अर्जुनधारामा प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

अर्जुनधारामा प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया


यलम्वर टाइम्स
५ असार २०७४, सोमबार १०:०५

bitaran

अर्जुनधारा / सामूदायिक विद्यालयमा अध्यनरत् किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सचेत गराउने हेतुले सोमबार शनिश्चरेमा किशोरीहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘स्वास्थ्य छोराछोरी हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ नेपाली आमा समूह अर्जुनधारा–७ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेरीस्टोप बिर्तामोडका डा. खगेन्द्रप्रसाद दाहालले नेपाली समाजमा प्रजनन् स्वास्थ्यको विषयमा खुलेर कुरा नगर्ने भएको हुँदा समस्या पर्ने बताए । किशोरकिशोरीहरुमा प्रजनन् अंगहरुको विकास हुँदै परिवर्तन आउँने र यस विषयमा ज्ञान नहुने हुँदा समस्या बढेर जाने बताए । डा. दाहालले किरोशाअवस्थाको उमेर भनेको शरीरको आविष्कारको उमेर भएको बताउँदै नआतिन र अभिभावकले पनि प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्ने बताए ।

Student

नेपाली आमा समूहकी अध्यक्ष राजकुमारी शेर्पा राईको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा किशोरीहरुको प्रजनन् स्वास्थ्यमा आउने परिवर्तन, समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृत डेनजोनी आचार्य, प्राथामिक स्वास्थ्य चौकी शनिश्चरेका अध्यक्ष भुवनेश्वर शिवाकोटी, शनिश्चरे उमाविका भैरव पौडेल, उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, तारा विक, पत्रकार रमेश समदर्शी राई लगायतल आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

कक्षा ६ देखि १० सम्मका २०० जना छात्राहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा डा. खगेन्द्रप्रसाद दाहाल, मेडिका हस्पिटलकी डा. ममता धिरैयाले प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराएका थिए भने प्राथामिक स्वास्थ्य चौकी शनिश्चरेका डा. सुमित सौरभ कर्णले फस्टएडका बारेमा जानकारी गराएका थिए ।

सोही दिन शनिश्चरे उमाविमा अध्ययनरत् छात्राहरुको प्रजनन् स्वास्थ्यलाई मध्यनजर गर्दै सेनिटरी प्याड, फस्टएडका सामाग्री, डस्विन, साबुन लगायतका सामाग्री विद्यालयका शिक्षिका तारा विश्वकर्मालाई हस्तान्तरण गरिएको थियो ।
समूहकी उपाध्यक्ष दुर्गादेवी पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन नरेश खातीले गरेका थिए ।