मेचीनगरमा बनेको खानेपानीबाट छ हजार परिवारमा पुग्ने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

मेचीनगरमा बनेको खानेपानीबाट छ हजार परिवारमा पुग्ने


यलम्वर टाइम्स
११ भाद्र २०८०, सोमबार ०७:२९

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् ।

मेचीनगर नगरपालिकाको सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए । उनले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको जानकारी दिए ।

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत रु १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ छ । निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौंले पाएको छ ।

स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम रु दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो । आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताए ।

उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ । जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् । मेचीनगर–२ का बासिन्दा वर्षांैदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए ।

वर्षौंदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताए । ‘शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो’, उनले भने, ‘माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ । यसले थोरै भए पनि राहत पुग्यो ।’

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे । उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ । उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए । उनले हाल ओभरहेड ट्याङ्की, डीप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको बताए ।

केही दिनअघि बसेको बैठकले इन्जिनीयर सुजिकुमार महतो र निर्माण व्यवसायीका प्रबन्धको संयुक्त अनुगमनमा आयोजकको बोरिङ फिल्टर प्लान्ट, ओएचटी हुँदै आयोजनाको पानी वितरण हुने पाईपलाइन तथा भल्भ च्याम्बरमा भृकुटी चोक गोलगाउँ मेरीगोल्ड स्कुल अगाडि लुइँटेल चोक लगायतको ठाउँमा पानी सफलता पूर्वक वितरण भएको निष्कर्ष निकालेको छ ।