कोच आदिवासी महिलाको स्थानीय तहमा पहुँच वृद्धि गर्न जनप्रतिनिधिहरुको प्रतिवद्धता « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

कोच आदिवासी महिलाको स्थानीय तहमा पहुँच वृद्धि गर्न जनप्रतिनिधिहरुको प्रतिवद्धता


यलम्वर टाइम्स
३ मंसिर २०७५, सोमबार ०७:१३

बिर्तामोड । कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिर्तामोड स्थित संवाद समूहको सचिवालयमा आयोजित कार्यक्रममा कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा कसरी बढाउने ? यसमा तपाईंको प्रतिबद्धता पहल र सहयोग के रहन्छ ? भन्ने विषयमा भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले कोच आदिवासी महिलाका समस्याहरु समाधान गर्न आफूहरु लागीपर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रवित्रा महतारा प्रसाईं र कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले आफूहरु पनि महिला नै भएर स्थानीय तहको नेतृत्वमा पुगेकोले आ–आफ्नो नगरपालिका क्षेत्रमा रहेका कोच आदिवासी महिलाहरुलाई हकअधिकार दिलाउन, उनीहरुलाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउन आफूहरु लागीपर्ने बताए ।

आफ्नो अधिकार प्राप्तीका लागि आफै जुट्नुपर्ने बताउँदै उनीहरुले समस्याको पहिचान गरेर त्यसको समाधानका लागि आफ्नो क्षेत्रबाट जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने बताएका थिए ।

कोच आदिवासी महिलाको हकअधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, नेतृत्व विकास, न्याय र सूचनामा स्थानीय तहमा पहुँच वृद्धिका लागि आफूहरुको पनि कर्तव्य भएकाले कोच आदिवासी महिलाहरुलाई ती अधिकार दिलाउन प्रतिबद्ध रहने उनीहरुले बताए ।

त्यस्तै सामाजिक, आर्थिकरुपले पछाडि परेका महिलाको सशक्तिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेर उनीहरुलाइ विभिन्न स्वरोजगारमुलक सीपहरु सिकाएर आत्मनिर्भर बनाउन कोच आदिवासी महिलाको लागि पर्याप्त बजेट विनियोजन गर्ने समेत उनीहरुले बताए ।

कोच आदिवासी महिलाका समस्या समाधान गर्न लक्षित समूहको कार्यक्रम मार्फत बजेट विनियोजन गर्ने उनीहरुले बताए ।

छलफलमा सहभागी कोचिला महिला फ्रण्टका कोच आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा कोचिला गाभुर फ्रण्टकी कोषाध्यक्ष सविनासिंह राजवंशी, सदस्य पार्वती राजवंशी, मेचीनगर कोषाध्यक्ष किरण राजवंशी, कोचिला महिला फ्रण्टकी सल्लाहकार सुकमति राजवंशी, उपाध्यक्ष नौतली राजवंशी, सहसचिव बेनुका राजवंशी, बिर्तामोड नगर अध्यक्ष शर्मिला राजवंशी, कोषाध्यक्ष रेणुका राजवंशी, सदस्य कमला राजवंशी लगायतले आ–आफ्नो क्षेत्रमा भएका कोच आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराएका थिए ।

उनीहरुले कोच आदिवासी महिलाले भाषा, जनचेतना, शिक्षा, स्वास्थ्य, नेतृत्व विकासका विषयलाई विशेष सम्बोधन गर्न आग्रह गरेका थिए ।

कोच आदिवासी महिला अन्य महिलाभन्दा धेरै पछाडि रहेकाले उनीहरुलाई अघि बढाउन स्थानीय तहले आरक्षणको व्यवस्था गरेर बजेट विनियोजन गरी शिक्षा स्वास्थ्य तालिम लगायतका जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका थिए ।

हरेक क्षेत्रमा महिला आरक्षण सिटमा कोच आदिवासी महिलाहरुलाई प्राथमिकता दिनुपर्ने, कोच आदिवासी महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने कोचको मातृभाषालाई प्राथमिकता दिएर कोच आदिवासी महिलाहरुलाई हकअधिकारबारे महिला लक्षित कार्यक्रम चलाउनुपर्ने बताएका थिए ।

त्यस्तै कोचिला गाभुर फ्रण्टका अध्यक्ष अभय राजवंशीले कोच आदिवासी महिलाहरु अन्य महिलाको तुलनामा पछि परेको हुँदा स्थानीय सरकारले विशेष प्राथमिकता दिएर बजेट छुट्याउनुपर्ने, कोच आदिवासी महिलाहरुको हकअधिकार स्थापित गर्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले चासो र प्राथमिकता दिनुपर्ने बताए ।

त्यस्तै सञ्चारकर्मी सुष्मा राजवंशीले कोच आदिवासी महिलालाई खुला समाजमा आउने वातावरणका लागि घरदैलो जनचेतना, आर्थिक आय–आर्जन र सशक्तिकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

उनले कोच आदिवासी महिलाहरुले खुलेर आफ्ना कुराहरु राख्न नसकेको बताउँदै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । छलफलको सहजीकरण संवाद समूहको सचिवालय संयोजक लीला नेपाल र सहसंयोजक कमला भट्टराईले गरेका थिए ।