झापा कपः फाइनल प्रवेशका लागि राष्ट्रिय जागृति र एनआरटी खेल्दै « Yalambar Times
६ पुष २०८१, शनिबार

झापा कपः फाइनल प्रवेशका लागि राष्ट्रिय जागृति र एनआरटी खेल्दै


यलम्वर टाइम्स
६ पुष २०८१, शनिबार ०४:१४

बिर्तामोड । प्रथम झापा कप २०८१ को अन्तिम सेमिफाइनल खेल शनिबार (आज) राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र न्यु रोड टिम (एनआरटी) बीच हुँदैछ ।

पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब भारतीय टिम जिटिए दार्जिलिङलाई रोक्दै सेमिफाइनलमा पुगेको हो ।

गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो ।

डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा मंसिर अन्तिम साता भएको इलाम गोल्डकपको च्याम्पियन एनआरटी काठमाडौँ जिल्ला लिग विजेता चित्लाङलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

पाँच पटकको ए डिभिजन लिग च्याम्पियन एनआरटी गत सिजनको मकवानपुर गोल्डकपको उपविजता टिम हो ।

यसअघिको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले सलहेश युवा क्लब १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।