विकासे भाषणमा भन्दा कोरोना सचेतनामा शब्द बढी « Yalambar Times
५ आश्विन २०८१, शनिबार

विकासे भाषणमा भन्दा कोरोना सचेतनामा शब्द बढी


यलम्वर टाइम्स
८ भाद्र २०७७, सोमबार ११:५४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले यो बेला विकासे गतिविधिका शब्दभन्दा कोरोना कहरबाट कसरी बच्ने भन्ने विषयमा चिन्ता व्यक्त गर्न थालेका छन् ।

अर्जुनधारा पशु सेवा शाखाले अर्जुनधारा–३ स्थित खुदुनाबारीको भित्रीगाउँमा आयोजना गरेको निःशुल्क बाख्रा वितरण कार्यक्रममा १८ मिनेट कोरोनाबाट बच्ने उपायको बारे जानकारी गराएका थिए ।

‘विशेष गरि बाहिरबाट सुटुक्क आउनेहरुलाई निगरानी राख्नुहोला, माया दयाले लुकाएर राख्नुभयो भने त्यहीबाट कोरोना सल्किने डर हुन जान्छ ।’ कार्यक्रममा बोल्दैन नगर प्रमुख रानाले भने, ‘इष्टमित्रहरुमा पनि जोगिएर गफगाफ गर्नुहोला व्यवहारको गफ भए माक्स लगाएर गरे राम्रो । बढी स्यानिटाइजर प्रयोग गर्नुहोला, यदी स्यानीटाइजर नभए घण्टा घण्टामा साबुनपानीले हातु धुँदा झनै राम्रो ।’

नगर प्रमुख रानाले अति आवश्यक भए मात्र बजार निस्कनु भन्दै कामै बेगर बजार निस्कदा संक्रमण लाग्न सक्ने सन्देश दिएका थिए ।

रानाले अगाडि भने, ‘अब बडादशैं नजिकिदै छ, आफन्तहरु धमाधम आउनुहुन्छ होला । त्यसका लागि अर्जुनधारा–३ कै जोरसिमलमा क्वारेन्टिनको व्यवस्था मिलाउँदै छौं । नआतिनु होला ।’

उनले भने, कोरोना कहरले दिनानुदिन अत्याइरहेको बेला तपाईहरु सचेत हुनुभएन भने नगरले लकडाउन गर्न बाध्य हुनेछ ।

बाख्रा वितरण पश्चात नगर प्रमुख राना वडा नं. ३ का वडाध्यक्ष जीवन भण्डारी, बेलटार खानेपानीका अध्यक्ष योगेन्द्र आचार्य, सञ्चारकर्मी दिपीन राई लगायतको टीमले जोरसिमलको क्वारेन्टिनको अवलोकन गरेका थिए ।

उक्त क्वारेन्टिनमा ८० भन्दा बढी मानिस अटाउने अध्यक्ष जीवन भण्डारीले जानकारी दिए । उक्त क्वारेन्टिनमा वाईफाई र बत्तीको काम हुने भएको पनि बताए ।