जातीय मुक्तिका नायक हुन् गोरेबहादुर « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जातीय मुक्तिका नायक हुन् गोरेबहादुर


यलम्वर टाइम्स
१६ भाद्र २०७६, सोमबार ०९:०९

[सञ्जोग लाफा मगर]

जातीय चेतना

‘एकदिन मैले पढाइरहेको गौरीशंकर हाइस्कूल रामेछापमा आधा दिन हिंडेर एकजना बृद्ध मलाई भेट्न आउनुभयो । गोजीबाट दुइवटा गुहारु, मिरु (अण्डा) झिकेर टोपीमा राख्दै टेबलमा राखिदिनुभयो । उनको चाउरिएको अनुहार, फुल्दै गरेको केश, फाटेको ठाउँमा टालेको कपडा, खाली खुट्टा भएपनि खुशी देखिनुहुन्थ्यो । गुहारुतर्फ देखाउँदै ‘किन यो ल्याउनु भो ? म के सहयोग गरौं’ भनेंर सोधें । खुशी हुँदै ‘केही सहयोग गर्नु पर्दैन । सर, हाम्रो जिल्ला (रामेछाप) मा पहिलोचोटी मगर ठूलो मान्छे भएर आएकोले तपाईंलाई भेट्न आएको हुँ । मगर परम्परामा ठूलो मान्छे भेट्न जाँदा खाली हात अशोभनीय हुने भएकोले घरकै गुहारु कोसेली लिएर आएको छु ।’

वृद्ध मगरको हार्दिकताले गोरेबहादुर खपाङी मगरलाई प्रभावित मात्रै पारेन, आफ्नो समुदायमा फर्कनसमेत बाध्य बनायो । रातभर मगर बृद्धको अनुहार र मगर जातिको तस्विरले पच्छाइरहेको त्यो घटना हामीलाई धेरैपटक सुनाएका गोरेबहादुरले आफ्नो फेसबुकको आत्मकथा मगरमाला श्रृङ्खलामा पनि लेखेका थिए ।

बामपन्थी भएपनि मगर संघको सांगठनिक विस्तारसँगै मगर जातिबारे गहन अध्ययन गर्न थाले । नेपाल मगर संघ (तत्कालीन नेपाल लाङ्घाली परिवार) को २०३९ फागुन १५ गते दमौली तनहुँमा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनमा संस्थापक केन्द्रीय सदस्य हुँदै चौथो राष्ट्रिय महाधिवेशन, २०४८ काठमाडौंमा निर्विरोध अध्यक्ष चुनिए । २०६० सम्मको चौंथो कार्यकाल अवधिमा मगर मुक्तिको लागि (१) थरको पछाडि अनिवार्य मगर लेख्ने (२) जन्मदेखि मृत्युसम्म बाहुन पुरेत नल्याउने (३) दशैं परित्याग गर्दै जाने (४) लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गर्ने (५) मगर जातिको धर्म बौद्ध लेख्ने नेपाल मगर संघको पाँचवटा महत्वपूर्ण निर्णय गरे ।

दुर्गम, ग्रामीण क्षेत्रमा बसोवास गर्ने मगरप्रति लक्षित गरी मगरको ऐतिहासिक विरासत र जातीय अधिकारबारे सभा, सम्मेलनमा प्रभावशाली भाषणले जुरुक्क उचाल्दै मन्त्रमुग्ध पार्ने खुवी थियो । उनको विचारले मगर समाजमा लादिएको संस्कृति, परम्परा, धर्म, कुरिती परित्याग गर्दै मौलिक परम्परा पुनर्योजनको लहर चल्यो । २०६२, ०६३ को जनआन्दोलनपछि काठमाडौंमा भएको मगर संघको नवौं राष्ट्रिय महाधिवेशनमा जातिभन्दा राजनैतिक पार्टीको मगरबीच प्रतिस्पर्धा भयो ।

एमएस थापा मगरको राष्ट्रिय जनमुक्ति पार्टी समर्थक मगरले बहिष्कार गर्यो भने उनको प्रजातान्त्रिक राष्ट्रिय जनमुक्ति पार्टी समर्थक मगरविरुद्ध आठ दलीय मगर समर्थकबीच प्रतिस्पर्धा भयो । राजनैतिक पार्टीको हस्तक्षेपमा भएको महाधिवेशनपछि खपाङ्गी मगरले भनेका थिए– ‘अब मगरले मगर संघ आफ्नो पार्टीको नेतासँग राजनैतिक बार्गेनिङको लागि सर्टिफिकेट बनाउने भयो ।’

