जबरजस्ती यौन कार्य गर्नुमात्र बलात्कार हो र ? « Yalambar Times
१२ मंसिर २०८१, बुधबार

जबरजस्ती यौन कार्य गर्नुमात्र बलात्कार हो र ?


यलम्वर टाइम्स
२१ श्रावण २०८१, सोमबार १०:४६

सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)

जिवन जिउनु कहाँ सजिलो रहेछ र ! हामीभन्दा माथिका उमेरकाले हाम्रो उमेरको अनुभव त बटुल्नु सक्नु भएको थियो । तर उहाँहरुले पनि अब आउने जीवनको नौलो अनुभव बटुल्न बाँकी नै रहन्छ त । मनले चाहेको प्राप्त नहुँदा आफ्नो इच्छा विपरीतका कार्यहरु गर्दा जीवन जीउनुको तितो अनुभव हुने रहेछ । कहिले सोचेको नपुग्ने चाहानाका चाङ्गाहरु निधार चाउरी पार्दै आँखा चिम्रो पारेर टाढाबाट निहार्दाको अनुभवहरु धेरैका होलान् । अनि कहिले खुशीका पहाडहरु काखमा नअटाउँदा थकथक मान्दै हातमा समाइएका खुशीभन्दा आफ्नो वरिपरी छरीएका खुशी देखेर चुकचुकाउन विवश मानिसहरु पनि धरै होलान् ।

रातको शून्यता चिर्दै कुनै नारीको रुवाईको आवाज सुनेर छेवैमा निदाउन लागेकी श्रीमतीलाई कोट्याएँ । हामी दुवै जनाले आवाज ठम्याउने प्रयास गर्यौं । हाम्रै घरको बरण्डामा रोए जस्तो लाग्यो । हामी दुवै जना उठेर बाहिर निस्कियौंं । बरण्डाको एक कुनामा एक मानव अस्तित्व देख्यौ । रुवाईको आवाज त्यहिबाट आइरहेको थियो । हामी दुवै उसको नजिक पुग्यौं । घुँडामा टाउको राखेर सुकसुकाउँदै गरेकी एक युवती रहिछ । रातको यो समयमा एउटी युवती यसरी रुनुको कारण जान्न कौतुहलता जाग्यो ।

श्रीमतीजीले सामिप गएर आश्वासनका शब्द पोख्न थाली । सायद चित्त शान्त भएर होला रुन थामिएर श्रीमतीजीसँग सरसार घरभित्र प्रवेश गरी । सामुन्नेको कुर्सीमा बसालेर श्रीमतीजीले बिस्तारै प्रश्न थाली । ‘तिम्रो नाम के हो ? घर कहाँ हो ? अनि किन यसरी अध्याँरोमा एक्लै रुदै बसेकी ?’

यति लामो प्रश्न सुनेर उनि केहि बेर मौन, रहीन् । अचानक आफ्नो हत्केलाले आँसु पुच्छदै मतर्फ नजर दौडाउँदै ‘मेरो नाम कमला हो । मेरो घर पल्लो बाटोको कुइनेटोमा पर्छ । घरमा दाजुभाउजु र उनीहरुका दुई जना छोराछोरी छन् । केहि वर्ष भयो म दाजुको घरमा बसेर पढ्ने गर्छु । तर…..

यतिभन्दै उ फेरी सुकसुकाउन थाली । श्रीमतीजीले ढाढस दिन थाली । केहि बेरको मौनता पश्चात फेरी आफ्नो शब्द पोख्न थाली । ‘त्यो घरमा म हरेक दिन बलात्कार मा परेकोछु ।’

‘बलात्कार?’ म खङ्गरङ्ग भए । श्रीमती र मेरो नजर जुध्यो । आश्चर्य चकित भएर हाम्रो नजर उतिर तेर्सीयो । आश्चर्य मान्नु पर्दैन मैले त्यस्तो बलात्कारको कुरा गरेको होइन । मेरो विचारमा बलात्कार शब्द जबरजस्ती यौन कार्य मात्र होइन । यसको परिभाषा यौनमा मात्र लागु हुने होइन । बलात्कार शब्द त्यहाँ पनि लागु हुनुपर्छ जहाँ जहाँ आफ्नो खुशीले केहि गर्न पाइदैन । जहिले आफ्नो इच्छा विपरीत पनि उनिहरुको आदेश मान्नु पर्दछ । आफ्ना इच्छा र रहरहरु थन्क्याएर हरदम बाध्यताका बिचमा बाँच्नु परिहेछ ।

