धाइजन गाविसमा छुट्टै तरिकाको समिक्षा गोष्ठी « Yalambar Times
२ माघ २०८१, बुधबार

धाइजन गाविसमा छुट्टै तरिकाको समिक्षा गोष्ठी


यलम्वर टाइम्स
२० श्रावण २०७३, बिहीबार ०९:५६

dhaijan

धाइजन / धाइजन गाउँ विकास समितिको २०७२/०७३ को वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा धाइजन गाविससँगै यस क्षेत्रका सामुदायिक वन, स्वास्थ्य चौकी र विद्यालयलहरुले पनि आफ्नो वार्षिक गतिविधि प्रस्तुत गरेका छन् ।

यस क्षेत्रका राजनीतिक दल, सामाजिक संघसंस्था तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थितिमा भएको वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा गाविसको आय विवरण, खर्च विवरण र भावि योजनाका बारेमा प्रस्ट्याइएको थियो । गाविस सचिव सुर्दशन बरालले धाइजन गाविसलाई नमुना गाविसको रुपमा निर्माण गरेर लान यस क्षेत्रका सबै राजनीतिक दल, संघसंस्था र युवा पिढीहरुलाई आग्रह गरेका थिए । सचिव बरालले ०७२/७३ मा गाविसका भौतिक विकास तथा अन्य क्षेत्रमा गरी २ करोड ८९ लाख १९ हजार ७ सय १७ खर्च भएको बताए ।

सोही समिक्षा कार्यक्रममा स्वास्थ्य चौकी धाइजन, कालिका सामुदायिक वन, बाँसबारी समुदायिक वन, बलभद्र उच्च मावि, सरस्वति बालकल्याण मावि, कालिका निमावि, अमर प्राविले पनि आ–आफ्नो विद्यालयको गतिविधिहरु पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास अधिकारी खेमराज ओझाले गाविसमा भएको समिक्षा गोष्ठीमा सबै सहभागि भएर आफ्नो क्षेत्र वा कार्यालयको गतिविधि सार्वजनिक गर्नु जिल्लाकै नमुना समिक्षा भएको बताए । प्रमुख अतिथि ओझाले राष्ट्र सेवकहरुले जनतालाई शिरमा राखेर कार्यसम्पादन गर्नुपर्ने बताउँदै विकास निर्माणका लागि धाइनजन गाविसको प्रतिनिधिहरुले खेलेको भूमिका सहरानीय भएको बताए । उनले बाढी प्रभावित भएको स्थानमा जिल्ला विकासको नजर पुग्ने छ भन्दै त्यस स्थानमा सहयोग समेत गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद प्रसाई, एमालेका रुद्र डाँगी, माओवादीका रुकेश मेचे, राप्रपाका शिवकुमार चौहान, यसरी नै भेषराज प्रसाइ, विनोद मेचे, अमित खम्बू, सुवास ढकाल, मन्धरा श्रेष्ठ, मालती विष्ट, नरेश महरा, रामकुमार राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा धाइजन गाविसभित्र रहेर कृषि व्यवसायमा उत्कृष्ट हुने विष्णु सिटौला, पुजन लिम्बू, शिवलाल मेचे, राजु मगर, धनबहादुर विष्ट, रुद्र पुरी, धने दर्जी, चैतु कुँवर, वेदनिधी पौडेल, सुनिता उप्रेति, अमित लिम्बूलाई सम्मान गरिएको थियो । यसरी प्रवेशीका परीक्षामा उच्च अंक हासिल गर्ने पुजा घिमिरे, वाचन प्रसाई र सुमन बराललाई सम्मान गरिएको थियो ।

गाविस सचिव सुदर्शन बरालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत टिकालाल मेचे र सञ्चालन बिनिता भट्टराई गरेकी थिइन् ।