बिर्तामोड । किराती भेषभूषादेखि परम्परागत खाद्यन्नसम्म उपलब्ध गराउने उद्देश्यले झापाको बिर्तामोडमा साङ्केन क्रिएशन सञ्चालनमा आएको छ ।
बुधबार बिर्तामोड स्थित षोडसी भवनमा एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले साङ्केन क्रिएशनको उद्घाटन गरेका थिए ।
विगत १० वर्षअघिदेखि काठमाण्डौमा सञ्चालन हुँदै आएको साङ्केन क्रिएशनले बिर्तामोडमा शाखा स्थापना गर्दै सञ्चालनमा आएको उद्यमी गौरीमान राईले जानकारी दिए ।
जातीय पहिरनको माग उच्च रहेको हुँदा उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै झापा बिर्तामोडमा सेवा विस्तार गरेको उनले बताए ।
उनका अनुसार क्रिएशनबाट किरातीहरुको पहिचान झल्किने गरगहना, भेषभूषादेखि किरात मौलिक बाजा, परम्परागत खाद्यन्न उपलब्ध हुनेछ ।
उद्घाटनको क्रममा युवा उद्यमी राईले यो व्यापारसँग मात्र नभई संस्कृति र पहिचानसँग पनि जोडिएको क्षेत्र भएकाले नयाँ पुस्ताका लागि आफ्नो भेषभूषाका विषयमा जान्ने, सिक्ने अवसर पनि बताए ।
सञ्चालक राईका बुबा शेरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राई लगायतले व्यवसाय सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा सञ्चालककी आमा पवित्रा राई, वाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, किरात याक्थुङ चुम्लुङ झापाकी सचिव भिममाया कन्दङ्वा, किरात धर्मका अभियान्ता सरीता लिङ्देन लगायतको आतिथ्य रहेको थियो ।
पसलबाट किरात समुदायको सांस्कृतिक भेषभूषा, बुन्छेत, सिलाम साक्मा, धजुरी–पेचुरी, वाबुक, खुर्मी, किराती गरगहना लगायत सम्पूर्ण सामग्री पाइने सञ्चालक राईले बताए ।
उनले अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था रहेको पनि जानकारी दिए ।