घान्द्रुकको मुस्कान, मुक्तिनाथको आशिर्वाद र मार्फा भिलेजको नृत्य « Yalambar Times
२९ कार्तिक २०८१, बिहीबार

घान्द्रुकको मुस्कान, मुक्तिनाथको आशिर्वाद र मार्फा भिलेजको नृत्य


यलम्वर टाइम्स
२२ कार्तिक २०८१, बिहीबार ०७:५२

[दिपीन राई]

घान्द्रुकबासीको उज्यालो मुहार किन हुन्छ होला भन्ने जिज्ञासा पहिलादेखि नै थियो । शनिश्चरे बहुमुखी क्याम्पसको शैक्षिक भ्रमणमा सामेल भएर घान्द्रुक पुग्दा बल्ल थाहा भयो, बिहानी उदाउँदै गर्दा सूर्यले अन्नपूर्णलाई उज्यालो पार्दो रहेछ अनि अन्नपूर्ण हिमालले घान्द्रुकबासीहरुलाई मुस्कान दिदो रहेछ । त्यसैले पो घान्द्रुकबासीहरुको मुहार उज्यालो हुँदोरहेछ अनि घान्द्रुकबासी हसिला हुँदा रहेछन् ।

हिमालको काखमा रहेको कास्की जिल्लाको घान्द्रुक क्षेत्रलाई जतिसुकै वर्णन गरे पनि कमै हुन्छ । पृथ्वी राजमार्गदेखि २० किलोमिटर उत्तरमा रहेको घान्द्रुक बर्खामा पनि त्यति धेरै पानी नबर्सिने, घामको तापक्रम त्यति धेरै नलाग्ने, चिसोले पनि मुटु कटकै नखाने, अनि शरीरलाई आवश्यक पर्ने भिटामिन प्रशस्त पाइने । त्यहाँको नगदेवाली भनौ या मुख्य अन्न कोदो, मकै र भटमास हुने गरेको पाइन्छ ।

क्याम्पस व्यवस्थापन समिति, विद्यार्थी र उपप्रमुखको अगुवाईमा शैक्षिक यात्रा थियो । गाउँको क्याम्पस, सीमित श्रोत र महत्वपूर्ण शैक्षिक भ्रमण भएकाले विद्यार्थी बोक्ने गाडीमै यात्रा सुरु भयो । कार्तिक ५ गते ठीक १२:२५ मा गाडी शैक्षिक यात्रामा निस्कियो । उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुसँग शैक्षिक भ्रमण कस्तो होला ? भन्ने लागेको थियो तर, सोचे जस्तै विद्यार्थीहरु भएकाले भ्रमण गुणस्तरीय नै भयो । दिउँसोको यात्रा रातभरी दौडिदा बिहान ७:३० बजे कास्कीको पोखरा पुगेको थियो । गाउँबाट विद्यार्थीहरु शैक्षिक भ्रमणमा आएछन् भनेर होला माछापुच्छ्रे हिमालले हामीलाई मुस्कुराउँदै स्वागत गर्न पुग्यो । पोखरा आफैमा सुन्दर नगरी हो । त्यो नगरलाई भौतिक निर्माण तथा बाटोघाटोले भन्दा पनि त्यहाँका प्राकृतिक दृष्टि र मठमन्दिरले मात्र पोखरा सुन्दर नगरी भनिएको हो भन्ने लाग्छ ।

फेवाताल बीचको बराही मन्दिर, सारङकोटको ऐतिहासिक स्थल, फेवातालमाथिको बौद्ध स्तुपा र भर्खरै निर्माण भएको शिव मन्दिर र सिमेभूमे मन्दिर । त्यतिमात्र होइन डेविट फल्स, महेन्द्र गुफा, चमेरे गुफा र बिन्ध्यावासीनी मन्दिरले पनि पोखरालाई सुन्दर नगरी बनाउन सहयोग गरेको पाइन्छ । उपत्यकापछि दोस्रो ठूलो शहर पोखरा हो । देशी विदेशी मात्र होइनन्, अन्तर्राष्ट्रिय विमान बन्दै गएको स्थल पनि हो ।

