अर्जुनधाराले नगरपालिकासँग मानवअधिकार समूहको आवास सम्बन्धि अन्तरक्रिया « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधाराले नगरपालिकासँग मानवअधिकार समूहको आवास सम्बन्धि अन्तरक्रिया


यलम्वर टाइम्स
२८ माघ २०७८, शुक्रबार ०५:३०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले समुदायले विना धितो १५ लाख रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था भएको बताएका छन् ।

मानवअधिकार समूह अर्जुनधाराले आयोजना गरेको आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा एक प्रश्नको उत्तर दिँदै प्रमुख रानाले ऐलानी जग्गा राखेर कृषि ऋण लिन सक्ने व्यवस्था नभए पनि विना धितो कृषकहरुले ऋण लिन सक्ने बताएका हुन् ।

जवाफदेही निकायको तर्फबाट बोल्दै प्रमुख अतिति समेत रहेका नगर प्रमुख रानाले कसैले त्यसरी ऋण लिएर काम गर्न चाहे व्याजको ५० प्रतिशत नगरले व्यहोरदिने समेत बताए ।

उनले लिने कर्जा कृषि बालीसँग सम्बन्धित भए कृषि शाखामार्फत र पशुपंक्षीसँग सम्बन्धित भए पशु शाखामार्फत ५० प्रतिशत ऋणको व्याज भुक्तानी गरिदिने गरेको बताए ।

‘नगरसँग सहकार्य गरेर अगाडि बढे नगरले बाली बीमा गरिदिने छ’ उनले भने ‘बालीको बीमा गर्दा १० प्रतिशत आफैले, १० प्रतिशत नगरले र ८० प्रतिशत संघले भुक्तानी गरिदिने छ ।’

स्थानीय नागरिकलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवादेही बनाउने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा उठेका आवाससँग सम्बन्धित सवालहरुमा बोल्दै प्रमुख रानाले नगरले भूमि सम्बन्धि ऐन बनाए पनि आफूहरुसँग भूमि विज्ञ, वन विज्ञ, वातावरण सम्बन्धि विज्ञ नभएकोले काम गर्न गाह्रो भएको बताए ।

उनले ऐन भए पनि कार्यान्वयन नहुँदा जथाभावि हुने प्लटिङको नियन्त्रण गर्न कठिन भएको बताए । प्रमुख रानाले औद्योगिक क्षेत्रको विषयमा बोल्दै अर्जुनधारा–२ टाङटिङ छेउमा औद्योगिक ग्रामका लागि जग्गा प्राप्त भएको जनाए ।

सामुहिक आवास, जनता आवास र सुरक्षित आवास कार्यक्रम अन्तर्गत एक सय ७६ परिवारको नाम सिफारिस गरिएको बताए ।

मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला, पत्रकारहरुले जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन भने सहजकर्ता राजन राईले गरेका थिए ।