अब कसको आशामा उभिने त ? « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अब कसको आशामा उभिने त ?


यलम्वर टाइम्स
२६ श्रावण २०८१, शनिबार ०३:३६

[बुकी]

अर्जुनधारा । यतिबेला नेकपा एमालेको ओली सरकारलाई प्रश्नै प्रश्न तेर्सिएको छ । त्यसको सहज जवाफ सरकारले दिन सकिरहेको छैन । ठूला दल कांग्रेस र नेकपा एमाले बीच गठबन्धनसँगै साना दललाई समातेर सरकारमा पुगेपछि ओली सरकारलाई प्रश्न गर्न थालेका हुन् ।

नेकपा एमालेसहित मिलेर प्रचण्ड सरकार बनेको १८ महिनाभित्र भ्रष्टाचारी गतिविधि गर्नेलाई सरकारले थुन्न र धरपकड गर्दै यसअघि राज्यमा ठूला भनौदा नेताहरुले गरेको राज्य द्रोहलाई छानबिनको दायरासँगै बहस चलाईरहँदा प्रचण्ड सरकारलाई रातारात फ्याँकेर कांग्रेससँग मिल्दै ओली सरकार सत्ता सञ्चालनमा पुगेका हुन् ।

प्रचण्ड सरकारले आफ्नो १८ महिने शासनकालमा भुटानी शरणार्थी काण्डमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड लगायत केही एमालेका नेताहरुलाई छानबिन गर्दै कष्टडीमा लगाउन थालेपछि नेकपा एमाले पार्टी प्रचण्ड सरकारसँग जोरी खोज्दै बसेको थियो ।

१८ महिने शासनकालमा एमालेका नायकहरुले राज्यको सम्पत्तिमा गरेको दुरुपयोग कार्यको पर्दाफास हुने र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणासमेत समातिने र अरु थुप्रै काण्ड बाहिरिने भएको हुँदा हतार–हतार प्रचण्डसँगको गठबन्धन तोडेर कांग्रेससँग मिली गल्तीलाई ढाकछोप गर्न बनेको कांग्रेस–एमाले गठबन्धन सरकारलाई राम्रा काम गर्नेहरुलाई किन सत्ताबाट हटायौ भन्ने प्रश्न बर्सिएको छ । त्यसमा अशोक राई समर्थक जसपालाई सत्ता लिप्तको रुपमा पनि जनताले भन्न भ्याएका छन् ।

प्रजातन्त्र हुँदै लोकतन्त्रिक गणतन्त्र स्थापना भएको आज ३५ वर्षसम्ममा देशले सत्ता परिवर्तनको बाटो बनायो तर, आर्थिक उन्नति र समृद्ध नेपाल, सुखी नेपाली बनाउन सकेन । फलतः देशका बौद्धिक युवा शक्ति पलायन भए । देश विदेशी व्यापारीहरुको हातमा नाच्न पुग्यो । नेताहरु भ्रष्टाचार र कमिशनतन्त्रमा लिप्त भए । त्यतिमात्र होइन एकल वर्गको उच्च घरानामा शासन चल्यो । ०७२ को संविधानले समानुपातिक प्रतिनिधित्व र समान अधिकारको आधार बन्दै जाँदा ठूला दल कांग्रेस र एमाले आतिन पुगे ।

त्यसैले आज लोकतान्त्रिक गणतन्त्रले दिएको संविधानलाई नै पल्टाउनुपर्छ भनेर कांग्रेस, एमाले देखा परेका छन् । रातारात ७ बुँदे सहमति कायम गरेर अगाडि बढेका छन् । अझै पनि ७ बुँदे सहमतमा के–के छ जनताले छर्लङ्ग हुने गरी ल्याएका छैनन् । केही बुँदा यही हो ७ बुँदै भनेर जनता माझ फ्याँके पनि यथार्थ बाहिर नआउदा कांग्रेस, एमाले दलसँग जनजाति संघसंस्था आतिन पुगेका छन् । त्यतिमात्र होइन लोकतान्त्रिक गणतन्त्रले चहाने नेपाली जनता चकित छन् ।

यदि त्यस्तो होइन भने किन रातारात संविधान उल्टाउने सम्झौता गरी तेस्रो माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रलाई प्रतिपक्ष बनाई सत्ता परिवर्तन गरेका हुन त ? ठग र देशमा भ्रष्टाचार गर्नेलाई धरपकड गर्दा किन कांग्रेस, एमाले आत्तिए त ? काण्डै काण्ड छ नेकपा एमाले र नेपाली कांग्रेसमा । प्रजातन्त्र आएको ३५ वर्षमा दलका नाइकेहरुलाई सुख जनतालाई हैरान हो त ?

परिवर्तनको नाममा जनताका बौद्धिक छोराछोरी विदेश पलयान, विदेश शक्तिहरु नेपाललाई खेलौना, सत्ता र शक्तिको भारमा देशको ढुकुटीमा मोजमस्ती, के यही हो परिवर्तन ? अंश अंशमा प्रश्न छ । न त यो प्रश्नको जवाफ सरकारसँग छ, न त कांग्रेस, एमाले कार्यकर्ताहरुले नै आफ्नो दलमा प्रश्न राख्न सक्छन् ? अब सर्वसाधारण कसको आशामा उभिने त ?