विदेशी नागरिक मात्र होइन अध्ययन र अवलोकन गर्न आउने गन्तव्य स्थल पनि हो । तर पोखरा नगरभित्रको बाटो, पाटीपौवा, बजार र बसपार्क व्यवस्थित नभएकाले पोखरेली राजनीतिक दल र त्यहाँका बौद्धिक व्यक्तित्वहरुलाई गिज्याइ रहेको पाइन्छ । हामीसँगै शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थीहरुको पनि जिज्ञासा त्यही थियो । बाटाघाटालाई बिर्साउने प्राकृतिक स्थल पोखरामा प्रशस्त भएको कारण नगरभित्रको फोहोरलाई भन्दा प्राकृतिक दृश्यको फोटो बढी त्यहाँ पुग्नेले लिने भएको कारण पोखरा नेपालकै सुन्दुर नगरी भनेर भनिएको रहेछ सहभागी पूर्व वडाध्यक्ष जीवनकुमार भण्डारीले भने ।

पोखरालाई प्रश्न गर्ने थुप्रै आधारहरु छन् तर, ती आधारहरुलाई नकोट्याउन आँसु जस्तै गहिरो ढंगले बगेको सेती नदी र उत्तरबाट मुस्कुराई रहेको माछापुच्छ्रे हिमालले अनुरोध गरेपछि हामी साराङकोटको बाटो हुँदै मुक्तिनाथ बाबालाई दर्शन गर्नतर्फ लाग्यौं । मुक्तिनाथ हिमालको काखमा रहेको उच्च हिमाली क्षेत्रको मन्दिर हो । जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि ध्यान गर्न आएका थिए । मुक्तिनाथ मन्दिरमा आनी गुरुआमा मुख्य पुजारी हुनुहुन्छ । बाहिर सहायक ब्राम्हण पुजारी मन्त्र जप्नु हुन्छ । बौद्ध र हिन्दू मिश्रित रुपमा पूजा गरिने चलन छ । पूजा गर्नअघि १०८ धारामा स्नान गरेपछि पितृको नाममा दीप जलाएपछि पूजा गर्ने चलन छ ।

त्यही क्रममा म पनि थिएँ । फूलपाती अगरबत्तीसँगै मुक्तिनाथ देवताको काखमा यलम्वर टाइम्स पत्रिका पनि चढाएँ । चढाउन अगाडि आनी मातालाई यो पत्रिका देवताको काखमा राखिदिन भनेपछि आनीले भन्नुभयो, किताब, पुस्तकहरु केही मानिसले चढाउनु हुन्थ्यो आज त पत्रिका पनि चढाउन पाइयो भन्दै देवताको काखमा पत्रिका राखिदिएर पानी छर्कदै आशिर्वाद दिनुभयो । मुक्तिनाथ नेपाली धार्मिक पर्यटकहरुका लागि गन्तव्य स्थल नै हो । कात्र्तिक महिनाको समय त्यहाँ पुग्न उपयुक्त ठानिन्छ ।

हामी घान्द्रुकमा एक दिन रमाइसकेपछि बिहान अन्नपूर्ण हिमालले हामीलाई बाई ! बाई ! गर्दै थियो । तर, घान्द्रुकमा रहेको गुरुङ जातिको पहिरन र त्यहाँको मीठो परिकारले छाड्न मन त थिएन । समयले पर्खदैन है भन्दै हामीलाई यात्रामा घचघच्याइ रहनुहुने कृष्ण पौडेल सरको आग्रहलाई मनन गर्दै हामी बाग्लुङको काली भगवतीको आशिर्वाद लिएर अगाडि बढ्यौं ।

बेनीबाट १ बजे हामी उकालो लाग्दा काली गण्डकीको तीरै तीर तिनले गाएको सुशेलीसँगै हामी १ः१५ मा गलेश्वर त्यहाँबाट ३:३० बजे पोखरे बजार, तातोपानी त्यहाँबाट ४ बजे दाना रुप्से छहरामा दिउँसोको भोजन गर्न पुग्यौं । खानापछि रुप्से झरनामा रमाउँदा रुप्सेले गाएको गीतमा मख्ख हुँदा १ घण्टा बितेको थाहा नै भएन । त्यहाँबाट ५ बजे हामी घौसा हुँदै लेतेमा हाम्रो एकरात बास भयो ।

