प्रचारप्रसारसँगै आन्तरिक पर्यटन प्रर्वद्धन गर्न चिल्लागढ धाममा तीन दिवसीय शिवरात्री मेला « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

प्रचारप्रसारसँगै आन्तरिक पर्यटन प्रर्वद्धन गर्न चिल्लागढ धाममा तीन दिवसीय शिवरात्री मेला


यलम्वर टाइम्स
२ फाल्गुन २०७९, मंगलवार ०७:४०

[सेलिङ केसी]

चिल्लागढ । झापाको शिवसताक्षी–९ मा अवस्थित धार्मिक तथा पौराणिक महत्व बोकेको चिल्लागढ धाममा तीन दिने शिवरात्री मेला लाग्ने भएको छ ।

चिल्लागढ धामको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि चिल्लागढ धाममा शिवरात्री मेला आयोजना गर्न लागिएको बताइएको छ ।

शनिबार धाम परिसरमा पत्रकार सम्मेलन गरी मेलालाई सम्पन्न गर्नका लागि विभिन्न कार्य विभाजन सहितको जिम्मेवारी बाँडफाँड गरिएको आयोजक समितिले जनाएको छ ।

चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापाका अनुसार शिवसताक्षी–९ का वडा अध्यक्ष डिल्लीलाल फेम्बूको संयोजकत्वमा चिल्लागढधाम शिवरात्री मूल आयोजक समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा चिल्लागढधाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापो छन् भने समितिको अन्य सदस्यहरुमा वडा सदस्यहरु, स्थानीय धार्मिक तथा मठमन्दिर, माङहिमका अध्यक्ष लगायत प्रतिनिधिहरुसहित चिल्लागढ धाम व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरु छन् ।

मेला स्थानीय सरकार अन्तर्गत सञ्चालन गरिने भएकोले वडा अध्यक्ष र जनप्रतिनिधिलाई नै मूल आयोजक समितिमा राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल चिल्लागढधामका अध्यक्ष तुम्बापोले विभिन्न उप–समिति गठन गरिएको बताएका छन् ।

शिवरात्री मेलालाई भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसार उपसमिति, स्टल निर्माण तथा टेण्ट व्यवस्थापन उपसमिति, भाषिक साँस्कृतिक उपसमिति, आर्थिक संकलन उपसमिति, अतिथि सत्कार उपसमिति, स्वयम्सेवक उपसमिति लगायतका जिम्मेवारीहरु तोकिएको बताएका छन् ।

उनले मेलाको तयारी तीब्र गतिमा अघि बढिरहेको र केही तयारीहरु पूरा हुन अझै समय लाग्ने जानकारी दिएका छन् । उनले मेला उद्घाटनका लागि प्रमुख अतिथि समाजका विशिष्ट व्यक्ति रहने छ भने मेलामा मनोरञ्जनका लागि ख्यातीप्राप्त राष्ट्रिय कलाकार टंक बुढाथोकी, अशोक दर्जी, एआर बुढाथोकी, सानाहाङ लिवाङ र अर्का राष्ट्रिय कलाकार राज लाबुङको बेजोड प्रस्तुती र कार्यक्रम सञ्चालक कृष्ण रेग्मी रहने जनाइएको छ ।

संयोजक तथा वडा अध्यक्ष फेम्बूले चिल्लागढ धामको पौराणिक महत्व धेरै पुरानो समयसँग जोडिएर आउने भएकोले यस क्षेत्रको प्रचारप्रसार र यसको विकासमा वडा कार्यालय र नगर कार्यापालिकाको कार्यालयले विशेष चासो देखाएको बताए ।

उनले यहि पुरानो धार्मिक तीर्थस्थलको प्रचारप्रसार र संरक्षणको निम्ति शिवरात्रीको अवसरमा तीन दिने मेला आयोजना गरिएको जानकारी दिएका छन् ।

फेम्बूका अनुसार फागुन ५ गते मेलाको भव्य समारोहबीच समुद्घाटन गरिने, दिउसो धार्मिक प्रवचन, अतिथिहरुको मन्तव्य र साँझमा स्थानीय भजन कीर्तन मण्डलीहरुको आ–आफ्नो प्रस्तुतिहरु रहने छ ।

