जुकेखाडीको २७ औं सभामा जनताको विकासका लागि सहकार्य गर्न नगर प्रमुखको अनुरोध « Yalambar Times
५ आश्विन २०८१, शनिबार

जुकेखाडीको २७ औं सभामा जनताको विकासका लागि सहकार्य गर्न नगर प्रमुखको अनुरोध


यलम्वर टाइम्स
२० मंसिर २०७९, मंगलवार ११:४८

जुकेखाडी । नगर प्रमुख बलदेव गोम्देनले विकासमा प्रतिस्पर्धा गर्ने जनप्रतिनिधि अर्जुनधारा नगरले पाएको हुँदा हरेक कार्यमा सहकार्यसँगै एकमना एकता आवश्यक भएको बताएका छन् ।

जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिको २७ औं वार्षिक कार्यक्रम मंगलबार उद्घाटन गर्दै नगर प्रमुख गोम्देनले विकासमा एक हुन आग्रह गरे । जनप्रतिनिधिले नभ्याएको ठाउँमा सल्लाह र सुझावसहित आवश्यक निगरानी राख्न अनुरोध गरे ।

उनले सामुदायिक वन सखुवाको रुख र विरुवामा केन्दित बढी हुनुभन्दा वन्यजन्तु चराचुरुङ्गी र मानवतालाई प्रयोग हुने विरुवाहरुमा केन्द्रीत हुनुपर्नेमा जोड दिँदै जंगली जनावरबाट बच्नका लागि जंगलमा आहार आवश्यक भएको हुँदा समूहको ध्यान त्यसतर्फ केन्द्रीत हुनुपर्नेमा सुझाव दिए ।

समूहले खेल क्षेत्र, वृद्धवृद्धाहरुलाई र सक्रिय महिलाहरुलाई सम्मान गरेकोमा समितिलाई धन्यवाद दिँदै खेल क्षेत्रमा अग्रणी रेणु जवेगु र सविना खतिवडालाई नगरले पनि केही नगदसहित सम्मान गर्ने घोषणा गरे ।

कार्यक्रममा १०१ वर्षिय सताब्दी पुरुष मुक्तिनाथ खतिवडा अग्रणी जनप्रतिनिधि वाचकर्ण मोराहाङ, अर्जुनधारा माविका संस्थापक प्राचार्य बुद्धिचन काश्यप, समुदायका अग्रणी सदस्य पवित्रा राई खनाल र ठाकुरमाया खतिवडालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ३१ वटा टोल समितिका विपन्न परिवारलाई वैकल्पिक उर्जाको विकासका लागि विद्युतीय चुल्हो वितरण गरिएको थियो भने ५ जना विपन्न परिवारलाई सखुको खाट निःशुल्क वितरण गरिएको समूहका लेखा सचिव हरि खतिवडाले यलम्वर टाइम्सलाई जानकारी दिए ।

समूहका अध्यक्ष झरिन्द्रकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको प्रतिवेदन अध्यक्ष खड्का, आन्तरिक लेखा समितिको प्रतिवेदन शंकर घिमिरे, कैदले पर्यापर्याटनको प्रतिवेदन शुक्रराज दुलाल ‘दिपक’, वार्षिक नीति तथा कार्यक्रम मनिला जवेगु इङ्नामले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराई, वडा नं. ४ का अम्मर कटुवाल र सामुदायिक वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय विष्णु दुलाल, दिव्य कट्टेल, पूर्व वडाध्यक्ष जीवन भण्डारी लगायतले विपन्न परिवारलाई विद्युतीय चुल्हो हस्तान्तरण गरेका थिए ।

सचिव नर्वदा दियालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा सामुदायिक वनको अवस्था बारे वनका उपाध्यक्ष नविन ओलीले प्रकाश पारेका थिए ।