दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु


यलम्वर टाइम्स
१० माघ २०८०, बुधबार ०५:३९

बिर्तामोड । झापाको बिर्तामोडमा मंगलबारदेखि दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजित महोत्सव ३० गतेसम्म चल्ने छ । महोत्सव सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि हुँदैछ ।

महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

त्यस्तै खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आईटी लगायतका व्यावसायिक स्टलहरु रहेको महासंघका वीरेन मेचेले बताए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छ । द एलिमेन्ट बेन्ड, सविन राईको बेन्ड, पूर्ण राईको बेन्ड, सपना सुमनको बेन्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटी लगायतको प्रस्तुति रहने बताइएको छ । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

महोत्सवको उद्घाटन बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् । उद्घाटनअघि नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकी प्रस्तुत गरिएको महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले बताए ।