उदाहरणीय बन्यो लेखा र उद्घोषक तालिम « Yalambar Times
५ आश्विन २०८१, शनिबार

उदाहरणीय बन्यो लेखा र उद्घोषक तालिम


यलम्वर टाइम्स
९ असार २०७६, सोमबार १२:०३

अर्जुनधारा । समृद्धिको बाटोमा नगर अगाडि बढ्दा युवा शक्तिहरुको सहयोग त्यतिकै आवश्यक रहेको कुरा नगर प्रमुख हरिकुमार रानाले बताएका छन् ।

अर्जुनधारा–७ मा आयोजित लेखा तथा उद्घोषक तालिमको समापनमा सो कुरा बताएका हुन् ।

‘विकासको क्रम बढ्दो छ । त्यसलाई बढाउने युवा शक्ति नै हो’ उनले उदाहरण दिँदै अगाडि भने, ‘हिजो पश्चिम लाग्दा माइखोलामा जुत्ता फुकाएर तर्नुपर्ने, विस्तारै त्यही माइखोलामा गाडीबाट हिड्नुपर्ने र अहिले माइखोला नतरि सिधै राजधानी पुग्न सकिने अवस्था छ, यी सबै क्रमिक विकासका आधारले बनेका हुन् । अब हामी हिजोको अर्जुनधाराबाट फड्को मार्नका लागि आजको अर्जुनधारामा जुट्दै छौं त्यसको लागि सबै तयार रहनुपर्छ ।’

प्रमुख अतिथि समेत रहेका प्रमुख रानाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै यो तालिमबाट प्राप्त ज्ञान पेशामा रुपान्तरण गर्न जागरुक हुन जोड दिए ।

वडाध्यक्ष नविन ढुंगानाले वडाका शिक्षित युवायुवतीमात्र होइन जाँगर भएका जो कोहीलाई यस्ता खाले तालिमले नछेक्ने भएको हुँदा वौद्धिकता विकाससँगै आत्माक्षमताको विकास हुने बताए ।

अर्का अतिथि देवकुमार राईले तालिम आफैमा ज्ञानको भण्डार भएको हुँदा प्राप्त ज्ञानलाई व्यवहारमा लैजान आग्रह गरे ।

अर्का अतिथि गोमादेवी पर्वतेले तालिममा महिला सहभागिताको उल्लेखिय उपस्थिति भएको हुँदा सार्थक तालिम भएको महसुस भएको बताए ।

लेखा तालिमका प्रशिक्षक तथा लेखा अधिकृत रामचन्द्र घिमिरेले लेखा तालिम थोरै समय भए पनि ज्ञान वद्र्धक र कही केही गर्न परे प्राप्त सीप उपयोगी हुने बताए ।

उद्घोषक तालिमका प्रशिक्षक तथा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले अर्जुनधारा क्षेत्रको वडामा हुने कार्यक्रमका लागि नगर बाहिरका मानिसलाई सहभागि गराएर स्थानीयहरुको रोजगार माथि प्रहार गरेको बताए ।

उनले नगरमै प्रशस्त बौद्धिक क्षेत्र बसोबास भएको हुँदा वडा तथा नगरले बाहिरका मानिसलाई ल्यार्एर नगरवासीलाई अपहेलना गर्न नहुने जोड दिए ।

स्वरोजगार कार्यक्रमका प्रमुख केशव ढुंगेलले सीप भएका मानिस कही पनि नअलमलिने भएको हुँदा अर्जुनधारामा कुन–कुन सीप बोकेका युवा शक्तिहरु छन् त्यसको पहिचान हुन जरुरी रहेको बताए ।

वडाध्यक्ष नविन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा उद्घोषक तालिममा सहभागिमध्ये उत्कृष्ट गंगा थापालाई सहजकर्ता सुष्मा त्रिखत्रीले मायाको चिनो प्रदान गर्दै बोल्ने विकासको बानी कही न कहीबाट खोजिनु पर्ने बताइन् ।

वडा सचिव प्रकाश पौडेलले स्वागत गरेको कार्यक्रममा तालिमभरि प्राप्त ज्ञानबारे उद्घोषकका तर्फबाट जानुका दियाली, लेखातर्फबाट बबिता पोखरेलले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन भने तालिममा सहभागि दीपा गड्तौला गुरागाईले गरेकी थिइन् । तालिममा अधिकांश महिलाहरुको सहभागिता रहेको वडा सदस्य ऐतराज नेम्वाङले बताए ।

अर्का सदस्य शारदा भट्टराईले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिइन् ।