मृगौला दान गर्नेहरुको आयु लामो हुन्छ : डा. पुकारचन्द्र « Yalambar Times
२ माघ २०८१, बुधबार

मृगौला दान गर्नेहरुको आयु लामो हुन्छ : डा. पुकारचन्द्र


यलम्वर टाइम्स
१९ चैत्र २०७३, शनिबार ०५:५७

dr pukar

डा. पुकारचन्द्र श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक हुन्। मृगौला रोग सम्बन्धि विशेष अध्ययन गरेका श्रेष्ठ नेपालकै प्रत्यारोप गर्ने प्रमुखका रुपमा गनिन्छन्। उनीले प्रत्यारोपण गरेका बिरामीहरु हालसम्म सकुशल रहेको दाबी गर्न पछि हट्दैनन्। २४ सैं घण्टा प्रत्यारोपण केन्द्र भक्तपुरमा भेटीने श्रेष्ठ सरल र मिजासिल स्वाभावका छन्। उनीसँग यलम्वर टाइम्सका सम्पादक दिपीन राईले मृगौला रोग सम्बन्धि गरिएका वार्ता :

मृगौला रोग कस्तो रोग हो ?

मानव जीवनमा देखा पर्ने धेरै रोगहरु मध्ये मृगौला रोग एक भयाभय रोग हो । तर राज्य पक्षबाट प्रशस्त सुविधा भएको हुँदा यो रोग भयाभय भएतापनि बाँच्न सकिने बनेर आएको छ ।

यो रोग विशेष के करणबाट देखा पर्छ ?

वंशाणुगत भनौं या मधुमेह, उच्च रक्तचाप, पथरी र डाक्टरको सल्लाह बेगर जथाभावी औषधी सेवन गर्दा पनि यो रोग लाग्न सक्छ । नेपालमा करिब ३ लाख व्यक्तिहरुमा कुनै कुनै किसिमको मृगौला रोगीहरु भेटिएको छ । भने वर्षेनी ३ हजार जनाको दुवै मृगौला फेल हुने गरेको अनुमान आएको छ । ती मध्येमा केहीको अकालमै मृत्यु हुने गरेको देखिन्छ ।

के राज्यले मृगौला प्रत्यारोपण निःशुल्क गरेको हो ?

हामी निर्देशिका बनाउँदै छौं । सम्भवतः चैत अन्तिम तिर या बैशाख पहिलो हप्ताबाट निःशुल्क शल्यक्रियासँगै आधा दाममा औषधी वितरण गर्ने प्रक्रियामा जुट्छौं । निर्देशिका बनाउँने जिम्मा राज्यले मलाई प्रदान गरेको छ । म त्यसमा लागि परेको छु ।

त्यसो भए मृगौला रोगीहरु सहज रुपमा बाँच्न सक्छन् ?

अवश्य । मृगौला रोग लाग्यो भन्दैमा आतिनु पर्ने छैन । तर रोग लागेका मान्छेले खानपिन र ध्यानमा मन लगाए त्यो मान्छे आनन्दले बाँच्न सक्ने छन् । दुवै मृगौला फेल भएकालाई पनि खानपिनमा पुरा ध्यान दिनुपर्ने हुन्छ । मृगौला पीडितलाई आफन्तले मृगौला दिए त्यो मान्छे आनन्दले २०/३० वर्ष बाँच्न सक्छ । मृगौला प्रत्यारोपण गरेका मानिसहरु परेजमा बसे ३०÷४० वर्षसम्म बाँचेर व्यवसाय चलाउँदै आएको हामीले पाएका छौं ।

मृगौला दिनेहरुको अवस्था चाँही कस्तो हुन्छ त ?

पीर मान्नु पर्र्दैन मृगौला दान गर्नेहरु लामो समयसम्म बाँचेको हाम्रो रेकर्डमा छ । मृगौला दान गर्नेहरुको सम्पूर्ण शरीर चेकजाँच गरिने हुँदा त्यही अनुसारको औषधी उनलाई प्रदान गरिन्छ । त्यसले पनि उनको शरीरमा देखिएका रोगहरुलाई निमुर्ल पार्दै तन्दुरुस्त हुने काम हुन्छ । त्यसैले मृगौला दिँदैमा मरिहालिन्छ भन्ने छैन । हामी कतिखेर के हुन्छौं थाहा हुन्न तर, मृगौला दिनेहरुको भने सबैकुरा चेकजाँच हुने हुँदा मृगौला दान गर्नेहरुको स्वास्थ्य अझ मजबुद भएर गएको हाम्रो रेकर्डमा छ ।

मृगौला रोगी र मृगौला दिने व्यक्तिले प्रत्यारोपण पछि कतिसम्म औषधी सेवन गर्नुपर्ला ?

