स्थानीय सरकारलाई जैविक पर्खाल संरक्षण गर्न बिरिङ जलाधारको ध्यानाकर्षण « Yalambar Times
५ आश्विन २०८१, शनिबार

स्थानीय सरकारलाई जैविक पर्खाल संरक्षण गर्न बिरिङ जलाधारको ध्यानाकर्षण


यलम्वर टाइम्स
१४ माघ २०७६, मंगलवार ०५:१९

कञ्चनबारी । दुई दशक अघिबाट जैविक पर्खाल निर्माण गरि खोलालाई आफ्नो ठाउँमा कुदाउँदै आएको विरिङ जलाधार संरक्षण तथा व्यवस्थापन समितिले वडा नं. ५ अन्तर्गत खोला नजिक रोपिएको बोटविरुवा तहसनहस गर्ने कार्य भएपछि जैविक पर्खालको संरक्षण गरि पाउँ भनी अर्जुनधारा–५ को वडा सरकारलाई ध्यानाकर्षण गराएको छ ।

जनप्रतिनिधि नहुँदा खोला अनियन्त्रित भई कटान तिव्र पारेपछि स्थानीय अग्रज बुद्धिजीविहरुको पहलमा विरिङ जलाधार स्थापना भएको थियो ।

उक्त संस्था स्थापनापछि विरिङ खोलाको दुवै किनारमा वृक्षरोपण गरि खोलालाई आफ्नो धारमा कुदाउँदा धेरै खेतबारी संरक्षण भएको थियो । तर, आज आएर एकाएक खोला किनारको रुख विरुवाहरु डीएमसी परिषरमा परेकोभन्दै कटान गर्न थालेपछि स्थानीय सरकार र वडा कार्यालयलाई संरक्षण गर्न अनुरोध गर्दै ध्यानाकर्षण गराएको छ ।

जलाधारका अध्यक्ष छविलाल शिवाकोटीका अनुसार डीएमसी परिषरको उत्तर पट्टी ५–६ विगाह जमिनमा लगाएको बोटविरुवा वृक्षरोपण र जैविक पर्खाल फडानी, कटानी गरि खोलाजन्य प्रकोप तथा वातावरणीय प्रतिकुलता सिर्जना गरिएको हुँदा त्यसलाई रोक्नुपर्ने जनाए ।

उक्त कटान कार्यलाई रोकिएन भने त्यसले गर्ने असर गम्भीर हुने भएको हुँदा फडानी, कटानी बन्द गरि पुनः वृक्षरोपण गर्ने, गराउने र वातावरणीय अनुकुलता कायम गरि व्यवस्था गरिदिनुहुन समेत स्थानीय सरकारसँग जलाधारले माग गरेको छ ।

डीएमसीले गरेको उक्त कार्यलाई लिएर डीएमसीका अगुवा केदार पराजुली भन्छन्, ‘ठूल्ठूला रुख काटिएका होइनन्, पोखरी बनाउन साना झासझुस विरुवाहरु फाडिएको हो ।’

विरिङ जलाधारले वडा नं. १ देखि घैलाडुब्बासम्म ब्लक निर्माण गर्दै दुवैतर्फ वृक्षरोपण गरि जैविक पर्खालमार्फत खोलालाई नियन्त्रण गर्दै आएको छ ।