स्वस्तिकाको ३३ औं वार्षिकोत्सव « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्वस्तिकाको ३३ औं वार्षिकोत्सव


यलम्वर टाइम्स
१२ फाल्गुन २०७५, आईतवार ०७:३१

[लीला राई]

अर्जुनधारा । सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजो बन्दै गएको बेला दक्ष दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयको अहम भूमिका रहेको प्रदेश सांसद बृख प्रधानले बताएका छन् ।

शनिश्चरे स्थित स्वस्तिका शिशु सदनको ३३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका प्रधानले यस्तो बताएका हुन् ।

प्रमुख अतिथि प्रधानले नेपालमा शिक्षा प्रणाली सामुदायिक र संस्थागत गरी दुई प्रकारले अगाडि बढेको बताए ।

उनले सामुदायिक रुपमा पठनपाठन हुँदै आएको विद्यालयहरुमा राज्यले लगानी बढाए पनि अपेक्षा अनुसारको परिणाम नआएको बताए ।

‘राज्यले सामुदायिक विद्यालयमा धेरै खर्च गरेको छ, तथापी विद्यालय धरासायी बन्दै गाएका छन्’ सांसद प्रधानले भने, ‘निजी क्षेत्रले नै देशको शैक्षिक स्तर धानेको छ ।’ कार्यक्रममा बोल्दै उनले संस्थागत विद्यालयहरु नेपाली शैक्षिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताए ।

नेपालको बदलिदो इतिहाससँगै शिक्षा नीतिहरु पनि पटक–पटक परिवर्तन भए पनि त्यो नीति आफ्नो मौलिकताभन्दा विदेशी परम्परालाई अंगाल्दा अन्यौता आएको उनको कथन थियो ।

‘शिक्षा नीति पटक–पटक परिवर्तन भएर आए तर, त्यो सबै वैदेशिक शिक्षा प्रणालीलाई अवलम्वन गर्दा प्रभावकारी हुन सकेन’ सांसद प्रधान भन्छन्, ‘अन्यौल उत्पन्न भयो, जसले हाम्रो शिक्षा नीति विश्व समुदायमाझ कमजोर बन्न पुग्यो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद प्रधानले प्राविधिक शिक्षालाई अनुसरण गर्न नसक्दा पनि नेपालका विद्यार्थीहरु पछि परेको बताए ।

उनले हाम्रो शिक्षा प्रणालीले प्राविधिक शिक्षामा नजर अन्दाज गरेको हुँदा त्यसको विकल्पमा संस्थागत विद्यालयको विकास भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले निजी स्रोतबाट सञ्चालित विद्यालयहरु मध्ये अर्जुनधारा क्षेत्रकै पुरानो विद्यालय स्वस्तिका भएको बताउँदै शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

उनले विद्यालय भनेको योग्य नागरिक बनाउने ठाउँ भएको बताउँदै बालबालिकाको भविष्य निर्माण गर्ने त्रममा अझ धेरै गतिविधि गर्न सुझाव पनि दिए ।

कार्यक्रममा विशिष्ट अतिथि त्रिभूवन विश्वविद्यालयका पूर्व प्राध्यापक लोकनाथ पौडेलले सिक्ने कुरामा मानिस जहिल्यै पनि शिशु नै रहने बताए ।

विद्यालयकी संस्थापक ईश्वरा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा विद्यालयका पूर्व विद्यार्थी सामाजिक व्यक्तित्व देशबन्धु ढुंगेल, गत वर्षको एसईई परीक्षाका उत्कृष्ट छात्र रोशन बजगाईं, उत्कृष्ट छात्रा अञ्जली पूर्वे, गत जुलाई महिनामा काठमाण्डौंमा सम्पन्न भएको आठौं राष्ट्रिय पिस कप तोङइलमोदो प्रतियोगिताको ३०–३५ केजी तौल समूहमा तृतीय भएका विद्यार्थी कक्षा ७ का कुशल काफ्ले र वर्ष उत्कृष्ट विद्यार्थी आयुष राजवंशी रहेका छन् ।

निकै भव्य र सभ्य रुपमा सञ्चालित वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै साहित्यिक प्रस्तुति, फेसन शो, मार्सल आर्ट प्रदर्शनी, योगा, समाचार वाचनलगायतका सामग्रीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, प्याव्सन नगरका अध्यक्ष रुद्रप्रसाद सिटौला, शनिश्चरे प्रहरी चौकीका प्रमुख राजन खड्का, संस्थापक सदस्य चन्द्रबहादुर श्रेष्ठ, सल्लाहकार सदस्य लोकनाथ पौड्याल, शिक्षक–अभिभावक संघका सदस्यद्धय चन्द्र राना ‘लाफा’, कुमारी भण्डारी, कुसुम राईलगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल ओमप्रकाश ओझाले विद्यालयको गतिविधि र भावी कार्यक्रमहरुबारे जानकारी गराएको थिए भने औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदी र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय गरिमा तिम्सिना र प्रनिश मोक्तानले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुजन त्रिखत्री र विद्यार्थी मञ्जुकुमारी पूर्वेले गरेका थिए ।