दमक । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनताको पक्षमा काम गर्न खोज्दा ठूला भनौदा दलले छेकेको बताएका छन् ।
विहीबार पार्टी दमक नगर समितिले आयोजना गरेको शुभकामना तथा देउसे भैलो कार्यक्रमको उद्घाटन गर्दै भ्रष्टाचारीलाई तह लगाउन र महंगी नियन्त्रणसँगै राज्यको सम्पति माथि गिद्धे दृष्टि लगाउनेप्रति कारवाही अगाडि बढाउन खोज्दा एमाले र कांग्रेस बाधक भएको प्रस्टयाए ।
उनले जनताको बलिदानी पूर्वक ल्याएको संविधानलाई आफ्नो अनुकुलतामा ल्याउन खोजेको हुँदा खबरदारी आवश्यक भएको बताए ।
आजै अराजक ढंगबाट हत्या भएको भनिएका यामु निरौला (देशु) को घरमा पुगेर उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठले परिवारप्रति सान्तवना प्रकट गर्दै यामु निरौलाप्रति गरिएको अपराधलाई उचित छानविन गरी दोषीलाई कारवाही बढाउने धारणा राखेका थिए ।
यसरी नै आजै दमक स्थित महान योद्धा पुरुष वीरेन्द्र स्मृति प्रतिष्ठानको अवलोकन गर्दै प्रतिष्ठानलाई अगाडि बढाउन आफ्नो तर्फबाट सहयोग पु¥याउने बताएका थिए ।
उक्त प्रतिष्ठानले गरिब, जेहेन्दार र शहीद परिवारका सन्तानलाई निःशुल्क पढाउँदै आएको छ । प्रतिष्ठानमा सिभिल इञ्जीनियरीङ, अमिनी लगायतका प्राविधिक विषय पठनपाठन हुँदै आएको छ ।
यसरी नै आजै झापाको बिर्तामोड नगरपालिकामा रहेको नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको अवस्थाबारे अवलोकन भएको छ ।
प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल देशु वनेमले प्रतिष्ठानको अवस्थाबारे जानकारी गराएका थिए ।
२०७२ सालमा स्थापना भएको प्रतिष्ठानले वन विज्ञान, पशु विज्ञान, होटल म्यानेजमेन्ट लगायतका विषयमा अध्यापन गराउँदै आएको छ ।
प्रतिष्ठानको अवस्थामाथि चिन्तित हुँदै यसलाई अगाडि बढाउन आफ्नो सक्दो प्रयास रहने पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, झलकसिंह दर्लामी, जिल्ला संयोजक राजु आचार्य, सञ्जीत तामाङ, मोहन टुडु, नारद दुःखी, रोशन कन्दङ्वा, सुशिला कन्दङ्वा, अरुण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।