हचुमासालाई अब जिल्ला वनले हेर्ने « Yalambar Times
२० पुष २०८१, शनिबार

हचुमासालाई अब जिल्ला वनले हेर्ने


यलम्वर टाइम्स
१३ पुष २०८१, शनिबार ०४:१८

के हो हचुमासा सामुदायिक वनको समस्या ?

साधुटार । अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वनमा भएको अन्यौलता अब डिभिजन वन कार्यालय झापाले हेर्ने भएको छ ।

सामुदायिक वनमा काठ लाने र बिल भरपाई नगर्ने प्रमाण आएपछि केही दिनदेखि वनको लेखा कोठामा स्थानीयहरुले ताला लगाई दिएका थिए ।

कसैले भ्रष्टाचार भयो भन्ने, कसैले बिल भरपाई नगरी आफू खुशी कारोबार ग¥यो भन्ने आरोप प्रत्यारोपले हचुमासा सामुदायिक वनलाई उपभोक्त कारोबार गर्न दिएका थिएनन् ।

त्यसलाई मसिनो गरी हेर्नका लागि वडा नं. १ का सदस्य मदनकुमार लिमेलको संयोजकत्वमा समिति खडा गरिएको थियो तर डिभिजन वन कार्यालयमा हचुमासाको अन्यौलता हेर्न निवेदन परेपछि अब जिल्ला वन कार्यालय झापाले हचुमासामा भएको अनियमिता बारे हेर्ने भएको जनाइएको छ । यथार्थ विवरण के हो ? त्यो सर्वसाधारणले जान्न चाहिरहेको अवस्था छ ।

एक सचेत नागरिकका अनुसार विगतबाटै कमिकमजोरी हुँदै आएको र पछिमात्र बिल भरपाई मिलाउने परिपार्टी रहेको हुँदा अहिले आएर उदाङ्गिएको प्रतिक्रिया दिए ।

यस विषयमा वडा नं. १ का वडाध्यक्ष उपेन्द्रकुमार बस्नेत भन्छन्, ‘यर्थाथ के हो ? हामी लाग्दै छौं । त्यसको छिनोफानो र सत्यतथ्य जनतामा दिन चाहन्छौं ।’

सचिव नेपालको राजीनामा

१७ किबी साखुको काठमा बिल भरपाई ढिलो गरेकोभन्दै सचिव प्रभा नेपालको राजीनामा माग गरिएको छ । माग अनुसार सचिव नेपालले पनि राजीनामा दिएकी छिन् ।

तीन–तीन महिनासम्म पनि बिल भरपाई ढिलो हुनुको रहस्य के हो ? भन्ने चर्चा चलेपछि राजीनामा माग गरिएको थियो ।