राजनीतिक संघर्ष

गाउँकै त्रिभुवन मिडिल स्कूल पढ्दादेखि अन्याय, शोषण, दमनविरुद्ध आवाज उठाउन थालेका खपाङी मगर १२ बर्षको उमेरमै स्थानीय बामपन्थी नेता कृष्ण दाहाल (मानन्धर समूहका पोलिटव्यूरो सदस्य) को संगतले उनैले दिएको कम्युनिष्ट पार्टीको दस्तावेज, ब्रोसियर पहिलोचोटी अध्ययन गरेका थिए ।

२०२० सालमा रामसागर, रामस्वरुप (आरआर) डिग्री कलेज जनकपुरमा अध्ययनरत बखत जनकपुर चुरोट कारखानाको दक्षिणपट्टी वीरबहादुर खातीको घरमा डेरा थियो । साँझ साथीहरुले माक्र्स, लेनिनको रातो किताब ल्याइदिन्थे । नसकुञ्जेल पढिरहन्थे । त्यसबेला कम्युनिष्टहरु रसिया कम्युनिष्ट र चिनीयाँ कम्युनिष्टमा विभाजित थिए । उनले चिनीयाँ कम्युनिष्ट समर्थक मालेको भातृ संगठन अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीति गर्न थाले ।

२०३० सालदेखि रामेछाप गौरीशंकर हाइस्कूलको हेडमास्टर सात बर्ष हुँदा त्यतिबेला सीडीयोभन्दा बढी खपाङीको चर्चा हुने गथ्र्याे । २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा खुलेर लागेका थिए । त्यही साल हेटौंडामा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको महाधिवेशन संस्थापक सदस्य थिए । विद्यार्थीहरुलाई आन्दोलन गर्न उक्साएको आरोपमा दुइपटक दिउँसो तत्कालीन सीडीयो रघुनाथ भण्डारीको आदेशमा प्रहरीले पक्राउ गर्दा विद्यार्थीको नारा, जुलुसले छोडेका थिए । तेस्रो पटक राति नै पक्रेर रातारात जेल चलान गरी नौ महिना जलेश्वर कारागारमा राखियो । जेलबाट छुटेपछि महोत्तरीमा नै सक्रिय राजनीति गर्न थाले ।

२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको लागि जनपक्षीय उम्मेद्वारी दिएकामा पराजित भएका थिए । पार्टीको निर्देशनमा खुल्ला रुपमा देखिने मालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चका सचिव पूर्णकालीन र भूमिगत रुपमा सञ्चालित बन्दी सूचना केन्द्रका सदस्य रुपमा काम गरे । साथीहरुले क्वार्ज डटपेन, लीवाइज पेन्ट, ड्रागन (बुस) सर्ट, इलेक्ट्रीक रड प्रयोग गर्थे । त्यो बेलामा यी सामानहरु नेपालमा पाइदैनथ्यो ।

पार्टीले विदेश सम्बन्ध गर्न सम्मेलनमा प्रतिनिधिहरु पठाउने गर्दो रहेछ । उनलाई थाहा नहुने । ‘तिब्र जातीय अन्तरविरोध भएको मुलुकमा सुकुम्वासी, सर्वहारा वर्गका भएतापनि भिन्न–भिन्नै जातिहरुको समाजमा वर्गीय एकता कायम हुन सक्दैन ।’ ‘जातीय अन्तरविरोध समाप्त भएपछि पुँजीवादको विकासमा मात्र वर्ग संघर्ष हुन्छ ।’ (लेनिन संकलित रचना भाग–६) लेनिनले जातीय समस्या समाधान बारे लेखेको कुरा पार्टीमा जातीय समावेसीता छलफलको लागि प्रस्ताव राख्नुभयो । अन्ततः माले पार्टीमा नेतृत्वको सोंच, व्यवहार कम्युनिष्ट जस्तो नभएर निख्खर जातिवादी बाहुनको जस्तो, जातीय समस्याबारे मौन बसेकोले २०४५ साल अन्तदेखि पार्टीबाट अलग भए ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि एमएस थापा मगरको अध्यक्षतामा गठित नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (२०४७) का महासचिव बने । वर्गीय राजनीति पकड भइरहेको समयमा जातीय समस्या नेपालको प्रमुख राजनीतिक समस्या हो भनेर पहिलोचोटी पार्टीको मूल मुद्दालाई सार्वजनिक गरेका थिए । संघीय मुलुक, धर्म निरपेक्ष घोषणा, आदिवासी जनजाति, मधेसी, महिला, दलित अलपसंख्यक जातिलाई आरक्षणको व्यवस्था र जातीय जनसंख्याको आधारमा राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने राजनैतिक दस्तावेज थियो ।

