बिर्खेको दशैं « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

बिर्खेको दशैं


यलम्वर टाइम्स
२४ आश्विन २०८१, बिहीबार १०:१०

[सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)]

बिर्खे सदा झैं आज पनि क्षितीजलाई एकतमासले निहारीरहेको थियो । दशैंको आगमनले गोधुली साँझको बातावरणमा चिसोपनको आभाष भइरहेको थियो । आँगनमा ठडीएको आँपको रुखमा चराचुरुङ्गीहरु एक तमासले हल्ला गरिरहेका थिए । तर बिर्खेलाई शायद त्यो हल्लाले स्पर्श गरेको थिएन । उ एक तमासले आफ्नो धुनमा उतै निहारी रहेको थियो । शायद उसले मानचित्रमा धेरै ज्ञान राखेको थियो होला । त्यसैले आफ्नो बाबुआमा कमाउन गएको “खाडी“ देश त्यसैतर्फ पर्छ भनेर होला निमेषभर आँखा बन्द नगरी एकोहोरो त्यतै हेरिरहेको थियो । तर सदाभन्दा आज उसको मुहार मलिन देखिन्थ्यो ।

उसलाई आज पनि झल्झली याद छ, दशैंको रौनक । बुबा, आमा, दिदी अनि आफु परिवारको कान्छो सदस्य । बुवाको वर्षभरिको परिश्रम वापत दशैंको समयमा परिवारकोलागि नयाँ लुगा भनि मिठो खानाको राम्रो जोहो गर्थे। दुई छाक मासु खाएकै थिए । एक जोडी राम्रो लुगा लगाएकै थिए । दशैंको टिका को साइत पारेर हजुरबा, हजुरआमा, बडाबडी र काकाकाकीको घरमा मनग्ये कोशेली बोकेर गएकै थिए । सबैले आदर र मायाकासाथ निधारमा रातो टिका, कानमा पहेंलो जमरा र हातमा मनै फुरुङ्ग हुने दक्षिणा पाएकै थिए। दुईछाक चिची र माम काकी, हजुरआमा र बढीहरुको स्नेहका बिच खान पाएकै थियो । तर बालापनमा आशीर्वादको केहि मूल्यनै नहुने रहेछ । हजुरबाले आशिर्वाद भट्याउँदै टिका लगाईदिदा निधारमा काउकुती लागेर दक्षिणा थाप्नको हतारले आशीर्वाद तर्फ ध्यान नजाँदो रहेछ । हातमा दक्षिणा पाए पश्चात आफूजस्तै केटाकेटी जम्मा भएर ‘तँलाई भन्दा मलाई धेरै पैसा’ भन्दै हातको मुठ्ठी खोलेर देखाउँदाको रोमाञ्चकता पृथक नै हुने । त्यो भन्दा आफुले लगाएका दशैको नयाँ कपडा देखाएर ‘तेरो राम्रो कि मेरो राम्रो’ भन्दै साथीहरु माझ फूर्ती देखाउँदा विश्व विजेताको आभाष हुन्थ्यो ।

दशैको टिका थाप्न बुवा, आमा र दिदीसँग फुर्कावाला झोलामा कोसेली बोकेर आमाको पछिपछि लागेर खाली खुट्टा हिड्दाको क्षणमा रूनु या हाँस्नु को अवस्था हुन्थ्यो । रुनु पनि कसरी हर्षित मुद्रामा आमासँग मावला हिंडेको, नरुनु पनि कसरी खाली खुट्टा तातो घाममा हिड्नु पर्दा । तर यो दुवै बिर्षेर मावला जानुको खुशि त बखान नै गर्न नसकिने । मामा माइजूको माया अनि मावलाका हजुरबा र हजुरआमाले देखाउनु भएको स्नेह, त्यो सानो छातीमा नै नअट्ने । मिठामिठा खाना, गुलीयो चिया अनि बिस्कुट, चकलेट खान पाउँदा वास्तवमा नै दशैं लागेजस्तो हुने । मामा माइजूले नयाँ कपडा किनेर दिनुभएको क्षण र नाती, नातीनाको खाली खुट्टा देखेर हजुरबाले किनिदिनुभएको फित्ताबाला चप्पल लगाएर घर फिर्दाको बखान सुनाईसक्नु थिएन ।