फागुन ६ गते मेलाका मुख्य आर्कषक गीतसंगीत, नृत्य प्रदर्शन लगायत स्थानीय समुदायको जातीय भेषभुषासहित साँस्कृतिक झाँकी प्रस्तुत गरिने छ ।

त्यस्तै फागुन ७ गते शिवरात्री मेला समापन अघि प्रसाद वितरण तथा बिदाई कार्यक्रम हुने बताइएको छ । उनले मेलालाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय स्तरका कलाकारहरु र स्थानीय कलाकारहरुलाई ल्याइने र रोटे पिङ, विभिन्न खेलाबाड, नौका विहार, चिल्ड्रेन पार्क लगायतका खेल तामासाहरु पनि समावेश गराइएको बताए ।

यता, चिल्लागढधाम समितिका वरिष्ठ उपाध्यक्ष रमेश फुयेलले चिल्लागढधाम परिसरभित्र शिवालय मन्दिर, किरात हाङसाम माङहिम, दुर्गा मन्दिर र भगवती मन्दिरहरु रहेकोले उक्त मन्दिरहरु सञ्चालनका लागि छुट्टाछुट्टै समितिहरु रहेको जानकारी दिएका छन् ।

उनले शिवरात्री मेलालाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सोही मन्दिर समितिहरु मार्फत कामको बाँडफाँड गरी जिम्मेवारी छुट्याइएको बताए ।

पण्डित दिनानाथ खतिवडाले पाँच पाण्डव र कौरवहरुबीच युद्धबाट पराजित बनेका पाण्डवहरु यस स्थानमा आएर तपस्या गर्नुका साथै यहाँ होमादी गरी नजिकैको सताक्षीधाम, अर्जुनधारा, बिराट दरबार लगायतको क्षेत्रमा पाण्डवहरु गुप्तबास बसेको प्राचीन कथाहरुमा उल्लेख भएको बताए ।

उनले धार्मिक दृष्ट्रिकोणले चिल्लागढ धामको चर्चा रहेर पनि पछिल्लो समय अरु धार्मिक तीर्थस्थलहरुको तुलनामा विकासले गति लिन नसकेकोमा दुखेसो व्यक्त गरे ।

त्यस्तै, ६१ वर्षदेखि चिल्लागढ धामको भगवती मन्दिर कुटी (छाप्रो) मा बस्दै आएकी तुलसादेवी काफ्लेले चिल्लागढ धामलाई चारधाम बनाउन आफ्नो सुझाव दिएकी थिइन् ।

कार्यक्रममा चिल्लागढ धाम व्यवस्थापन समिति पर्यटकीय उपाध्यक्ष किरण लिङदेन, तत्कालीन शिवगञ्ज ९ का वडा अध्यक्ष केन्द्र लिङदेन, शिवालय तथा दुर्गा मन्दिरका पुजारी पं. नारदप्रसाद पौडेल, महेश्वर अधिकारीले नेपाल सरकारले त्रीधामाको रुपमा विकास गर्ने उद्देश्यका साथ धार्मिक पर्यटकीय स्थललाई सूचीकृत गरे पनि राज्यले चिल्लागढ धामलाई ओझेलमा राखेको बताउँदै शिवरात्री मेला सम्पन्न गर्न आ–आफ्ना विचार र सुझावहरु राखेका थिए ।

पहिलो पटक धार्मिक पर्यटकीय आकर्षणको रुपमा आम धर्मानुयायीहरुको ध्यानाकर्षण गराउने उद्देश्यले सुरु गर्न लागिएको तीन दिवसीय शिवरात्री मेलामा शाधु सन्तहरुको पनि बाक्लो उपस्थिति रहने जनाइएको छ । मेलामा ५० हजार धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको मूल आयोजक समितिको भनाई रहेको छ ।

चिल्लागढ धाम पूर्वकै महत्वपूर्ण तीर्थस्थल मध्ये एक हो । महाभारतकालिन युगसँग सम्बन्ध राख्ने यस धामलाई नेपाल सरकारले समेत धार्मिक पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत गरिसकेको छ ।