लेतेबाट भोलि पल्ट हुकुचे, मार्फा, जोमसोम, एक्लेभाटी, झारकोट हुँदै बिहान ७ बजे मुक्तिनाथ बसपार्कमा हाम्रो पाइला प¥यो । त्यहाँ पनि कुनै बिलम्ब नगरी ७:३० मा मुक्तिनाथको दर्शन गर्न प्रवेश भएका थियौं । बाटो सहज थियो तर चिसोले यतै रहिन्छ कि भन्ने त्रासले हामीलाई पीरोलिरहेको थियो । मुक्तिनाथमा पुग्दा माइनस ३ डिग्री हुँदा दर्शन गर्नेहरुलाई निकै असर पारेको देखिन्थ्यो । यसअघि पनि क्याम्पसका सहयाक प्रमुख कृष्ण थापा आउनु भएको रहेछ तर जुठो परेको कारण दर्शन गर्न सक्नु भएन छ । तर यो पटक विद्यार्थीहरुलाई सहज रुपमा पु¥याउँदै चिसोलाई प्रवाह नगरी १०८ धारामा स्नान गरी शनिश्चरे बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि नरिबल फुटाउँदै जय शनिश्चरे बहुमुखी क्याम्पस भनेर विद्यार्थीहरुसँग नारा लगाएको दृश्य उर्जाशील थियो ।

यात्रामा विद्यार्थीहरुको शालिनता र गीत मनोरञ्जनमा अग्रता देखेपछि क्याम्पसका अध्यक्ष हेमराज खरेलले मुसुमुसु हाँस्दै हाम्रा नानीहरु परिपकक र अनुशासित भएको प्रतिक्रिया दिए । मुक्तिनाथमा बस्ने प्रशस्त रहर हुँदाहुँदै पनि समयले हामीलाई घचघच्याइरहेको थियो । कृष्ण पौडेल सरसँग १० मिनेट जति भगवान बुद्धको प्रतिमा नजिक ध्यान गर्ने अवसर मिल्यो । मुक्तिनाथ मन्दिर वरपरका इतिहास पौडेल सरले मलाई सुनाउनु भयो । नभन्दै हामी दुम्बा पोखरीतर्फ लाग्यौं । त्यो पोखरीमा पालिएको माछा हेर्न टाढाटाढाका मानिसहरु उपस्थिति थियो । हामी हिमाली आदिवासी बसोबास गरेको शेरचन, लोपचन, थकाली जातिहरुको गाउँ मार्फा पुगेर अवलोकन गर्ने काम भयो ।

अवलोकनमा नेपालगञ्ज माइती घर भएकी मगर थरकी चेली शेरचनसँग विवाह गरी मार्फा भिलेजमा व्यापार गर्दै गरेकी होटलमा उनले नै बनाएको मार्फाको स्वागत लिन पुग्दा त्यसको स्वादले होला पूर्व वडाध्यक्ष जीवन भण्डारीले जोमसोमे बजारमा बाह्र बजे हावा सरर… भन्दै विद्यार्थीसँग मुख्य सडकमै आफ्नो कला प्रदर्शन गर्न पुगे ।

मार्फाको स्वादले अघिनै मख्ख भएका अध्यक्ष खरेल पनि मुसुमुसु हाँस्दै उपहार किन्दै थिए । कृष्ण थापाले पनि कलेजका प्राध्यापकहरुलाई मायाको चिनो लिँदै थिए । जोमसोम हाम्रो गाउँ थिएन तर हाम्रो देश थियो । निमन्त्रणा थिएन तर, हाम्रो देश कस्तो छ भनेर जिज्ञासा थियो । त्यसैले मुक्तिनाथ, जोमसोम र मार्फा गाउँमा एकैछिन लुकामारी खेल्दै हातले नभने पनि मनले अब कहिले आइपुगिन्छ होला भन्दै बाईबाई भन्दै ओरालो लाग्यो ।

साँझ पोखरा आइपुगेका थियौं । भोलि पल्ट विद्यार्थीहरुले सहभागि हामी पाँच अभिभावकलाई माछापुच्छूे आकारको शीर भन्दै टोपी पहि¥याइदिए । यात्राबाट फर्कदै गर्दा हाम्रो प्यारो अर्जुनधारा, शनिश्चरे, खुदुनाबारी आइपुगेको पत्तै भएन । हामीलाई लगेर ल्याउनु हुने गाडी चालक चन्द्र तामाङ र खलिम मियाप्रति यरिक यरिक नोगेन भन्दै हामी आ–आफ्नो गन्तव्यतर्फ लाग्यौं ।