उपनिर्वाचनः कनकाईमा माओवादी र एमालेको टक्कर « Yalambar Times
६ मंसिर २०८१, बिहीबार

उपनिर्वाचनः कनकाईमा माओवादी र एमालेको टक्कर


यलम्वर टाइम्स
२ मंसिर २०८१, आईतवार ०९:४४

चम्पापुर । स्थानीय तह अन्तर्गत झापाको कनकाई नगरपालिका वडा नं. ६ मा मंसीर १६ गते उपनिर्वाचन हुने भएको छ ।

उपनिर्वाचनमा मुख्यत तीन दलको कडा प्रतिस्पर्धा हुने भएको देखिन्छ । नेकपा एमाले निर्वाचित भएको उक्त वडामा यो पटक कडा प्रतिस्पर्धा हुने भएको हो ।

निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापा (६६ वर्ष) क्यान्सर रोगका कारण निधन भएपछि रिक्त रहेको स्थानमा यो पटक एमालेले तुलाराम बस्नेतलाई अघि सारेका छन् । स्व. दीर्घबहादुर थापा यसअघि माओवादीका नेता थिए । त्यसबेला माओवादीको मतले नै उनले विजय हाँसिल गरेको भनाइ छ ।

यता नेकपा माओवादी केन्द्रले वडा नं. ६ का लागि गणेश थापालाई उम्मेद्वारको रुपमा उभ्याएको छ । उनको उम्मेद्वारी घोषणामा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले थापाको नाम उच्चारण गरी घोषणा गरेका हुन् ।

माओवादीका उम्मेद्वार थापालाई सक्रिय राजनीतिक दलहरु र नागरिक समाजले साथ दिने भएको छ । यता नेपाली कांग्रेसबाट रामगोपाल ओलीलाई उम्मेद्वार बनाइएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वारमा भने लक्ष्मी ओली उठ्ने भएका छन् ।

सीके राउतको पार्टीले पनि वडाको उम्मेद्वारी दिएको छ । अहिलेसम्मको अंक गणित हेर्ने हो भने माओवादीको पक्षमा जनलहर देखिएको छ । गणेश थापा युवा समाजसेवी तथा सहयोगी, समाज बुझ्ने व्यक्तित्व भएको हुँदा चम्पापुरवासीले मूल्याङ्कन गरिरहेका छन् ।

उनको पार्टीले भ्रष्टाचारीहरुलाई कारवाही गर्न खोज्दा एमाले, कांग्रेस बाधक भएको भन्ने टिप्पणी भएको कारण माओवादीका गणेश थापामा सहानुभूति पलाएको हो ।

यसअघि एमालेका दीर्घबहादुर थापाले ५०८ , स्वतन्त्र (जेब्रा) लक्ष्मीप्रसाद ओलीले ४४०, माओवादीको रेवतबहादुर रेग्मीले २९४, नेपाली कांग्रेसका केशव बिमलीले २९४, राप्रपाका दीलिपकुमार कार्कीले १९ मत ल्याएका थिए ।

अहिलेका एमाले उम्मेद्वार तुलाराम बस्नेत पूर्व जनप्रतिनिधि हुन् । एमाले र माओवादी बीच एकीकरण भएपछि माओवादीका नेता दीर्घबहादुर थापालाई उम्मेद्वारी दिएका थिए । नेपाली कांग्रेसका अधिकांश मतदाताहरु स्वतन्त्रमा मत जाहेर गर्ने गरी मौन रहेका देखिन्छ ।