कावेली ए चैतभित्र शिलान्यास हुन « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

कावेली ए चैतभित्र शिलान्यास हुन


यलम्वर टाइम्स
१९ फाल्गुन २०७३, बिहीबार ११:२९

सन्देश सुब्बा

hewa
आयोजनाको पावर हाउस बन्ने स्थान, पाँचथरको अमरपुर–९, पिनासी घाट ।

पाँचथर /  पाँचथर-ताप्लेजुङ सीमाना कावेली नदीमा बन्न लागेको कावेली ‘ए’ जलविद्युत आयोजनाको चैत महिनाभित्रमा शिलान्यास हुने आयोजनाले जनाएको छ । आउँने दुई महिनाभित्रमा आयोजनाको सुरुङ् मार्गको काम प्रारम्भ हुने आयोजना प्रमुख बीरेन्द्र श्रेष्ठले बताए ।

३७.६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणको जिम्मा चिनिया कम्पनि जिज्याङले पाएको छ । आयोजनाको लागि जग्गा खरिद र सडक पहुँच बिस्तारको काम सम्पन्न भइसकेको छ । आयोजनाको लागि कावेली नदीको पाँचथर अमरपुर २ र ५ स्थित खोलाखर्कमा पोखरी बनाईनेछ । जहाँबाट झण्डै साँढे चार किलोमिटर सुरुङ्मार्ग मार्फत आयोजनाको पावर हाउस रहने स्थान अमरपुर-९, स्थित तमोर नदी छेउ पिनासी घाटमा पानी खसाइनेछ ।

अहिले आयोजनामा जिज्याङ मार्फत् आएका चिनिया कामदारले काम सुरु गरिसकेका छन् । गत शनिबार मात्र मेची राजमार्गको अमरपुरस्थित भालुचोकबाट दोरुम्बा-आम्बोटे-सिंबुवा हुँदै पिनासी घाटसम्मको सडक नेपाल सरकारको नाममा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । १६ किलोमिटर सडकका लागि स्थानीय १ सय ३१ जनाको जग्गा रहेकोमा ९६ जनाले नेपाल सरकारलाई धनीपूर्जा हस्तान्तरण गरेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

विकास निर्माणको काममा सघाउ पुगोस भन्ने पवित्र सोचले सडकका लागि निशुल्क जग्गा प्रदान गरेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कैलाशमान लिङ्देनले बताए । आयोजनाको काम सुरु भएपछि अहिले स्थानीय समेत उत्साहित बनेका छन् । आयोजना पनि बन्ने गाउँको विकास पनि हुने भनेर बाटोले काटेको एक रोपनी भन्दा बढी जग्गा निशुल्क दिएको जग्गादाता अमरपुर(४, का लोकप्रसाद अधिकारीले बताए ।

आयोजना प्रति स्थानीयबासीको सौहार्दपूर्ण सहयोग र सहभागिता रहेको आयोजना प्रमुख श्रेष्ठको भनाई छ । त्यसैले बिना अवरोध काम अघि बढ्ने समेत श्रेष्ठले विश्वास व्यक्त गरे । पाँचथरको अमरपुर र पञ्चमी त्यस्तै ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसलाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको आयोजनाको इलेक्टूोनिकल काम भने सी डब्लु र टी डब्लु नामक कम्पनिले गर्नेछन् ।

विश्व बैंकको लगानि रहेको आयोजनामा वुटवल पावर कम्पनिको ५५ र इन्फ्रा एशियाको ४५ प्रतिशत सेयर रहेको छ । दश अर्ब कूल लागत रहेको मेची अञ्चलकै ठूलो मानिएको कावेली ‘ए’ जलविद्युत आयोजनालाई सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।