शहीदको सम्झनामा « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

शहीदको सम्झनामा


यलम्वर टाइम्स
१६ माघ २०७६, बिहीबार ०८:२७

[भोलानाथ पौडेल]

राजनीतिमा शहीदलाई अति महत्वपूर्ण र गरिमामय नामले पुकारेर चिनाइन्छ । हुन पनि आफ्नो रगत मातृभूमिमा समर्पण गर्दै आँट र साहस अघि सारेर देश र जनताका नाममा नयाँ परिवर्तन ल्याउन एकल र सामूहिक रुपले नारा, जुलुस र नेपाली जनतामाझ शैक्षिक चेतना छर्नबाट कहिल्यै पछि हटेनन् । उनीहरुको त्याग र योगदानबाट कृषि, उद्योग व्यवसायमा क्रान्ति, यातायात ढुवानी, सडक सञ्जाल, मजदुर हितका साथ देश र जनताको प्रत्यक्ष अप्रत्यक्ष विकास र सुविधाका गौरवमय आधारहरुको उपभोग गर्न पाएका छौं ।

यसरी मानवअधिकार, मौलिक हक, समाजिक न्याय, स्वतन्त्रताको हक, बाँच्न पाउने हक, देश विकासका लागि आवश्यकीय स्रोत साधनको हिफाजत र सुरक्षाका बारेमा सुसूचित गराउँदै भ्रष्टचार, निरङकुशतन्त्र, कमिसन खोर, गुण्डागर्दी र बीचौलिया रहितको सुन्दर संसार निर्माण गर्न देशमा शान्ति सुशासन र समृद्धि निर्माणको बाटोमा लाग्न प्रेरित गर्दै आफ्नो जीवन संघर्षमा आहुती दिने महान व्यक्तिहरुप्रति हृदयबाट नै नमन र हार्दिक श्रद्धाञ्जली छ ।

विभिन्न काल खण्डमा भिमसेन थापा, लखन थापा हुँदै वि.सं.२०९७, २००७, २०३६, २०४२ र २०४६।४७ को देन स्मरण गर्दै वि.सं. २०६२।६३का शहीदलाई भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

समयको उतावचडाव भइ रहँदा स्वतन्त्रताको हकलाई दुरुपयोग गरि झिँगाडिँगाले मानव मृत्यु भए पनि १० लाखको खेतीमा भुसुना–ढुसी सबैलाई शहीद घोषणा गर्दा सच्चा शहीदको मान मर्दन भइ रहेको क्षणले दुःख लाग्छ । अनि प्रश्न उठ्छ किन यस्तो गरेको होला ? के संविधानमा पनि यस्तै परिकल्पना गरिइएको छ त ? पक्कै छैन । अब विज्ञ र नेतृत्व गर्ने नेतृत्ववालाले जोखिम उठाउन सक्नु पर्छ है ! नत्र अपमान कतिले कहिलेसम्म सहलान् र ? धैर्यको बाँध नफुटोस् । नेपाली एकता नटुटोस् ।

वीर शहीद अमर रहुन, वीर शहीद जिन्दावाद भन्दै २०६२।६३को जनक्रान्ति आन्दोलनमा होमिएका साहदत्त वीर, वीरङ्गना शहीदहरुको स्मरणमा ताप्लेजुङ नाङखोल्याङ्गबाट एलएन खतिवडाको शब्द संकलनको कविताको रुप प्रस्तुत गर्दछु ।

उमेशचन्द्र थापा तिमी दाङ जिल्लाका तारा, दुरिलालले व्युँझाइदिए चौधरीलाई सारा ।
सप्तरीका दर्शनलाल पोखराका भिम्सेन, अब भने नजिक आए शाहवंशका दुर्दिन ।

चितवनकी तुलसी क्षेत्री नेपालकी नारी, निधारमा रातो टीका जिउमा रातो सारी ।
हाँसीहाँसी आँफूलाई शहीद बनायौ नि, लोकतन्त्रको धारमा है नारी सुहायौ नि ।

शिव हरि कुवेर तिमी देशका ध्रुव तारा, बिष्णु पाण्डे इन्द्रलोकमा बनि दिए प्यारा ।
बाराका ति हिरालाल हिरा झैँ भै चम्के, लोकतन्त्रको झण्डा बोक्दै स्वर्गलोकमा लम्के ।

लोकतन्त्रको सेतु बन्यौ सेतु विक तिमी, वलिदानी साहासको पूजा गर्छौँ हामी ।
बाँके जिल्ला धन्य भूमि हामी गर्व गर्छौँ, लोकतन्त्रको तिम्रो पथमा हामी लागि पर्छौँ ।

झापाको नै अर्जुधारा जन्म्यौ राजन गीरी, लोकतन्त्र ल्याउन हिँड्यौ हिजै स्वर्गपुरी ।
सुरज विस्वास उदाएथ्यौ झापा भद्रपुर, साही सत्ता नङ्ग्याउने थियो तिम्रो सुर ।

यै विचारमा भयौ तिमी हाम्रो अमर आत्मा, जनताछन् नेपाली है शहीद तिम्रो साथमा ।
विद्यार्थीका प्यारा नेता देवी पौडेल जिउ, नेताहरु शहीदको सबले अर्ती लेउ ।

दीपक विस्वकर्मा बन्यौ नेपालको ज्योती, हामीलाई बाँडि दियौ लोकतन्त्रको मोती ।
कलंकीमा शहीद भयौ सगुन ताम्राकार, तिम्रो पुकार सधैँ गर्छौँ हामी कलाकार ।

हेटौडामा जन्मिएथे वीर बासु घिमिरे, लोकतन्त्रको दिक्षा दियौ उषा मिरमिरे ।
यमलाल लामिछाने बर्दियाका तिमी, कहिल्यै पनि भुल्ने छैनौ तिम्रो बाटो हामी ।

प्रद्युम्न हौ प्रभु तिमी नेपालीका लागि, निरंकुशलाई फ्याँकिदियौ हर घडीमा जागि ।
मोहम्मद जाहाँगिर अल्लाहाका प्यारा, लोकतन्त्रको विगुल फुक्यौ जागे जन्ता सारा ।

गोविन्दनाथ शर्मा तिमी पर्वतका तारा, शिक्षाका थ्यौ अगुवा तिमी नेपालीका प्यारा ।
चन्द्रवयल्कोटी तिमी चन्द्रलोक गयौ, हामी सबको दिलमा बसी अमर आत्मा भयौ ।

अनिल कुमार लामा तिमी स्वर्गबाट भर, शान्ति दीप जलाउँदै नेपालमा झर ।
वीरहरु हो तिम्रो सधैँ हामी पूजा गर्छौँ, लोकतन्त्रलाई बचाउन हामी लागि पर्छौँ ।

[भोलानाथ पौडेल]