तर जीवन कहाँ सँधै एकनास हुने रहेछ र ? घरको आर्थिक अवस्था सुधार्न बुवाले खेत बन्धकी राखेर ‘खाडी’ जाने भनेर बाटो लाग्नु भएको थियो । केहि महिनासम्म आमाको मुहार निराश देखिन्थ्यो । तर त्यसको केहिसमय पश्चात् आमाको रहन सहनमा धेरै परिवर्तन भएको देख्न थालियो । आमा खुशी भएको देखेर दिदी भाई पनि बुवाको नैरश्यलाई बिर्सेर आफ्नो दिनचर्यालाई सहज ठान्न थाले । त्यस विचमा केहि दशैं बित्यो, तिहार बित्यो तर बुवा रहँदाको दशैं र बुवाबिनाको दशैंमा धेरै अन्तर रहयो । दशैमा हजुरबा, बडा र काकाको घरमा दिदी भाई मात्र जान थाले । मावलामा पनि पहिलाझैं रमाइलो लाग्न छाड्यो । मावलाका हजुरबा र हजुरआमाबाट पाउनुपर्ने मायामा केहि कमि आएन तर आमालाई हेर्ने दृष्टिकोण केहि अलग देखिन थाल्यो ।

बुवाको घर फिर्नेसमय कहिले आएन । तर त्यसैै सिलसीलामा आमापनि ‘खाडी’ तर्फ लागिन् । त्योबेला दिदी, भाई मिलेर खुब रोए । काका, काकी बडाबा, बडीआमा र हजुरवा आउँनुभयो । दुवैलाई खुब माया गरे, धेरैबेर सम्झाएर सबैजना आ–आफ्नो घरतर्फ लागे । सदाझैं यसपालीपनि दशैं को आगमन भयो । सबैको घरमा खुशी छायो होला तर बिर्खेको घरमा दशैंको रौनक छाएन । बुवा, आमाले “खाडी“बाट पैसा पठाएर घरमा नयाँ कपडा आयो तर अभिभावकबिनाको दशैं आएरपनि अर्थहिन रहयो ।

आज पनि बिर्खे सदा झैं एकान्तमा बसेर क्षितीज निहार्दै थियो । अचानक दिदीको आवाजले बिर्खेलाई झस्कायो । पछाडी फर्केर हे¥यो । दिदीसँग अर्को कोही मानिस उभिएको देख्यो । साँझमा ठम्याउन केहि सकस भयो । नजिक आएर हे¥यो । दिदीसँग उभिएको मानिस आफ्नो बुवा रहेछन्। चिनेपश्चात् अंगालो हाल्दै भक्कानो फुटाएर रोयो । केहिबेरको रुवाई पश्चात् मन हल्का भयो अनि हल्ला गर्दै गाउँतर्फ दौडियो । अनि घरमा आएरबुवाको काखमा सुत्यो ।

बालापनको दशैंको रौनक सायद ती बालकहरुका लागिनै आए जस्तो लाग्छ । अवोध मनमा नयाँ कपडा, मासु, चिउरा, निधारमा रातो अक्षता अनि हातमा दक्षिणा, यहि नै हो वालापनको दशैंको रौनकता । तर दशैं जति खुशी भएपनि घरमा एकजना अभिभावक नहुँदा र टिका लगाउँदा टाउकोमा हात राखेर आशिर्वाद दिने त्यो बालापनको दशैं पनि खल्लो हुने रहेछ भन्ने मैले पनि भोगेको छु ।