भद्रपुरमा बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाइने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भद्रपुरमा बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाइने


यलम्वर टाइम्स
६ फाल्गुन २०७५, सोमबार ११:३३

भद्रपुर । भद्रपुर नगरपालिकाले बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउने भएको छ ।

बजारमा उपभोक्ता हित विपरीतका कार्यमा वृद्धि भएको भन्दै नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले त्यस्तो निर्णय गरेको छ ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठसहितको उपस्थितिमा आज सोमबार नगरपालिकामा भएको छलफलमा उपभोक्ता हित संरक्षणका लागि सात बुँदे साझा निष्कर्षसहित अघि बढ्ने प्रतिबद्धता समेत जनाइएको छ ।

नगरपालिकाले उपभोक्ता हित संरक्षण समिति गठनपछि पाँचवटा अनुगमन र ११ वटा बैठक सम्पन्न गरेको सन्दर्भमा सामना गरेका समस्या र चुनौतिबारे छलफलमा जानकारी गराइएको थियो ।

बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौति समाधान गर्न सबै सरोकारवालाबीच निरन्तर समन्वय गर्ने छलफलको निष्कर्ष छ ।

त्यस्तै सचेतनाको अभावमा उपभोक्ता ठगिनेक्रम बढेको भन्दै उपभोक्तावादी संस्थासँगको समन्वयनमा उपभोक्ता सचेतना अभियानलाई निरन्तरता दिने समेत छलफलबाट निर्णय भएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयको विभागीय शाखासँग समन्वय गरी अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउनुका साथै त्यस विषयलाई हेर्ने छुट्टै फोकल पर्सन प्रशासनसँग माग गर्ने निर्णय भएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी तरकारी तथा फलफूलको नियमित विषादि परीक्षण, पशु वधशाला र मासु बिक्री केन्द्र व्यवस्थित गर्ने, खाद्यवस्तु खरिद–बिक्री गर्दा नाङ्गो हातले छुने कार्यलाई प्रतिबन्ध गर्न सूचना जारी गर्ने समेत छलफलमा निर्णय भएको छ ।

त्यस्तै उपभोक्ताको समग्र हित संरक्षणका लागि सबै पक्ष सचेतताका साथ अग्रसर हुने प्रतिबद्धता समेत सो अवसरमा जनाइएको छ ।

झापामा भर्खरै स्थापना भएको नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरी नगरभित्रका नापतौलका समस्या समाधानमा अग्रसर हुने समेत छलफलले निष्कर्ष निकालेको छ ।

नगर प्रमुख श्रेष्ठले जनप्रतिनिधिले आम नागरिकको हितको लागि गरिरहेको कामलाई आत्मसाथ गर्न आग्रह गर्दै जायज कुरामा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उपप्रमुख श्रेष्ठले बजार अनुगमन र मदिरा नियन्त्रणका सन्दर्भमा फोनबाट समेत धम्की आउने गरेको बताउँदै सबै परिस्थितिको सामना गरेर नगरबासीको हितमा अग्रसर हुने बताइन् ।

संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

छलफलमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्मा, प्रहरी निरीक्षक यामकुमार श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भरतबहादुर पुरी, पशु सेवा शाखाका गणेशप्रसाद भट्टराई, कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराई, उपभोक्ता हित संरक्षण मञ्च झापाका अच्युतराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका चन्द्रप्रसाद मिश्र, भद्रपुर नगरपालिकाका विभा पासवान, राजेन्द्रप्रसाद ढकाल, श्यामप्रसाद गुरागाई लगायतले बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौतिका बारेमा आफ्नो धारणा राखेका थिए ।

विज्ञसहितको छरितो अनुगमन टोलीले बजार अनुगमन र कारवाहीलाई निरन्तरता सँगै प्रभावकारी बनाउनुपर्नेमा सबैको जोड थियो । कतिपय अवस्थामा समन्वयको अभावमा समस्या उत्पन्न भएको ठहर गरी प्रशासनसहित सबै विभागीय कार्यालयसँग समन्वयमा जोड समेत दिइएको छ ।