कलाकार मोहन फोम्बोको निधन « Yalambar Times
५ आश्विन २०८१, शनिबार

कलाकार मोहन फोम्बोको निधन


यलम्वर टाइम्स
१२ पुष २०७९, मंगलवार ११:५९

अर्जुनधारा । पूर्वेली कलाकार संघका सदस्य मोहन फोम्बोको ५७ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

विगत एक दशक अघिबाट चलचित्र कुलतबाट कलाकारितामा प्रवेश गरेका मोहन झण्डै आधा दर्जनभन्दा बढी म्यूजिक भिडियो तथा टेलिचलचित्रमा देखापरेका छन् ।

कविता, लोक आधुनिक गीत तथा लिम्बू पहिचानका पालम गीत लेखनमा पनि उत्तिकै क्षमता राख्ने फोम्बो बिराट टेलिभिजनबाट प्रसारित जेठा बा टेलिसिरियलका कलाकार साथै निर्माता पनि हुन् ।

उनले हालै पालम, हाक्पारे जस्ता गीतमा अभिनय गरेका छन् भने उनी कवितामा पनि उत्तिकै क्षमता राख्छन् ।

उनको राति सुतेकै क्रममा निधन भएको हो । सोमबार राति खाना खाएर सुतेका फोम्बो बिहान नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएको परिवारिक स्रोतले जनाएको छ ।

फोम्बो अर्जुनधारा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका थिए । उनी साइकल तथा मोटरसाइकल मर्मत सेन्टर खोलेर बसेका थिए ।

अर्जुनधारा चोकमै आदित्य साइकल तथा मोटरसाइकल मर्मत सेन्टर खोलेर बसेका फोम्बो भोली पल्ट यो धर्तीमा नभएको सन्देश सबैले सुन्दा छिमेकीमात्र होइन उनलाई चिन्ने जान्नेहरु स्तब्ध बनेका थिए ।

उनको आजै अर्जुनधारा–७ स्थित कैलाशघाटमा दाहसंस्कार गरिएको छ । फोम्बो अवजोङ कल्याणकारी समाजले एक मिनेट मौन धारण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

समाजका सचिव मणि फोम्बोका अनुसार मोहन संस्थाका सल्लाहकारमात्र थिएनन्, फोम्बो समाजलाई अगाडि बढाउन उत्तिकै योगदान रहेको बताए ।

मोहनका श्रीमती सुष्मा लिम्बू र दुई छोरा आदित्य र प्राण लिम्बू छन् । उनीहरु अर्जुनधारा–७ स्थित एकान्त टोलमा बस्दै आएका थिए ।