अर्जुनधारा । मानव जीवनमा भइपरि आउने विपद्लाई न्यूनिकरण गर्न अर्जुनधारा–१ मा निर्माण हुँदै आएको विपद् प्रतिकार्य सम्बन्धि अतिआवश्य सेवालाई चाँडै सञ्चालनमा ल्याउन कार्यविधि तय गर्ने भएका छन् ।
मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्रद्वारा सञ्चालित विपद केन्द्र अर्जुनधारा, बुद्धशान्ति, बिर्तामोड र कनकाईसहित चार पालिकाले संयुक्त रुपमा भवन निर्माण गर्दै आएका छन् ।
उक्त केन्द्रको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको अर्जुनधारा नगरपालिकाकी इन्जीनियर नीता नेपालले चार पालिकाका प्रमुखहरुलाई जानकारी दिइन् ।
सोमबार अर्जुनधारा नगरपालिकाको सभाहलमा विपद् केन्द्र भवन र कार्यविधि बारे छलफल भएको थियो ।
छलफलमा भवन निर्माण गर्दा लाग्ने रकम सम्बन्धित पालिकाले चाँडो जम्मा गरी विधि प्रक्रिया निर्माणमा जुट्नुपर्ने बताएका थिए ।
विपद् केन्द्र मुख्य कार्यालय अर्जुनधारामा रहेतापनि सम्बन्धित पालिकामा शाखा केन्द्र बनाएर सञ्चालन गर्नुपर्ने छलफलमा उठेको थियो ।
अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले विपद् केन्द्रलाई चाँडो सञ्चालन गरी मानव जीवनको रक्षामा सबै जुट्नुपर्ने बताए ।
छलफलमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, कनकाईका राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटी, अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, वडा नं. ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, चन्द्राकुमारी तामाङ, विमला रोक्का, सौजन कटुवाल लगायतको उपस्थिति थियो ।