‘त्यस्तो के बाध्यता छ बहिनीको ?’ श्रीमतीजीले सुस्तरी सोधी । ‘हाम्रो घर इलाम हो । बुबा आमा उतै हुनुहुन्छ ।

दाजुले विवाह गरेर सानो जागीर खाँदै यतै बस्नुभयो । घरको अवस्था कमजोर भएको कारणले दाजुले मलाई यतै पढाउने भनेर राखे । म आएको सुरुमा सबै खुशी थियौं । म पनि खुशी थिएँ । पहाडको उकालो ओरालोको कष्टकर दैनिकीबाट समतल शहरको सहजतामा जीवन सहज लाग्न थाल्यो । एक दुई वर्ष स्कुलको बलेसी टेक्न पाएँ । तर समयको परिवर्तनसँगै भाउजुको मलाई गर्ने व्यवहारमा पनि परिवर्तन आएको आभाष हुनथाल्यो । मेरा हरेक इच्छाहरुका कलिला मुना निमोठिन थालियो । उमेरसँगै पलाएका बैंसका मुस्कानहरु दबिन थाल्यो । बैंसका खुडकिलासँगै राम्रो लगाउने मीठो खाने, सुन्न र बोल्न चाहने शब्दहरु मौनतामा दब्न थाल्यो । मेरो पनि इच्छा छ, चाहाना छ, अस्तीत्व छ । तर मेरो अस्तीत्व नै त्यो घरमा हुनु बिडम्वना हुन थाल्यो । मेरा हरेक इच्छा र चाहाना को विपरीत काम गर्नु पथ्र्यो । मेरा रहरहरु मृत्यु शैयामा लडेको थियो । यो कुरा दाजुलाई सुनाउदा पनि भाउजुको डरले हो या दाजुको नजरमा म कसि·र भएको थिएँ थाहा भएन । मेरो कुरा र गुनासोहरु नसुने नै गर्न थाल्यो । हद भएर आज म त्यो घर छाडेर हिँडेकी थिएँ ।’

‘तिमीहरु सौताका छोराछोरी त होइन होला नि ?’

‘होइन, हामी बुवाआमाका सन्तान हौ । तर भन्छन नि, लोग्ने मानिसहरु विहे गरे पश्चात आफ्नो स्वास्नीको मात्र कुरा सुन्छन् अरे, सायद मेरो पनि त्यहि ड्याङको परेर होला म आफ्नै बहिनीलाई पनि पराई देख्न थाल्यो ।’ सायद उसको मन भक्कानिएर आएर होला, उनी फेरी भक्कानिएर रुन थालिन् । श्रीमतजीले उसको पीठ थपथपाएर आश्वासन दिन थाली ।

वास्तवमा कसैको इच्छा विपरीत कार्य गर्नु अपमान सहनु सरह हो । शब्दकोषमा लेखिएको बलात्कारको परिभाषा यौनमा मात्र लागु हुनुहुँदैन । अपमान सहेर इच्छा विपरीत कुनै कार्य गर्दा पनि मेरो विचारमा बलात्कार हो जस्तो लाग्यो । जहा आफ्नो सपना र इच्छालाई तिलाञ्जली दिएर जीवनभर अरुको आदेश मानेर ज्यु हजुरी गर्नुभन्दा आफू एक्लै मेहनत गरेर स्वभिमानका साथ जीवन बाँच्नु धेरै उत्तम लाग्यो । श्रीमतीजीले उसलाई खाना खुवाएर सुत्न पठाई र ओछ्यानमा आई । हामी दुबै निशब्द एकअर्कालाई हेरिरह्यौं । र केहि बेरमा निदायौं ।