बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन « Yalambar Times
५ आश्विन २०८१, शनिबार

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन


यलम्वर टाइम्स
२९ श्रावण २०७७, बिहीबार १०:१५

बिर्तामोड, साउन २९ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेका बेला रोटरी क्लव अफ बिर्तामोडले संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको छ ।

आज नगरपालिकामा आयोजित कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकालाई दुई थान र इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएको हो ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रवकुमार शिवाकोटी, स्वास्थ्य शाखाका ओम खड्का र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई क्लवका अध्यक्ष निर्मल भट्टराई, सर्भिस डाइरेक्टर विनोद बस्नेत, रोट्रयाक क्लवका अध्यक्ष प्रभाष थापा मगर लगायतले मेसिन हस्तान्तरण गरेका थिए ।

मेसिन ग्रहण गर्दै नगर प्रमुख शिवाकोटीले महामारी रोक्न नगरको एक्लो प्रयासभन्दा सबैको साथ र सहयोग आवश्यक परेको अवस्थामा रोटरी क्लबले देखाएको सदासयता आफैंमा प्रशसनीय रहेको बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि रोटरी क्लबले उपलब्ध गराएको मेसिन प्रभावकरी हुने भन्दै त्यसलाई सही सदुपयोग गरेर सुरक्षामा खटिने प्रहरीलाई संक्रमण मुक्त राख्ने बताए ।

यता रोट्रयाक क्लबका अध्यक्ष थापाले आफूहरुको सानो प्रयासले समाजलाई सुरक्षित राख्न सहयोग पुग्न सकोस् भन्दै रोटरी क्लब अफ बिर्तामोडसँगको सहकार्यमा डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएको बताए ।

रोटरी क्लबका अध्यक्ष भट्टराईले मानवहितका क्षेत्रमा काम गर्दै आएकाले क्लबले स्थानीय स्तरमा रहेर महामारीबाट बचाउन नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको बताए ।

अध्यक्ष भट्टराईले बिर्तामोड नगरपालिकामा १५ शैयाको अस्पताल बन्ने भएसँगै ५ थान डायलसिस मेसिन समेत प्रदान गर्ने कार्यक्रम रहेको पनि बताए ।

रोटरी क्लवका महासचिव सञ्जिव घिमिरेले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लव र रोट्रयाक क्लव बिर्तामोडका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।