सुस्मिता हत्यामा संलग्नलाई अधिकतम् कारवाही गरियोस्ः मेची–महाकाली बुहारी संयुक्त आवाज झापा « Yalambar Times
१० मंसिर २०८१, सोमबार

सुस्मिता हत्यामा संलग्नलाई अधिकतम् कारवाही गरियोस्ः मेची–महाकाली बुहारी संयुक्त आवाज झापा


यलम्वर टाइम्स
१५ असार २०७७, सोमबार ०९:१४

बिर्तामोड, १४ असार । चरम यातना दिएर परिवारद्वारा हत्या गरिएकी हेटौंडाकी सुस्मिता थापाको आत्माको चीरशान्तिको कामनासहित हत्यामा संलग्नलाई अधिकतम् कारवाहीको माग गर्दै मेची महाकाली बुहारी संयुक्त आवाज झापाले दीप प्रज्वलन तथा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

बिर्तामोडको मुक्तिचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय महिलाहरुले अधिकार पाएको भनिए पनि हिंसाको रुप विकराल बन्दै जानु दुःखद भएको बताइन् ।

शिक्षित व्यक्तिका घरमा समेत लैंङ्गिक हिंसाका घटना हुनु चुनौतिपूर्ण रहेको बताउँदै उनले छोरी–बुहारीको सुरक्षित बाँच्न पाउने हकका लागि संयुक्त आवाज उठाउनु पर्नेमा जोड दिइन् ।

सरकारी निकायले हिंसा पीडितका लागि तोकेर कुनै पनि सुविधा नदिएको उल्लेख गर्दै उनले झापामा पनि हिंसा पीडितको संख्या उल्लेख्य रहेकाले सेफ हाउस निर्माणका लागि बजेट छुट्याउने आश्वासन दिइन् ।

हिंसामा परेका महिलाले सेफ हाउसमा बसेर न्यायिक लडाई लड्न सहज होस भन्ने उद्देश्यले सेफ हाउस निर्माण गरिने उनको भनाई छ ।

कार्यक्रममा एवीसी नेपालका झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले हिंसाका पीडकलाई अधिकतम कारवाही गरेर हिंसाप्रति निरुत्साहित गर्न सरकारी निकायको ध्यानाकर्षण गराउँदै सबै छोरी बुहारी सुरक्षित बाँच्न पाउने अधिकारको रक्षा गर्न सबैलाई आग्रह गरिन् ।

झापा संयोजक शिखा खड्का गणेशको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले औचित्य माथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन हिमा मिश्र पौडेलले गरेकी थिइन् ।

सुस्मिता थापाको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको कार्यक्रममा सहभागिहरुले लैंङ्गिक हिंसा सामाजिक अपराध हो, हिंसा रहित समाजको निर्माण गरौं, महिला सामान होइनन् सम्मान हुन् लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।

कार्यक्रममा सहभागीहरुले दमककी अनिता राईको शंकास्पद अवस्थामा आफू बसेकै कोठाभित्र झ्यालको रडमा झुण्डिएका अवस्थामा शब फेला परेको र बुद्धशान्तिमा एक महिलाको शव नग्न अवस्थामा भेटिएको भन्दै उनीहरुको मृत्युको छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।