व्यवसायीमैत्री नीति नबन्दा नेपाली कपडा उद्योगको अस्तित्व संकटमा « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

व्यवसायीमैत्री नीति नबन्दा नेपाली कपडा उद्योगको अस्तित्व संकटमा


यलम्वर टाइम्स
२६ असार २०७५, मंगलवार ०६:१७

इटहरी । सरकारको नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु संकटमा पर्दै गएको कपडा व्यवसायीहरुले बताएका छन् ।

९० प्रतिशत स्वदेशी कच्चा पदार्थमै सञ्चालित उद्योगहरु सरकारको व्यवसायीमैत्री नीतिको अभावमा संकटमा पर्दै गएको उनीहरुको गुनासो छ ।

सुनसरीको इटहरीमा अवस्थित प्रगती टेक्स्टाईल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्स लगायत कपडा एवम् धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योगीहरुले उक्त गुनासो गरेका हुन् ।

स्वदेशकै श्रमिक र स्वदेशी कच्चा पदार्थको प्रयोगमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका कपडा उत्पादन गर्ने उद्योगबारे सरकारले दीर्घकालिन निर्णय लिन नसक्दा उद्योगहरुको अस्तित्व संकटमा परेको बताउँदै यस्ता उद्योगलाई प्रोत्साहन दिने खालका नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

उद्योगीहरुले नयाँ आवको बजेटले २० वर्षदेखि पाउँदै आएको ७० प्रतिशत कर छुटको व्यवस्था हटाउँदा नेपाली कपडाको उत्पादन लागत १३ प्रतिशतसम्म बढ्न जाने भन्दै त्यसले छिमेकी देशबाट अवैध रुपमा आयात हुने कपडाहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
धागोबाट १०० प्रतिशत भ्यालु एड गरेर कपडाहरुको उत्पादन हुने गरेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्र कुमार लोहियाले बताए ।

‘परस्पर मन्त्रालयको सम्पर्कमा छौं, मन्त्रालयले आश्वासन दिए पनि अर्कै किसिमको बजेट आयो ।’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष लोहियाले भने, ‘चोरी पैठारी भईरहेको छ । यहाँ २ हजार किलोमिटरको खुल्ला सीमानाबाट साईकलमै सामान आउँछ । एकचोटीमा ५० हजारसम्मको सामान साईकलबाट आउँछ । सरकारले बुझिदिनुपर्यो । सबैभन्दा ठूलो चोरी पैठारी भएर आउने चिज कपडा नै हो ।’

सरकारले बजार अनुगमन गरेर अबैध रुपमा भईरहेका ओसार पसार रोक्नुपर्ने उनको माग छ । उनले कर्मचारीतन्त्रले अनुगमन गरेर अवैध कारोबार गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

लोहियकाले अगाडि भने, ‘अवैध कारोबार गर्ने मानिसलाई समातेर छोडिरहेका छन् । अनुगमन गरेर कडा कारबाही हुनुपर्यो । यदि त्यसोभएन भने यहाँ अवैध कारोबारको विकृति बढीरहन्छ ।’

उपाध्यक्ष लोहियाले भने, ‘एक डलरमा केरुङ नाकाबाट जति पनि सामान भित्र्याउन सकिन्छ । नेपालमा भने प्रतिकिलो ४ डलर यहाँको बिक्री मूल्य छ ।’ उनले प्रश्न गरे ‘भन्सारबाट एक डलरको सामान आयो भने त्यसमा हामीले कसरी प्रतिस्पर्धा गर्ने ? एक डलरमा धागोमा लाग्ने कच्चा पदार्थ धागो पनि आउँदैन । त्यसको बुनाई, रंगाई लगायत कसरी गर्न सकिन्छ ?’

उद्योगीहरुका अनुसार कपडामा अहिले चोरी पैठारी र न्यून बिजकीकरणको समस्या छ । अबैध रुपमा विदेशबाट सामान नआउँदा बजारको माग जति पनि रहेको उद्योगीहरुले बताएका छन् । सरकारी नीति राम्रो भएमा अहिले ३५ करोडसम्मको कारोबार गर्ने नेपाली उद्योगले ३ सय करोडको कारोबार गर्ने सक्ने उद्योगीहरुको भनाई छ ।

त्यस्तै अहिले भईरहेको रोजगारीलाई दोब्बर पार्न सक्ने पनि उद्योगीहरु बताउँछन् । इटहरीमा रहेको रिलायन्स स्पिनिङ मिल्स एकै उद्योगले अहिले करिब ४ हजारलाई रोजगारी प्रदान गरिरहेको छ ।

सरकारले व्यवसायमैत्री नीति ल्याएमा पचास प्रतिशत क्षमतामा चलेका उद्योगहरु दुई महिनामै शतप्रतिशत सञ्चालनमा ल्याउन सकिने उपाध्यक्ष लोहिया बताउँछन् । उनीहरुले स्वदेशी उद्योग र यहाँको उत्पादनलाई संरक्षण दिनुपर्ने माग गरेका छन् । स्वदेशी अर्थतन्त्रमा उल्लेख्य योगदान दिईरहेका उद्योगहरुमा लगानी अनुदान र सहुलियतका कार्यक्रम हुनुपर्ने उद्योगीहरुको माग छ ।

त्यस्तै नेपाली कपडा गुणस्तरीय छ भन्ने कुरामा सचेतना र जानकारी दिन पनि आवश्यक रहेको उद्योगीहरु बताउँछन् ।

‘श्रम नेपालीको र प्रगती नेपालको’ भन्ने नाराका साथ उद्योगहरुको उत्पादनलाई सबै सामु पुर्याउनु पर्ने खाँचो देखिएको लोहिया बताउँछन् । बीचबीचमा भएका राजनीतिक अस्थिरता र नीतिको अभावमा सुनसरीमा मात्रै हेर्ने हो भने २०४८ देखि खुलेका १४ मध्ये १३ टेक्स्टाईल उद्योग बन्द भइसकेका छन् ।

नेपालमा कम्तिमा पनि ८० मिटर प्रतिव्यक्ति कपडा खपत छ । पहिरनमा ४० मिटर र अन्य प्रयोजनमा काम गर्छ । नेपालभर साना ठूला गरेर २०० वटा टेक्स्टाईल उद्योगहरु रहेको उद्योगीहरुले जानकारी दिएका छन् ।