समयमै मल उपलब्ध नहुँदा पीडित भए किसानहरु « Yalambar Times
६ बैशाख २०८२, शनिबार

समयमै मल उपलब्ध नहुँदा पीडित भए किसानहरु


यलम्वर टाइम्स
६ बैशाख २०८२, शनिबार ०९:०२

यो वर्ष मकै खेतीमा मल लगाउने समयमा उपलब्ध नभएपछि महंगो शुल्क तिरेरै भए पनि लुकाइछिपाइ भारतीय मल खरीद गर्दा किसानहरुले धेरै मर्का सहनुपरेको देखिन्छ । मकै खेतीमा मात्र होइन चैते धान, तरकारी, फलफूल जस्ता बालीमा रसायनिक मल अभावकै कारण भने जस्तो उत्पादन हुन नसक्ने अवस्था रहेको कृषक भन्न थालेका छन् ।

हुन त मल, बीउ अभाव हुनु राज्यलाई नै घाटा हुनु हो । कृषकहरुलाई त पीडा नै छ । उर्भर जमिन भएर पनि भने जस्तो उत्पादन नहुनु, राज्यले उपलब्ध गराउने मल, बीउविजन र सिंचाईमा ध्यान नदिनुको पछाडि छिमेकी भारतीय बजारमा निर्भर हुनु हो । नेपाली रकम भारत केन्द्रीत हुँदा घुमाउरो तरिकाबाट नेपाललाई नै क्षति पुग्छ । तर, स्थानीय सरकारले प्रदेश र संघ सरकारलाई ध्यान केन्द्रीत गराएर किसानको आवाजलाई सम्बोधन गर्न सक्यो भने समृद्ध नेपाल हुनेमा टेवा पुग्ने थियो ।

राज्यले बैशाख पहिलो हप्ता मल भित्रिन्छ भनेर आश्वासन दिएका छन् तर, त्यो मल भित्रिसक्दा अन्नबालीहरु हुर्केर उत्पादन क्षमता कम भइसकेको हुन्छ । भारतीय मलको आशामा बस्नुभन्दा जिल्ला स्तरकै पालिका मिलेर मल उत्पादन कारखाना खोलेर किसानहरुलाई जागरुक बनाउन जरुरी छ । मल खरीद गर्ने बहानामा कमिशन खान पल्केकाहरुबाट किसानको हित हुन सक्दैन । त्यस्ता कार्यको अन्त्य गरी कृषकको हितमा सरकार लाग्दा उपयुक्त हुन्छ ।