बाहुनवाद विरुद्धको तार्किक कुरामा बाहुनहरु पनि नतमस्तक हुन्थे । यथास्थितिवादी राजनैतिक पार्टीका नेता, विद्वान, प्रभुत्वशाली नागरिक समाजका अगुवाहरु खपाङीलाई बाहुन विरोधी, विखण्डनकारी, साम्प्रदायिक नेता भनेर उछित्तो काढ्थे । तर, आज मुलुकमा यही मुद्दाहरु प्रमुख मुद्दा बनेकोले आरोपप्रति कटाक्ष गर्दै कम्युनिष्ट हुँ भन्नेहरुलाई भन्ने गर्थे– ‘नेपालमा कम्युनिष्ट होइन, कमनिष्ठाहरु छन् ।’

दशैंको टिका

नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र नेपाल जनजाति पार्टी एकीकरणपछि राष्ट्रिय जनमुक्ति पार्टी नामाकरण गरियो । महासचिव खपाङ्गी नै बने । सबै राजनैतिक पार्टीले खपाङी र उनको पार्टीलाई अछुत सरहको व्यवहार गर्ने गर्थे । प्रमुख पार्टीको आन्तरिक कलह, पार्टी पार्टीबीच द्वेसको स्थिति, अस्थिर सरकार र माओवादी जनयुद्ध गरिरहेका बेला राजा ज्ञानेन्द्रले २०५९ मा राजकीय सत्ता लिएपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मन्त्रीमण्डल गठन गर्यो ।
पार्टीको सिफारिसमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याणमन्त्री दशैंको छेकामा बने । सरकारी परम्पराअनुसार दशैंको टिकाको दिन राजाको हातबाट टिका ग्रहण गरेपछि पूर्णेको भोलिपल्ट कान्तिपुर पत्रिकाको मुख्य पृष्ठमा टिका लाउँदै गरेको फोटो सहित समाचार प्रकाशित भयो । टिका प्रसङ्गलाई जनएकता पत्रिकामा पनि बढाइ चढाई छापिए । खगेन्द्र संग्रौलाले आलोचनात्मक लेख लेखेपछि मगर समुदाय र आदिवासी जनजातिमाझ पक्ष विपक्षमा विभाजित भयो ।

दशैं मान्न छाडेकाले केहीले मान्न थाले । तर, जनमुक्ति पार्टीका कार्यकर्ता, आस्था राख्नेहरुले दशैं परित्यागलाई कायम नै राखे । धेरै ठाउँमा उनले टिकाको प्रसङ्ग उठ्नासाथ भन्थे– ‘हाम्रो पार्टी कुनै धर्म, संस्कृति र जातिको विरोधी होइन । मैले राजाको हातको टिका मगर भएर होइन मन्त्रीको हैषियतले लगाएको हुँ । राष्ट्र प्रमुखले मान्ने संस्कृति, परम्परालाई सम्मान गरेको हुँ । यो प्रसङ्गलाई गलत अर्थ लगाउनु भनेको हाम्रो (आदिवासी जनजाति) मान्छेले राजनीति गर्न सिक्दैछन् बुझ्न समय लाग्छ ।’

जातीय मुक्तिका विश्वविद्यालय

नेपाली समाजमा विद्यमान जातीय विभेद, भाग्यवादको विकासमा जकडिएको रुढीवद्ध संस्कार, परम्परा, संस्कृति र धर्मको आडमा बनेको ऐन, कानूनले जातीय आधारमा एकपक्षीय दण्ड जरिवाना गर्ने नियमविरुद्ध सशक्त विरोधसहित जनपैरवी जुटिरहे । जन्मको आधारमा ठूलो सानो जाति हुने एकपक्षीय वर्गीकरणको विरुद्ध आगो नै ओकले ।

मुलुक अविकसित हुनुको प्रमुख जड ब्राम्हणवाद हो भनेर यथार्थ सम्प्रेषण गरे । पशुले छोएको खाने मान्छेले छोएको नखाने रुढीवाद संस्कार थोपर्ने समाजप्रति छुवाछुत प्रथा संकीर्ण सोंचको मानसिकता भएको दलिल पेश गरे । जसको प्रमाण कथित धनी जाति र कथित गरिब जातिको फरक वर्गीय नभएर जातीय कारण हो भनेर केही वर्ष त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र र मानवशास्त्र विभागले अनुसन्धान गरेको रिपोर्ट पेश गरेको थियो ।

नेपाल मगर संघमा रहेर देशभरका मगरसँग प्रत्यक्ष उठबसको अनुभव र व्यवहारिक ज्ञान आर्जन पार्टीको कार्यक्रममा देशभरी घुम्दा आदिवासी जनजाति, दलित, मधेसी जातिको समस्यालाई बुझ्ने मौका मिल्यो । त्यो अनुभव नै उनको लागि व्यवहारिक दर्शन थियो । जुन विश्वको नामी विश्वविद्यालयमा पढेर पनि प्राप्त गर्न सकिंदैनथ्यो ।

