विद्यार्थीका लागि मात्र होइन अभिभावकहरुको नजरमा पनि विश्वासिलो क्याम्पस बन्दै आएको छ ।

२०६४ सालमा यसै क्षेत्रका शिक्षा प्रेमी, समाजसेवी र स्थानीयवासीको पहलमा स्थापना भए पनि २०८१ सम्म आउन निकै कसरत र मिहेनत गर्नुपरेको देखिन्छ । सुरु–सुरुमा विद्यार्थी नभएर कुद्नु परेको पीडा पनि त्यतिकै छ ।

अर्जुनधारा वडा नं. ७ स्थित करिब १ विगाह १ कठ्ठा साढे ९ धुर क्षेत्रफलमा क्याम्पस सञ्चालित छ । क्याम्पसमा अध्ययन गर्ने छात्रछात्रा नगर क्षेत्रका भन्दा पनि जिल्ला बाहिरका रहेको क्याम्पस प्रमुख मोहन ओलीले बताए ।

क्याम्पसमा जुकेखाडी, गाँजाबारी, साँधुटार लगायत बिर्तामोड, चारपाने र लक्ष्मीपुरबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

यसका साथै इलामको दानाबारी, पाँचथरदेखि ताप्लेजुङसम्मका विद्यार्थीहरु विद्यालयमा अध्ययन गर्ने गरेको बताए । यसै क्याम्पसका प्राध्यापकहरुको मिहेनत र सञ्चालक समितिको कडा कसरतले क्याम्पसमा हाल ६७३ जना विद्यार्थीहरु अध्यायन गर्दै आएका छन् ।

क्याम्पसमा विशेष गरी छात्रभन्दा छात्रा बढी अध्ययनमा छन् । छात्रा ४८५ जना छन् भने छात्र १८८ जना रहेका छन् । सुलभ शुल्क, भरपर्दो पढाई र टाढाटाढाका विद्यार्थीहका लागि यातायातको समेत व्यवस्था भएको हुँदा नगर बाहिरका विद्यार्थीहरु आकर्षित भएको क्याम्पसले जनाएको छ ।

‘हामी क्याम्पसलाई सबैको र राम्रो शैक्षिक क्षेत्र बनाउन र स्तरोन्नतितर्फ लैजान प्रयास गरिरहेका छौ’ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हेमराज खरेलले भने, विद्यार्थीका लागि आवश्यक भवन, लाईब्रेरी र समयमानै अध्यापन गराउन प्राध्यापकहरुसँग छलफल गर्दै आएका छौं ।’ उनका अनुसार सबै व्यवस्थित हुँदै जाँदा विद्यार्थीहरुको चाप पनि बढ्दै गएको हो ।

जातिगत हिसाबले क्याम्पसमा अध्ययन गर्नेहरु मध्ये आदिवासी जनजाति विद्यार्थीहरुको संख्या धेरै रहेको छ । क्याम्पसको तथ्याङ्कलाई हेर्ने हो भने आदिवासी जनजाति १४४, दलित ३५, मधेसी १ र अन्य ४७७ जना रहेको देखिन्छ । क्याम्पसले बाहिरबाट आउने र नगरमै घर भएकाहरुलाई समान रुपमा छात्रवृद्धि पनि प्रदान गरेको तथ्याङ्कमा उल्लेख छ ।

क्याम्पसमा २६ जना अनुभवी प्राध्यापकहरुको उपस्थिति छ । क्याम्पसमा बेलाबेलामा गरिने कार्यक्रमहरु उपयोगी र प्रभावकारी भएको प्राध्यापक कृष्ण थापाले जानकारी दिए । विद्यार्थीको मार्कालाई सहज हल गर्न स्वतन्त्र विद्यार्थी युनियनको भूमिका प्रभावकारी नै रहेको विद्यार्थीहरु बताउँछन् ।

प्राध्यापक थापा भन्छन्, ‘अरु क्याम्पसमा राजनैतिक चहलपहल भएर बिग्रेको इतिहास छ तर शनिश्चरे क्याम्पसमा त्यस्तो पाइदैन । त्यसैले हिजोभन्दा आज अझ विकसित र फराकिलो हुँदै आएको छ ।’

स्थानीय सरकारको नजरमा क्याम्पस उत्कृष्ठ भएकै कारण सरसहयोग नगर र वडाबाट पनि जुट्दै आएको व्यवस्थापन समितिका सदस्य लभकुश गिरीले जानकारी दिए । शनिश्चरे बहुमुखि क्याम्पसमा व्यवस्थापन संकाय, शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।