१०१ बर्षिया भगवतीदेवीबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

१०१ बर्षिया भगवतीदेवीबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु


यलम्वर टाइम्स
५ मंसिर २०७५, बुधबार ११:०४

शुसासन र समृद्धिको आधारशीला : गृहमन्त्री थापा

[सन्देश सुब्बा]

पाँचथर । सरकारले पहिलोपल्ट सोमबारदेखि पाँचथरबाट राष्ट्रिय परिरचयपत्र वितरणकार्यको सुरुवात गरेको छ ।

पाँचथर सदरमुकाम फिदिममा राष्ट्रिय उत्सवको रुपमा आयोजित बिशेष समारोहबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ भएको हो ।

समारोहमा गृहमन्त्री रामबहादुर थापाले १०१ वर्षिय जेष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई परिचयपत्र प्रदान गरेर वितरणकार्यको शुभारम्भ गरे ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रिय परिचयपत्रले नागरिकको सम्पूर्ण सूचनाहरु भरपर्दो गरी एकिकृत गर्ने भएकाले यसले मुलुकमा शुसासन कायम गर्न सहयोग पुग्ने बताए ।

उनले भने– ‘भरपर्दो रुपमा सूचनाहरु यसले केन्द्रीत गर्छ एउटा सूचना प्रणालीमा र राष्ट्रले त्यसका आधारमा आफ्ना बिकास र समृद्धिका योजनाहरु बनाउछ ।’

बिकसित मुलुकहरुले धेरै अगाडि अपनाइसकेको यो सूचना प्रणाली नेपालले भर्खर अपनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले भने– ‘यो प्रणालीलाई सुडृढ गर्ने काममा तपाईहरुको सहयोग हुनेछ भन्ने पनि म अनुरोध गर्न चाहन्छु ।’

मुलुक भर्खरै संघीयतामा गएकाले नयाँ समस्या र आवश्यकताहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै गृहमन्त्री थापाले ती आवस्यकताहरुको पूर्ति गर्दै जाने क्रममा मुलुकले समृद्धि हाँसिल गर्ने बताए ।

अहिले केही शक्तिहरुले संघीय प्रणाली नै नकारात्मक हो भने दुष्प्रचार गरिरहेको भन्दै गृहमन्त्री थापाले त्यस्ता हावादारी कुराको पछि नलाग्न समेत नागरिकलाई आग्रह गरे ।

समारोहमा बोल्दै प्रदेश–१ का मूख्यमन्त्री शेरधन राइले राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको दिनलाई नेपालको शन्दर्भमा ऐतिहासिक दिन भने ।

मुख्यमन्त्री राइले सूर्योदयको प्रदेशबाट यो काम सुरु भएको भन्दै यसले मुलुकमा शुसासन कायम गर्न र समृद्धि हाँसिल गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

समारोहमा गृहसचिव प्रेम कुमार राई र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले राष्ट्रिय परिचयपत्रमा रहेको चिप्समा व्यक्तिका सम्पूर्ण जैविक तथा वैयक्तिक सूचनाहरु संग्रहित हुने हुनाले यो बहूउपयोगि हुने बताए ।

भवतीदेवी राष्ट्रिय परिचयपत्र पाउँने पहिलो नागरिक

फिदिम नगरपालिका–४, की जेष्ठ नागरिक १०१ वर्षिया बृद्धा भगवतीदेवी भण्डारी राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली नागरिक भएका छिन् ।

सोमबार आयोजित बिशेष समारोहमा गृहमन्त्री रामबहादुर थापाले भगवतीदेवीलाई परिचयपत्र प्रदान गरेर वितरणकार्यको शुभारम्भ गरेका हुन् ।

आफ्नो नाती दीपक भण्डारीको सहारामा गाडिमा चडेर उनी परिचयपत्र लिन कार्यक्रमस्थल पुगेकी थिइन् । परिचयपत्र लिइसकेपछि उनले भनिन्– ‘छ वर्षको उमेरमा मेरो बिवाह भयो, अहिले १०१ वर्ष पुग्दा मन्त्रीको हातबाट पहिलोपल्ट कार्ड पाउँदा खुसी छु ।’

उनले सबैले आफ्नो जस्तो परिचयपत्र पाओस् समेत भनेकी छिन् । पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि गत ५ असारदेखि विवरण संकलनको काम सुरु गरिएको थियो ।

तीन वर्षभित्रमा सबै जिल्लाबाट परिचयपत्र वितरण

सरकारले आगामी तीन वर्षभित्रमा सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले यसै आर्थिक वर्षभित्र १५ जिल्लाबाट वितरणकार्य थालिने बताए ।

महानिर्देशक काफ्लेका अनुसार चालु आर्थिक वर्षभित्र प्रदेश नम्बर–१–को झापा र संखुवासभा, प्रदेश–२ को महोत्तरी र सप्तरी, प्रदेश–३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश–५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला त्यस्तै सुदुरपश्चिम प्रदेशको कञ्चनपुर र अछामबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी छ ।

सरकारले २०६७ देखि नै वितरणको लागि प्रयास थालेको राष्ट्रिय परिचयपत्र वितरणकार्यले लामो समयपछि सार्थकता पाएको हो ।