झापाको सामुदायिक वन पदाधिकारीसँग अख्तियारको अन्तरक्रिया « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

झापाको सामुदायिक वन पदाधिकारीसँग अख्तियारको अन्तरक्रिया


यलम्वर टाइम्स
६ चैत्र २०७५, बुधबार ०९:१३

भद्रपुर । झापामा पहिलोपटक सामुदायिक वनका पदाधिकारीसँग अख्तियार आयोगले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको अभियोगका बेनामे उजुरीहरु पर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विर्तामोडमा मङ्गलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

आयोगका प्रमुम महेश आचार्यले वन समूहमा सुशासन कायम गरी भ्रष्टाचार हुने अवस्थाको अन्त्य गर्न उजुरीहरुको अनुसन्धानका क्रममा थप माग गरिएका कागजातहरुलाई यथाशिघ्र अख्तियारको कार्यालयमा पठाएर सहयोग गर्न कार्यक्रममा आग्रह गरेका थिए ।

उनले अख्तियार राष्ट्रको उत्तरदात्यिव अभिवृद्धि गर्ने संस्था भएको बताउँदै गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने र गलत सूचना दिएर संस्था तथा व्यक्तिको चरित्र हत्या गर्नेलाई समेत कारवाही गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पछिल्लो समय सामुदायिक वनमा अतिक्रमण बढेको बताए ।

उनले सामुदायिक वनले बन क्षेत्रको संरक्षणमा ठूलो भूमिका निर्वाह गरे पनि समितिका पदाधिकारीहरुले विधिसम्मत काम नगर्दा अख्तियारमा उजुरी पर्ने गरेको जानकारी दिए ।

प्रजिअले इमान्दार व्यक्तिले अख्तियारसँग डराउन नपर्ने बताउँदै झापाका सामुदायिक वनहरुलाई नमूना काम गरेर देखाउन आग्रह गरे ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सामुदायिक वनहरुलाई वन कार्य्विधि २०७१ अनुसार काम गर्न आग्रह गरे ।

उनले वनहरुमा निर्वाचन पछि आउने समितिलाई आर्थिक तथा भौतिक सम्पतिको बरबुझारक नगर्दा सामुदायिक वनमा समस्या देखिएको बताए ।

प्रमुख घिमिरेले वनहरुलाई आर्थिक हिसाब किताब पारदर्शी ढंगले राख्न समेत सुझाव दिए । उनका अनुसार कार्यक्रममा झापाकै ५९ वटा सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

हाल झापाका ६ वटा सामुदायिक वनका अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा मुद्दा परेका छन् । कार्यक्रममा सामुदायिक वन महासंघकी केन्द्रीय सदस्य संगीता थापा, महासंघ जिल्लाका हिमालय दाहाललगायतले मन्तव्य व्यक्त गरेको थिए ।

कार्यक्रमा आयोगका उपसचिव नरेन्द्रराज भटटराइले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्र माथि विभिन्न सामुदायिक वनका पदाधिकारीहरु कृष्ण कोइराला, पुष्पा मगर, सूर्यकुमार थापा, ख्याम ओली, श्याम पोखरेल, सन्तलाल मेचेलगायतले अख्तियारलाई बेनामे उजुरी लिएर दुःख नदिन आग्रह गरे ।

उनीहरुले अख्तियार ठूला संस्थाका भ्रष्टाचारीहरुलाई बेवास्ता गरेको र साना संस्थाहरुमा मात्र पुगेको आरोप लगाए ।

बोल्ने अधिकांश वक्ताले गलत नियत राखेर राजनीतिक आस्थाका आधारमा बनका पदाधिकारीहरुलाई दुःख दिने हिसाबले गरिएको उजुरीको तत्काल छानवीन गरी दोषी भए कारवाही गर्न माग गरे ।