दोहोरो श्रेस्ता उठाएर मालपोतबाटै धनीपुर्जा जारी « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

दोहोरो श्रेस्ता उठाएर मालपोतबाटै धनीपुर्जा जारी


यलम्वर टाइम्स
२९ पुष २०७५, आईतवार ०९:३१

[पञ्चमाया थिङ तामाङ]

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाल सरकारको नाममा श्रेस्ता (प्रति) कायम रहेको सरकारी जग्गा व्याक्तिको नाममा दोहोरा श्रेस्ता उठाएर पास गरिएको पाईएको छ ।

वि.सं.०५१ असार १७ गतेबाट श्रेस्तामा नेपाल सरकारको नाममा कित्ता नं.११ कायम भई दर्ता भएको १९ रोपनी १० आना जग्गा साविक अर्खौले जितपुर गाविस वडा नं.१, हाल महालक्ष्मी नगरपालिका वडा नं.७ घर भएका गोकर्ण तुम्वाको नाममा दर्ता भएको पाईएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भई तिरो तिर्न तुम्वा कार्यालयमा आएपछि मात्र नगरपालिकालाई थाहा भएको योजना अधिकृत सन्तोष दर्जीले बताए ।

तुम्वाले ०५१ सालदेखि नेपाल सरकारको नाममा कि.नं.११ मा दर्ता कायम रहेको जग्गा ०६८ चैत्र ३० गते आफ्नो नाममा पास गरेको मालपोत कार्यालय धनकुटाको ठेली नं.२२ को पाना नं.३२५१ मा उल्लेख छ ।

पाना नं.३२५१ उल्लेख भएको श्रेस्तामा ०६८ चैत्र ३० को सदर टिप्पणी निर्णयले दर्ता कायम गरि पुर्जा प्रदान गरिएको जनाइएको छ ।

श्रेस्तामा जग्गाको विवरणमा सरकारी प्रति जग्गालाई किर्ते गरी आवादी बनाई पुर्जा प्रदान गरिएको छ । सो जग्गाको कि.नं.११ लाई पनि किर्ते गरेर सुन्य थपेर कि.नं.११० बनाइएको पनि पाईएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम भएको पाइएपछि महालक्ष्मी नगरपालिकाले मालपोत कार्यालय धनकुटालाई जग्गा कुन प्रक्रियाबाट दर्ता भएको भनी ०७५ भाद्र २४ गते परिपत्र गरेको थियो ।

मालपोत कार्यालय धनकुटाले ०७५ भाद्र २९ गते लेखी पठाएको जवाफ चित्तबुझ्दो नभएपछि महालक्ष्मी नगरपालिकाले ०७५ असोज १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्याक कार्वाहीको लागि पत्र पठाएको थियो ।

सो विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले ०७५ असोज १९ गते मालपोत कार्यालय धनकुटालाई आवश्याक छानविन गरी राय पेश गर्न परिपत्र जारी गरेको थियो ।

जारी पत्रिपत्रमा जग्गा आफ्नो भएको दाबी गर्दै नगरपालिकमा एकिकृत सम्पति कर तिर्न आएका तुम्वाले जग्गा दर्ता गरेको भनिएको मितिमा मालपोत कार्यालयमा प्रमुख, सहायक प्रमुख, तामेली र मुद्दा फाँटमा को–को कार्यरत थिए, विवरण पठाउन भनिएको थियो ।

साथै, कि.नं.११ उल्लेख भएको जग्गा गोकर्ण तुम्वाको नाममा दर्ता गर्न मिल्ने प्रकृतिको हो वा होईन ? कानूनी आधार के के हुन र श्रेस्तामा कुन÷कुन कर्मचारीले हस्ताक्षर रहेको छ सो समेत मागिएको थियो ।

साथै, अख्तियारले मालपोतलाई उक्त जग्गा साविकमा सरकारी सार्वजानिक वा निजि कुन प्रकृतिको जग्गा थियो र तुम्वाको नाममा कुन प्रक्रियाबाट दर्ता भएको थियो सो पनि उल्लेख गर्न भनिएको थियो ।