सरकारी तथ्याङ्क अनुसार ३७.४ प्रतिशत आदिवासी जनजातिलाई हतियार बोकाउने महत्वकाँक्षा राख्नुभएन । बुलेटभन्दा ब्यालेटबाट सत्ता प्राप्त गर्ने कुरामा उनी दृढ खपाङ्गी संसारमा हतियार अल्पसंख्यकले बढी उठाएका छन् । नेपालमा आदिवासी जनजाति बहुसंख्यक छन् । नेपालमा राजनीति क्रान्ति मात्र भएकोले व्यवस्था परिवर्तन बाहेक विद्यमान जातीय समस्या ज्यूँका त्यूँ रहेकोले असमान जातीय विभेद, एकाधिकार, ब्राम्हणवादको अन्त्य सामाजिक क्रान्तिबिना नहुने भएकोले अपरिहार्य ठान्थे । जातीय मुक्ति, द्वन्द समाधान, दीगो शान्ति र विकासको लागि जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक सिद्धान्तलाई मुख्य कडी मान्थे ।

उनलाई साम्प्रदायिक नेता भने पनि जातीय द्वन्दमा देशलाई धकेल्ने कल्पना कहिल्यै गरेनन् । सद्भाव सहिष्णुताको लागि अन्य धर्म, संस्कृतिको सम्मान गर्दै टिका ग्रहण गरे । अनिवार्य संस्कृत शिक्षालाई ऐच्छिक बनाउन ठुलो चुनौति मोले । बहुल जाति, विविधता उनीहरुले बाँचेको दर्शन र भुगोलसँंगको सामिप्यता देश निर्माण हुनुअघि ऐतिहासिक गौरवगाथा बोकेका जातिलाई राज्यको मूलप्रवाहमा समावेश गर सम्मान गर भनेर राज्यलाई सर्तक गराइरहे । राज्यले दिएन भने तिम्रो नैसर्गिक अधिकार हो शान्तिपूर्ण आन्दोलनमार्फत माग भनेर जातीय अधिकार चेतनाको बिगुल फुक्ने खपाङ्गी मगरले हामीलाई धेरै दिएर गएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दा भावुक हुँदै भनेका थिए– ‘गोरेबहादुर खपाङ्गी मगर अनुभवले खारिएका राजनैतिक, सामाजिक र भाषिक ज्ञाता थिए । उनी व्यक्ति मात्र नभएर जातीय मुक्तिका लागि विश्वविद्यालय पनि हुन् ।’

र अन्तमा,

निरकुंश राणा शासनविरुद्ध पहिलोचोटी सशस्त्र विद्रोह गरेका लखन थापा मगरको सहादत भएको ७३ बर्षपछि जन्मेका स्व. गोरेबहादुर खपाङ्गी मगर प्रभावशाली आदिवासी मगर नेता थिए । २०४० पछि जातीय विभेद, असमानताको जड अध्ययन अनुसन्धान, अनुभवको ज्ञानबाट प्राप्त गरेपछि २५ वर्षे कम्युनिष्ट राजनीतिलाई तिलाञ्जली दिई जीवन निर्वाहको लागि केही महिना जगदम्बा प्रिन्टिङ प्रेसमा प्रुफ रिडरको जागिरे भए । संघ र पार्टीको काममा देशभरी डुल्दा जातीय विभेदले प्रत्यक्ष अपमान सहेर बाँचेका आदिवासी जनजाति, दलितका पीडा बुझेका खपाङ्गीले भाग्यवाद थोपरेर एकलौटी सत्तामा कुण्डली मारेका ब्राम्हणवादको जालोलाई उघारीदिए ।

प्रोफेसर बन्ने लालसाले शिक्षाप्रति तिव्र लगाव राख्ने खपाङ्गी मगर अन्ततः जातीय मुक्तिका नायक चर्चित राजनीतिज्ञ प्रभावशाली नेताको छविले चिनिए । सम्मानले उनलाई नेपालको नेल्सन मण्डेला भनेर पुकार्थे । पछिल्लो समय आदिवासी जनजाति, समजातिले अछुतजस्तो व्यवहार धोवीघाट वरिपरी नजरबन्दी झैं बनेका खपाङ्गी मगर २०७० बैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव उद्घाटन समारोहमा सहभागी हुन जाँदा पुरानो बसपार्कको जेब्राक्रसमा मोटरसाइकलको ठक्करले अचेत बने ।

नेपाल र सिङ्गापुरमा उपचार गरेको तीन बर्ष चार महिनापछि अचेत अवस्थामै प्राण त्यागे । उनको निधनले आदिवासी जनजाति, दलितलाई ठूलो क्षति पुगेको छ । राष्ट्रले राष्ट्रवादी, अहिंसावादी, नेपालको अनुभवी राजनीतिक नेता गुमाएको छ । यस दुःखद घडीमा उनको आत्माले पितृकोमा बास पाउन ।