धर्म एक आस्था हो । धर्म एक परम्परा हो । धर्म एक अनुशासन पनि हो । हुनसक्छ विद्वान महोदयहरुको दृष्टिकोणमा धर्म अझै धेरै थोक हो । यसका आख्यान वर्षौसम्म गर्दा पनि पूर्ण हुँदैन तर मैले बाहिरी आवरणको मात्र चर्चा गर्न खोजेको हो । धर्म सागरभन्दा गहिरो होला तर म त्यसमा डुब्न चाहिन । मैले त केवल सतही रुपमा मात्र बखान गर्न चाहेको हो । धर्मको चर्चा गर्दा भगवानको उपस्थिति अनिवार्य हुन्छ । मेरो नजरमा भगवानको झुप्रोमा बास हुन्छ । बालकको अवोधपनमा बास हुन्छ । भिखारीको आशामा बास हुन्छ । गरिबका विवशतामा हुन्छ । भगवान म मा समाहित छ भनेर हनुमानलेझै छाती चिरेर देखाउन पर्दैन ।
यदि हेर्ने नजरमा धर्म छ भने भोकले छटपटिएको भोको मानिस र चित्कार गर्दै रुदै गरेका आँखामा पनि भगवान भेट्न सकिन्छ । यदि हेर्ने नजरमा धर्म छ भने अध्यारो झुप्रोमा पनि भगवानको बास हुन्छ । अनि त्यहाभित्र आश्रित शरीरका छाला चाउरी परिसकेका वृद्धवृद्धमा पनि भगवानको बास हुन्छ । मलाई लाग्छ आडम्बर देखाएर धर्म मान्नुभन्दा एउटा पत्थरका सामु झुकेर आस्थाका साथ एउटा पाती चढाए मात्र पनि भगवान खुशी हुने तर्क राख्दछु । यदि आत्मा स्वच्छ छ भने हाम्रै वरिपरी बगिरहेको हावामा पनि भगवान देख्न सकिन्छ ।
हुन त धर्म धेरै प्रकारका छन् । त्यसमा आफ्ना–आफ्ना तरिकाले धर्म मानिरहेका हुन्छन् । धर्म मान्दा मूर्ति पूज्नैपर्छ भन्ने छैन । धर्म मान्दा धन वैभवको प्रदर्शन गर्नैपर्छ भन्ने छैन । प्रत्येक मानिसहरुले आ–आफ्नो तरिकाले मनाउन सक्छन् । यसमा धर्मका ठेकेदारहरुको आवश्यकता पर्दैन । न त धर्म कसैको पेवा हो, न कसैको अंशमा परेको हो । धर्म त शदियौंबाट परम्परागत तरिकाले पिढीं दरपिढीं मान्दै आएको एक आस्था हो । यो आस्था मान्दा कसैले तेरो र मेरो भनेर कित्ता काँट नगरे राम्रो हुने थियो ।
यसै सन्दर्भमा दोस्रो पशुपतिनाथ भनेर चिनिएको अर्जुनधारा जलेश्वर धाममा यही मंसीर ८ गतेबाट ४२ औं अनुष्ठान सुरु भएर बालाचतुर्दशीका दिन सद्बिज छरेर समापन हुनेछ । सो पुराणमा १०८ ब्राम्हणबाट पितृ मोक्षका लागि सात दिनसम्म मन्त्रोच्चारण भइरहेको जानकारी आएको छ । यसका कार्यक्रम भव्य र सभ्य प्रकारले सम्पन्न होस् भन्ने म कामना गर्न चाहन्छु । आफ्नो पितृहरुको उद्दारका लागि ५१ हजार रुपैयाँ तिरेर कर्म गरिरहेका परिवारको पनि आफ्नो इच्छा पूर्ण होस् भनी कामना गर्न चाहन्छु । पितृहरुको मृत्यु पश्चात उहाँहरुको आत्मा कहाँ बास हुन्छ त्यो त मलाई थाहा हुने कुरो भएन तर पुराणमा उल्लेख भए अनुसार प्रत्येक वर्षको सोह्र श्राद्ध मासे तिथिमा गरिएको श्राद्धबाट पितृहरुको आत्मा खुशी हुने भन्ने सुनेको हो । यसै अनुरुप प्रत्येक वर्ष यसै अर्जुनधारा जलेश्वर धाममा निरन्तरका साथ भइरहने पुराणमा पनि पितृहरुकै मुक्तिका लागि भनेर नै अनुष्ठान गरिन्छ । त्यसैले मेरो विचारमा धर्म एक आस्था हो । आस्थामा मानिसहरु दिमागले होइन मनले सोचेर आफ्नो कर्म गर्छन् । यसरी नै परम्परालाई जीउँदो राख्दै पिढींदर पिढीं निरन्तर चलिरहन्छ, चलिरहनुपर्छ । तब मात्र धर्मको जगेर्ना हुनसक्छ ।
हाल देशमा हिन्दू धर्ममाथि अदृश्य रुपले प्रहार भइरहेको छ । देशका प्रत्येक गाउँ टोलमा साम, दाम प्रयोग गरेर भए पनि धर्म परिवर्तन गराएर हिन्दू धर्ममाथि नचाहिँदो लान्छाना लगाएर हिन्दू धर्मको नराम्रो पक्षको पुच्छर समाएर त्यसलाई ओल्टाइपल्टाइ देखाएर हिन्दू धर्मप्रति वितृष्णा जगाएर हिन्दू धर्मको जग हल्लाइरहेका छन् । यसको सानो उदाहरण धरानमा गाई काटेर खानु, अनि यो लेख लेख्दै गर्दा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका वडा नं. ५ मा पनि गाई काटेको खबर आइरहेको हो । तर हिन्दू धर्मका ठेकेदारहरु किन मौन बस्नुभएको हो थाहा भएन ।
साथै यसरी धाममा अनुष्ठान चलिरहेको अवस्थामा स्थानीयहरुद्वारा केही गुनासाहरु पनि पोखिएको जानकारी आएको हो । कि यसरी अनुष्ठान गर्दा यस्ता आडम्बर किन ? के न्यून आय भएकाहरुका लागि अलग्गै सामुहिक कार्यक्रम गरेर सर्वसाधारणहरुलाई पनि त्यस अनुष्ठानमा सहभागि गराए हुन्न थियो ? यस्तै प्रश्नहरु स्थानीय गल्ली–गल्लीहरुमा गुञ्जिए भोली यसले उग्ररुप नलेला भन्न नसकिने अवस्था आउँला । यसै विषयलाई केन्द्र बनाएर हिन्दू धर्ममाथि प्रहार गर्ने बहाना नपाओस् भन्ने मेरो सानो सुझाव मात्र हो ।