मालपोत कार्यालय धनकुटाका निमिक्त कार्यालय प्रमुख तिलक खत्रीले भने श्रेस्तामा हेर्दा उक्त जग्गा ०६८ चैत्र ३० गतेको सदर टिप्पणीको आधारमा श्रेस्ता कायम गरी पुर्जा प्रदान गरिएको उल्लेख भएको बताए । साथै सोही अनरुप अख्तियारलाई लिखित जवाफ यस अघि नै पठाए सकिएको खत्रीले वताएका छन् ।

सो विषयमा महालक्ष्मी नगरपालिका वडा नं.७ निवासी गोकर्ण तुम्वासँग सम्पर्क गर्दा वि.सं.१९९८ भन्दा पहिले देखि नै उक्त जग्गा आफ्नो पुर्खाले भोगचलन गर्दै आएको बताए ।

तुम्वाले ०५१ सालमा आफ्नो बाउबाजेले पुस्तौ देखि भोगचलन गर्दै आएको जग्गा के कसरी मालपोत कार्यालयले नेपाल सरकारको नाममा दर्ता ग¥यो आफुलाई थाहा नभए बताए ।

उनले आफ्नै भोगचलनमा रहेको जग्गा सरकारी जग्गामा परिणत भएको थाहा पाएपछि ०६८ साल चैत्र ३० पुनः आफ्नो नाममा दर्ता कायम गरेको बताए ।

तुम्वाले आफुसँग १९९८ साल देखिको सो जग्गाको (निस्सा) कागजपत्र रहेको र वर्षौदेखि गाविसलाई तिरो र हाल नगरपालिका भएपछि एकिकृत सम्पति कर तिरेको प्रमाण समेत रहेको बताए । सो कित्ता नं. उल्लेख भएको जग्गामै आफ्नो घर रहेको र वर्षौदेखि बसोवास गरिरहेको दाबी गरेका छन् ।

नगरपालिका आफ्नो नाममा कायम रहेको जग्गा सरकारी जग्गा भएको दावी गरेपछि आवश्याक छानविनको लागी आफुसँग भएको सम्पूर्ण प्रमाण सहित उच्च अदालत धनकुटा इजालास धनकुटामा नगरपालिका विरुद्ध मुद्धा समेत दायर गरेको तुम्वाले बताए ।

यता नगरपालिकामा प्रमुख परशुराम नेपालले भने सो जग्गा सरकारी भएको भन्दै जितपुर बजार व्यावस्थापन समितिले जग्गा खोजी गरी पाउँ भनी ७ नम्वर वडा कार्यालयमा निवेदन दिएको र वडाले नगरपालिकामा सिफारिस गरेपछि आवश्याक प्रक्रिया अघि बढाएको बताए ।

धनकुटा जिल्लाको अधिकांश गाउँपालिका र नगरपालिका क्षेत्रमा सयौं रोपनी सार्वजानिक जग्गाहरुको दोहोरो श्रेस्ता उठाएर व्याक्तिको नाममा गैह्रकानुनी ढंगले किर्तेपास गरी भोगचलन गरेको पाईएपछि धनकुटामा पछिल्लो एक दशक यता यस्तो समस्या देखा परिरहेको छ ।

मालपोत कार्यालय धनकुटाका एक अधिकारीकाले हरेक दिन सर्वसाधरण सेवाग्राहीहरु कार्यालयमा आफुहरुको नम्वरी जग्गाको आसपासमा रहेको सार्वजानिक जग्गा दोश्रो व्याक्तिले मेरो हो भन्दै दावी गर्दै आएकोभन्दै गुनासो लिएर आउने गरेको बताए ।

अधिकारीले उनीहरुले गुनासो लिएर कार्यालयमा दिन प्रतिदिन धाउन थाले पछि सरोकारवालहरुलाई आफुले सचेत समेत गराएको बताएका छन् ।

मालपोत कार्यालयको मुद्दा शाखामा कार्यरत अर्का एक कर्मचारीले भने अड्डाको काम गर्न पाईन्दैन, सेवा ग्राही खाली फाईल, मिसिल, मोठ हेरीदिन भन्दै आउँछन हैरानी नै परियो ।

उनी पनि भरखरै मात्र सरुवा भएर आएकाले मालपोत कार्यालयको पहिलाको कागज पत्र देख्दा छक्क परेको बताउँछन् ।