टाङटिङ किनारमा मंसीर २२ गते चासोक धुमधाम « Yalambar Times
५ आश्विन २०८१, शनिबार

टाङटिङ किनारमा मंसीर २२ गते चासोक धुमधाम


यलम्वर टाइम्स
१५ मंसिर २०७९, बिहीबार ११:०८

खुदुनाबारी । आदिवासी लिम्बू समुदायभित्र पर्ने चासोक अर्थात् न्वागी पूजा गाली श्राप बगाउँदै धुमधाम मनाउने भएका छन् ।

अर्जुनधारा नगरपालिका स्तरीय मनाउन लागिएको चासोक तङ्नाम आदिवासी जनजातिभित्र रहेका जातीय संघ संगठन मिली उक्त चासोक मनाउन लागिएको हो ।

विहीबार चासोकका विषयमा जानकारी गराउँदै आयोजक समितिका अध्यक्ष राजेश जवेगुले हिन्दूहरुको मौलिक पर्व दशैं जस्तै किरातीहरुको पनि मौलिक पर्व चासोक भएको हुनाले यो पर्वलाई मनाउन लागि परेको बताए ।

उनले २०, २१ र २२ गते ३ दिन चासोक तङ्नाम हर्षोउल्लासका साथ मनाउने तयारी भएको बताए । उक्त चासोक महोत्सव जस्तै संस्कृति झल्किने कार्यक्रम रहने छ ।

२० गते तङ्नाम परिषरमा सरसफाई र २१ गते बिहान ७ बजेबाट साम्जिक मुन्धुम अनुसार ९ जना किरात मुन्धुमीहरुबाट गाली श्राप र पूजापाठ, दिउँसो १२ बजेबाट महाप्रसाद सेवनपछि किराती मौलिकतामा आधारित छेलो हान्ने, डोरी तान्ने लगायतका खेल रहनेछ भने ३ बजेबाट स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताए ।

चासोक तङ्नाम महोत्सवको रुपमा लाने भएको हुँदा २२ गते राष्ट्रिय कलाकारहरुबाट हाक्पारे साम्लो, पालम र सम्मान तथा पुरस्कार वितरण गरिने भएको अध्यक्ष जवेगुले जानकारी दिए ।

महोत्सवमा किराती संस्कृतिका विभिन्न परिकारका खाना, प्रदर्शनका साथै बेचबिखन गरिने बताए ।

चासोक तङ्नामलाई उल्लासमय लानका लागि सचिव खगेन्द्र लिङ्देनले ७ लाख ५० हजारको बजेट सार्वजनिक गरेका छन् । महोत्सवलाई सफल बनाउनका लागि मुख्य भूमिका अर्जुनधारा नगरपालिकाको रहने बताए भने, सहयोगी दाता, भेटीबाट पनि आर्थिक संकलन गर्न सकिने उल्लेख गरे ।

खर्चका हिसाबमा कलाकारदेखि लिएर साउण्ड सिस्टम, सञ्चार, अतिथि सम्मान र मरणोपरान्त सम्मानमा खर्च रहने विज्ञप्तीमार्फ उल्लेख गरे ।

चासोकलाई सम्पन्न गर्नका लागि पूजा समितिको संयोजकमा लक्ष्मीप्रसाद इङ्नाम, सहसंयोजकमा फिपराज कुरुम्बाङ, सदस्यहरुमा दिलबहादुर लोवा, हर्कध्वोज लिङ्देन, लक्ष्मण फागो, भिम आङ्दाम्बे, अतिथि सत्कार उपसमितिमा संयोजक विजेन्द्रकुमार येक्तेन, सहसंयोजक विजय राई, सदस्यहरु लक्ष्मी आङ्दाम्बे कन्दङ्वा, अञ्जु सावा, भिमा लिम्बू, रतन हाङसरुम्बा, खेलकुद उपसमितिमा संयोजक महेन्द्र आङदाम्बे, सदस्यहरुमा गर्जमान सुब्बा, बीरबहादुर राई, पदम जवेगु, तिलक येक्तेन, मञ्च व्यवस्थापनमा मोहन सुब्बा, खाद्य व्यवस्थापनमा राजेश जवेगु, रुद्र लिम्बू, जीतबहादुर जवेगु, चित्रा फागो, दीलमाया थेवे, विजय सेन्दाङ र स्वयम्सेवक परिचालनमा संयोजक गर्जमान सुब्बा लगायत २७ सदस्यीय रहेका छन् ।