खाम्बातिम अर्जुनधाराको उभौली साकेला सम्पन्न « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

खाम्बातिम अर्जुनधाराको उभौली साकेला सम्पन्न


यलम्वर टाइम्स
२८ बैशाख २०८०, बिहीबार १३:२८

अर्जुनधारा । किरात राई चाम्लिङ खाम्बातिम अर्जुनधाराले सांस्कृतिक आन्दोलनसहित उभौली साकेलाको शुभकामना आदान–प्रदान सम्पन्न गरेको छ ।

पहिचान बिना अस्तित्व नरहने बताउँदै अब पहिचान रक्षार्थ सांस्कृतिक आन्दोलनमा जोड दिनुपर्ने बताउँदै उभौली साकेला कार्यक्रम सम्पन्न गरेको हो ।

शनिश्चरे स्थित खाम्बातिमको कार्यालयमा आयोजित उभौली साकेला विशेष कार्यक्रममा किरात राई यायोक्खा जिल्ला अध्यक्ष गणेशबहादुर राईले पहिचान रक्षाका लागि अब एकजुट हुनुपर्ने दिन आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले किरात राई कूलमा जन्मेर आफ्नो संस्कार संस्कृति र पहिचान विरोधी जो कोहीलाई बहिस्कार गर्दै जानुपर्ने तर्क राखे ।

खाम्बातिम अर्जुनधाराका अध्यक्ष क्या. शिवकुमार राईले साकेलाका विषयमा प्रकाश पार्दै यसलाई हरेक राई समुदायले आत्मासाथ गर्दै जानुपर्ने बताए ।

उनले आधुनिक समयमा युवा पुस्ताले आफ्नो संस्कार संस्कृति बिर्सिदै गएको अवस्थामा यसप्रति रुचि जगाउँदै पुस्ता हस्तान्तरण गर्दै जानुपर्ने उनको भनाइ थियो ।

फोनिजका दिपीन राईले साकेलाले चेली माइती बीचको सम्बन्ध दर्शाउने बताए ।

खाम्बातिमका अध्यक्ष क्या. शिवकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधाराको पदाधिकारी तथा सदस्यहरुमा चयन भएका चाम्लिङ राई सदस्यहरुलाई बधाईपत्र प्रदान गरिएको थियो ।

यायोक्खाको नगर सचिव सिंहबहादुर राई, सहसचिव प्रेम राई, कोषाध्यक्ष सुम्निमा राई, सदस्य तथा सांस्कृतिक विभाग प्रमुख ढाकबहादुर राई, सदस्यहरु राजन चाम्लिङ राई, ख्यामकुमार राई, कविन्द्र राई, प्रदिप राई र सोमा राई लगायतलाई प्रमुख अतिथि गणेश राईले बधाईपत्र हस्तान्तरण गरेका थिए ।

यस्तै खाम्बातिमले किरात राई यायोक्खा झापाका अध्यक्ष गणेश राई, यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय राई र यायोक्खा झापाको सदस्य मनोनित भएको भन्दै क्या. शिवकुमार राईलाई राई पगरी गुथेर सायेम्मा (शीर उठाउने) गरिएको थियो ।

कार्यक्रममा यायोक्खा अर्जुनधारा अध्यक्ष विजय राई, वान्तावा खिमका सिद्धिमान राई, कुसुम राई, राज खालिङ, किरात राई पत्रकार संघ झापा अध्यक्ष राजन साम्पाङ, टेकबीर राई लगायतको आतिथ्य रहेको थियो ।

सचिव सरीता राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य रामदल राईले गरेका थिए ।