शनिअर्जुन / नेपाल उद्यमशील महिला महासंघ केन्द्रलाई राष्ट्रपति विद्या भण्डारीले महिला सशक्तिकरण तथा उत्थानमा छुट्टिएको १० करोड रकम साझेदारीमा सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
उद्यमशील महिला महासंघका केन्द्रिय अध्यक्ष देविका बुढाथोकीको नेतृत्वमा ३ सूत्रीय माग राख्दै ज्ञापन–पत्र बुझाउँन जाँदा राष्ट्रपति भण्डारीले उक्त आश्वासन दिएका थिए । ज्ञापन–पत्रमा उद्यमशील महिला महासंघले महिला उद्यमबाट उत्पादित सामानलाई स्टलको व्यवस्था गरिनु पर्ने, परामर्श केन्द्रको स्थापना गरिनु पर्ने र लक्षित वर्गका उद्यमी महिलाहरुलाई अनुदान र न्यून ब्याजमा रमक दिनु पर्ने जस्ता माग सहित ज्ञापन–पत्र बुझाएका थिए ।
ज्ञापन–पत्र बुझाउँन केन्द्रिय कोषाध्यक्ष सबिना बजगाँई, केन्द्रिय सदस्य जानुका पौडेल, सुलोचना श्रेष्ठ, पवित्रा श्रेष्ठ लगायतको टोली रहेको थियो । उक्त टोलीहरुसँग राष्ट्रपति भण्डारीले महिलाहरु यसरी सशक्त भएर गाउँदेखि केन्द्रसम्म जाग्नु सुनौलो अवसर भएको बताउँदै महिलाहरु हरेक कुरामा सक्रिय भएर अगाडी बढे संविधानले दिएको अधिकार अवश्य पुग्ने बताए । ज्ञापन–पत्र बुझाउँदै अध्यक्ष बुढाथोकीले नेपालमा धेरै दिदी बहिनीहरु उद्यमशीलतामा सक्रिय रहेको हुँदा ती दिदी बहिनीहरुलाई सहयोगको खाँचो भएको बताउँदा राष्ट्रपति भण्डारीले त्यसतर्फ राज्यको ध्यान जाने बताए ।