प्रत्यारोपण पछि ३ महिना आरामको जरुरी छ । त्यसपछि प्रत्यारोपण गर्नेलाई ४ महिना या ६ महिनाभित्र डाक्टरको सल्लाह अनुसार चेकजाँच गरिरहनु पर्दछ । दिनेले पनि २÷४ पटक चेकजाँच गर्नु जरुरी छ । त्यसपछि दिनेले भन्दा लिनेले २÷४ वर्ष औषधी सेवन गर्नुपर्ने हुन्छ । त्यसपछि मृगौलाले पूर्ण रुपमा काम गर्ने भएपछि त्यति धेरै औषधी सेवन गर्नु पर्दैन । तर परेजमा चाँही बस्न जरुरी छ ।

मोटोपन पनि मृगौलाको समस्या हो त ?

विश्वमा मोटोपन पनि समस्याकै रुपमा देखा पर्दै आएको छ । ति मध्ये २देखि ७ गुणासम्म मृगौला फेल गराउने सम्भावना मोटोपनले गर्दा हुन्छ ।

मानिसलाई मर्निङ वार्कको जरुरी छ नै त्यसबाट पनि रोकथाम हुन सक्छ नि ?

रोग लाग्नबाट बचाउने अचुक उपाय मर्निङ वार्क नै हो । यसलाई ध्यान दिएर गरिए प्रेसर, मधुमेह, मानसिक र फ्याटिलिभर बढ्नबाट बचाउँछ । ति रोग लागेन भने मृगौलालाई केही हुँदैन ।

मृगौला रोगबाट बच्ने उपाय ?

धुम्रपान र मद्यपान साथै तारेका चिल्लो खानेकुराबाट टाढा रहनु जरुरी छ । प्रशस्त मात्रामा पानी पिउने, स्वास्थ्य मानिसले पनि सालमा १÷२ पटक स्वास्थ्य परिक्षण गराई रगत र पिसाबको परिक्षण गर्ने । यति गरिएमा रोग लाग्नबाट बच्न सकिन्छ ।

डायलाइसिसले रोगीलाई असर गर्छ कि गर्दैन ?

डायलाइसिसको तुलनामा प्रत्यारोपण निकै किफायती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दीर्घायु हुने र उहाँहरुको जीवनस्तर उत्तम रहने हुन्छ । तत्काललाई भने डायलाइसिस ठीकै हुन जान्छ ।

मेचीमा डायलाइसिसको मेसिन छैन नि ?

हो । मेचीमा नभएकै कारण यो वर्षदेखि डायलाइसिसको मेसिन मेची अञ्चल अस्पतालमा जडान गर्दैछौं । बजेट पनि छुट्टिएको छ केही महिनापछि मेचीमा डायलाइसिसको सुविधा हुने छ । बरु डायलाइसिस गर्ने सीप सिक्ने भए भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा सम्पर्क गर्न हामी अनुरोध गर्दछौं ।

अन्त्यमा केही छ ?

पूर्वबाट यति लामो समय खर्चेर मृगौला रोग सम्बन्धि जिज्ञासा राख्दै म कहाँ आउनुभएकोले तपाईलाई धन्यवाद दिन चाहन्छु । मेरा विचार आम नेपाली जनता माझ पु¥याइदिनु भएकोमा यलम्वर टाइम्स लगायत टिमलाई आभार प्रकट गर्न चाहन्छु । नेपाल सरकारले प्रत्यारोपणको काम र रोगीहरुलाई जीवन्त राख्न मेरो पक्षबाट सक्दो सहयोग रहने छ । हामी बढी आतिएर, रोग लुकाएर अकालमा ज्यान फाल्छौं । त्यसबाट बच्नको लागि खानपिनमा ध्यान दिऔं । सरल जीवनशैली अपनाऔं । बोझिलो दिमाग राखेर कहिल्यै नहिंडौं । सकारात्मक सोच र आध्यात्मिक चिन्तनमा रमाऔं यही सन्देश दिन चाहन्छु ।