वनको व्यवस्थापन र दीगो विकासमा स्थानीय सरकार « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

वनको व्यवस्थापन र दीगो विकासमा स्थानीय सरकार


यलम्वर टाइम्स
१४ आश्विन २०७५, आईतवार ०९:५९

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्रभित्रका सामुदायिक वनहरुसँग दीगो विकासका लागि एकिकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने उदेश्यले नगर प्रमुख हरिकुमार रानाले सुझाव लिएका छन् ।

प्राकृतिक रुपमा वातावरणीय नगर बनाउन नगरपालिकाले सामुदायिक वनका पदाधिकारी र राजनीतिक दलसँग छलफल गर्दै प्रमुख रानाले यस्तो सुझाव लिएका हुन् ।

छलफलको सुरुवातमा नगर प्रमुख हरिकुमार रानाले आगामी दिनमा प्राकृतिक श्रोतको न्यायोचित वितरण गरी नियमन गरिने धारणा राखे ।

प्रमुख रानाले सामुदायिक वनको केही प्रतिशत छुट्याई पशु विकास, कृषि र शिक्षाका लागि समेत कार्यक्रम तय गर्न आग्रह गरे ।

त्यसमा वनले गर्ने सक्ने विकासको काममा नगरसगँ साझेदारी गरी अघि बढ्न वन समितिसँग आग्रह गरे । साझेदारी विकासका काम योजनाबद्ध बनाएर अगाडि बढ्न सुझाव दिए ।

प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सामुदायिक वनको आफ्नो क्षेत्रमा छुट्टै उपभोक्ता समिति गठन गरी वृक्षारोपण सहित नयाँ सडक, नदी किनारमा खाली क्षेत्रमा वृक्षारोपण गरी हराभरा बनाउनु पर्नेमा जोड दिए ।

कृषि विकास अधिकृत शालिकराम भट्टराईले पात पतिङ्गरले प्राङ्गारिक मल उत्पादन गरी आम्दानी श्रोत जुटाउन सक्ने वन समितिसँग राखे ।

खानेपानी महासंघ झापा जिल्ला अध्यक्ष योगेन्द्र आचार्यले उपभोक्तालाई वितरण गर्ने व्यवस्थापन मोडेल तयार गरी केही जमिन लिई साझेदारी कार्यक्रम अन्तर्गत बोटविरुवा उत्पादन गर्दै नगर क्षेत्रलाई हरियाली बनाउन सकिने बताए ।

साविक अर्जुनधारा गाविसका पूर्व अध्यक्ष कुन्दन भट्टराईले कुन प्रकृतिका बोटविरुवा उत्पादन गर्दा बढि लाभ हुन्छ त्यसको योजना स्पष्ट्र बनाउनु पर्ने बताए ।

अर्जुनधारा नेकपा अध्यक्ष दिपेन्द्र लम्सालले छलफल राम्रो ढङ्गले उठेको हुनाले कार्यान्वयन गर्ने ढिलो गर्नु नहुने बताए ।

नेपाली काग्रेसका नगर सचिव मुक्तिनाथ सुवेदीले सामुदायिक वनभन्दा बाहिर रहेका नागरिक शुन्य अवस्थामा बस्नु पर्ने भएकाले उत्साह थप्ने कार्यक्रम तय गर्ने सुझाव दिए ।

वन महासंघ अर्जुनधाराका अध्यक्ष दिव्य कट्टेलले अर्जुनधारा नगरपालिकाले पछिल्लो दिनमा सराहनीय काम गरेको बताउँदै स्थानीय सरकारसँग विकासका पूर्वाधारको क्षेत्रमा वनको आम्दानीको निश्चित प्रतिशत लगानी गरेर सँगसँगै जान सकिने धारणा व्यक्त गरे ।

अध्यक्ष कट्टेलले साझेदारी गर्ने कार्यक्रममा ऐन, नीतिलाई सरलीकृत बनाउन आग्रह गरे ।

त्यस्तै हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङले प्राकृतिक श्रोत, सम्पदा सबैले उपभोग गर्न पाउनुपर्ने कुरा मतान्तर नभएको बताउँदै आपूर्ति शिर्षकको काठ सही तरिकाले सदुपयोग हुन् नसकेको धारणा राखे ।

त्यस्तै हचुमासा सामुदायिक वनका अध्यक्ष धुव्र लोहार (युवराज) ले नगरस्तरीय महासंघले साझेदारी कार्यक्रमको योजना बनाउने बताए । १ वर्ष भित्रमा सामुदायिक वनको उपभोक्ता क्षेत्र उज्यालो टोल बनाउने बताए ।

त्यस्तै शान्ति सामुदायिक वनका अध्यक्ष तुलसीप्रसाद खतिवडाले नगर सरकारले संघ र प्रदेश सरकारसँग नीतिगत सहमति ल्याए सबैले काठ, दाउरा पाउने वातारण मिल्ने बताए ।

वरिष्ठ अधिकृत हिमराज सेडाईले मोडालिटी ७ दिनभित्रमा स्थानीय वन महासंघले खाका बनाई नगरपालिकामा पेश हुने त्यसपछि ठोस ढङ्गले कार्यक्रम तय हुने जानकारी दिए ।

नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपाका सचिव मित्र खतिवडा, वडा –४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, वडा–७ का अध्यक्ष नवीन ढुङ्गाना, वडा–८ का अध्यक्ष गोपीचन्द्र गौतम, दहिझोडा सामुदायिक वनका अध्यक्ष खगेन्द्र तामाङ, शान्ति सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष रुपनारायण समाल, संघीय फोरमका नेता सिर्जलाल चौधरी, दाहालटार सामुदायिक वनका अध्यक्ष डीबी राईले आ–आफ्नो धारणा राखेका थिए ।