बालशिक्षकहरुलाई मन्टेश्वरी सिकाई पद्धति तालिम « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बालशिक्षकहरुलाई मन्टेश्वरी सिकाई पद्धति तालिम


यलम्वर टाइम्स
१ आश्विन २०७५, सोमबार १०:३१

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रका ५० जना बालशिक्षकहरुलाई १० दिने मन्टेश्वरी सिकाई पद्धति कार्याशाला सुरु भएको छ ।

आईतबारबाट सुरु गरिएको तालिममा मसिना विद्यार्थीहरुलाई भाषा, शैली र जागरुक बनाउने लक्ष्यका साथ उक्त मन्टेश्वरी सिकाई पद्धति सुरु गरिएको नगर शिक्षा प्रमुख जानुका गुरागाईंले जानकारी दिइन् ।

मन्टेश्वरी सिकाई पद्धतीका उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले विद्यालयमा पाइला टेक्ने पहिलो विद्यार्थी नगरका गहना हुन् । ति काँचा दिमागलाई उत्कृष्ट र उपयोगी बनाउन बालशिक्षकको ठूलो हात रहने हुँदा यो तालिम व्यवहारिक र उपयोगी बनोस् भनी शुभकामना दिएका थिए ।

प्रमुख रानाले अगाडि भने ‘नगरलाई राम्रो र हाम्रो बनाउन शिक्षाको ठूलो हात हुने हुँदा तपाई बालशिक्षकहरु अग्रस्थानमा उभिएर नानीहरुलाई योग्य बनाउनुहोस् नगर शिक्षा तपाईको पक्षमा रहने छ ।’

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङले मन्टेश्वरी सिकाई तालिमबाट प्राप्त ज्ञानलाई आ–आफ्नो स्थानमा पुगेर अपनाउन सफल भए विद्यार्थी नानीहरु अबल्ल बन्न टेवा पुग्ने बताए ।

बालशिक्षाका चन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गोमा पनेरु र सञ्चालन मिना श्रेष्ठले गरेकी थिइन् ।

१० दिनसम्म चल्ने तालिममा भने प्रशिक्षक अर्जुन भट्ट र कमला देवकोटाले सहजीकरण गर्दै आएका छन् ।