पहिचान पक्षको एउटै दल, नेपाल जनमुक्ति पार्टी « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

पहिचान पक्षको एउटै दल, नेपाल जनमुक्ति पार्टी


यलम्वर टाइम्स
१९ श्रावण २०८१, शनिबार ०४:१०

अर्जुनधारा । पहिचानको मुद्दालाई अघि सारेर अघि बढेका तीन वटा साना दलहरुको एकीकरणपछि निर्वाचन आयोगमा नेपाल जनमुक्ति पार्टी दर्ता भएको छ ।

झापाको बिर्तामोडमा बुधबार आयोजित पार्टी घोषणासँगै जिम्मेवारी हेरफेर भएको जनाइएको छ । राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल र लिम्बूवान राष्ट्रिय समिति (लोसपा) बीच भएको ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको बताइएको छ ।

पार्टीको प्रदेश कमिटी किरात लिम्बूवान, खम्बूवान प्रदेश परिषदको आयोजनामा भएको पत्रकार सम्मेलनमा पार्टीको नेतृत्व पनि सार्वजनिक गरिएको छ ।

एकीकरणसँगै पार्टी नेतृत्व ६९ सदस्य रहेको बताइएको छ । जसमा केन्द्रीय अध्यक्षमा बरिष्ठ नेता केपी पालुङ्वा रहेका छन् ।

यसैगरी, कार्यकारी अध्यक्षमा केशव सूर्यवंशी, उपाध्यक्षमा भक्तबहादुर खेवाङ, संरक्षकमा एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, बरिष्ठ नेता डिके बुदिस्ट, पार्टी नेता सन्जुहाङ पालुङ्वा, उपमहासचिमा लासिम पालुङ्वा र सचिवमा एलबी पालुङ्वा रहेका छन् ।

त्यसैगरी राजकुमार नाल्वो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू, सुकमाया लिम्बू सदस्यमा रहेका छन् भने तत्कालिन राष्ट्रिय जनमुक्ति पार्टीका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारी यथावत रहेको पार्टीले जनाएको छ ।

बहुजातीय लोकतान्त्रिक समाजवाद र संघीय गणतान्त्रिक बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न बहुलराष्ट्रिय विद्रोहमार्फत् जातीय÷राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्न सहमत भएर २०७९ फागुन २७ गते राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल र लिम्बूवान राष्ट्रिय समिति (लोसपा)बीच ६ बुँदे र २०८० मंसिर १९ गते ३ बुँदे सहमति भएर पार्टी एकता घोषणा भएको अध्यक्ष केपी पालुङ्वाले बताए ।

उनका अनुसार उक्त सहमतिलाई २०८१ वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले अनुमोदन गर्दै जेठ २९ गते निर्वाचन आयोगबाट अध्यावधि भएपछि पार्टीको नाम संशोधन भई नेपाल जनमुक्ति पार्टी भएको हो ।

आगामी पार्टीको सम्पूर्ण गतिविधिहरु नेपाल जनमुक्ति पार्टीको नामबाट हुनेसमेत उनले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष खेवाङले नेपाल जनमुक्ति पार्टी पहिचानवादी पार्टी भएको दाबी गरे ।

पार्टी नेता सन्जुहाङ पालुङ्वाले वर्तमान सरकार अप्राकृतिक गठबन्धन भएको बताएका छन् । उनले निरंकुशताको संकेत गर्दै भने मुलुक ‘अब निरंकुशतामा फकिन्छ, त्रास भयो ।’

‘संविधान मान्ने कोही छैनन’, नेता पालुङ्वाले भने, ‘संविधान पुनर्लेखन हुनुपर्छ भन्ने पक्षमा छौँ, संविधानमा उल्लेख भएको पहिचान पक्षलाई संरक्षण गर्ने कुरा कार्यान्वयन गर्नैपर्छ ।’

पार्टीका सचिव एलबी पालुङ्वाले सत्ताधारी राजनीतिक पार्टीहरुले कोशी नामाङुकन खारेजी आन्दोलनलाई बेवास्ता गरे मुलुक राष्ट्रियमुक्ति र क्रान्तितिर अघि बढ्ने बताए ।

उनले पहिचानवादी आन्दोलनलाई दबाउन खोजे पहिचानवादी शक्तिहरु एकताबद्ध भएर मोर्चा र ध्रुवस्करण गरेर अगाडि बढ्ने संकेत समेत गरे ।

पार्टीका उपमहासचिव बिष्णु थाम्देनले विज्ञप्ति वाचन गरेको कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश सचिव कृष्ण थेवे र अध्यक्षता प्रदेश अध्यक्ष पर्शुराम मगरले गरेका थिए ।