सडकः किन भइरहेछ यति धेरै असुरक्षित « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

सडकः किन भइरहेछ यति धेरै असुरक्षित


यलम्वर टाइम्स
१८ बैशाख २०८१, मंगलवार ११:२९

[दीपसन राई]

बिर्तामोड । सडक दुर्घटनाबाट एकै दिन झापामा पाँच जनाको मृत्यु भएपछि सडक किन असुरक्षित हुँदै गइरहेको छ भन्ने बहस चलेको छ ।

बुधबार कमल गाउँपालिका–४ बस्ने तीन युवाहरुको सडक दुर्घटनाबाट मृत्यु भएपछि गाउँ नै शोकाकुल बन्यो । दोमुखा पौडी खोल्न जाँदै गरेका तीन युवा क्रमशः २० वर्षिय युनिस भण्डारी, १७ वर्षिय सरोज रेग्मी र २५ वर्षिय मौसम राईको झिलझिले क्षेत्रमा सडक दुर्घटना हुँदा मृत्यु भएको थियो । तीन युवाहरु बिहानको समयमा पौडी खेल्न दोमुखा लागेका थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी–८ स्थित बोलेरो गाडीसँग ठोक्किन पुग्दा दुईको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक मौसमको उपचारका लागि बीएण्डसी अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । यता बोलेरो चालक मेचीनगर ६ का ४५ वर्षिय ऋषिराज गिरी प्रहरी नियन्त्रणमा छन् ।

यसरी नै बुधबार नै मोटरसाइकलको ठक्करबाट भद्रपुरमा ८० वर्षिय महिलाको मृत्यु भएको छ । सोही दिन नै कनकाई सुरुङ्गा–३ स्थित बिर्तामोड निवासी ३८ वर्षिय तेजमणि खरेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ । काम विशेषले अन्य ठाउँ जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । खरेलसँगै हिंडेका मेचीनगरका प्रशन्न दनुवार गम्भीर घाइते छन् ।

यसरी नै विहीबार बिर्तामोडबाट चारआली जाँदै गरेका ४० वर्षिय बुद्धशान्ति २ निवासी ज्ञानेन्द्रराज कार्कीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । यसरी नै मोटरसाइकल दुर्घटनामा मेचीनगर ७ बस्ने तीर्थ दाहाल गम्भीर घाइते भएका छन् । मोटरसाइकल एकआपसमा जुध्दा सोही वडाका २४ वर्षिय रुपेश गिरीको पनि खुट्टा भाचिएको छ भने उनको पछाडि बस्ने मदन कुमार अधिकारीको हात खुट्टामा चोट छ ।

सवारीको चाप र बाटो साँघुरो भएकै कारण दुर्घटना बढेको अनुमान गर्न सकिन्छ तर त्यो नै सबै थोक भने होइन । सवारी चलाउँदा प्रयोग गर्ने हेलमेट र सडकको अवस्थालाई हेरेर कति गतिमा गाडीलाई चलाउने भन्ने विषयमा हेक्का राखिएन भने दुर्घटना बढ्न सक्छ ।

दुर्घटना आफैमा जानेर हुने होइन कहिलेकाही बेसुरमा पनि दुर्घटना हुने गर्छ । त्यसलाई नियन्त्रण गर्न ठाउँ ठाउँमा ट्राफिक प्रहरी परिचालन भएको पाइन्छ तर प्रहरी कुदिरहेको गाडीको गतिलाई हेरेर सुझाव दिनको सट्टा कुन गाडी अवैधानिक तरिकाले कुदेको छ, कुन गाडी दुइ नम्बरी कारोबार गर्दै हिंडेको छ त्यसतर्फ केन्द्रीत भएको कारणले पनि सडक असुरक्षित हुन पुगेको हो कि ?

बेला–बेलामा विभिन्न संघसंस्थाले ट्राफिक जनचेतनासँगै रचनात्मक, सकारात्मक विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ, तर निरन्तरता नभएपछि राज्य आफै त्यसलाई केन्द्रीत भएर सडक सुरक्षाबारे सचेतना गर्नुपर्ने हो तर नभएका कारण दुर्घटना बढेको सरोकारवालाहरु बताउँछन् । मुल सडकमा मात्र होइन नगरपालिका तथा गाउँपालिकामा खटेका ट्राफिक प्रहरीहरु पनि सडक दुर्घटना सम्बन्धी जनचेतना दिन छाडेको एक जानिफकार बताउँछन् । हातमा रसिद बोकेर कारवाही स्वरुप पैसा उठाउने परिपाटीको विकास भएकै कारण गाउँ बस्तीमा पनि दुर्घटना बढ्न थालेको छ ।

विशेषगरी गाउँबस्तीको सडकमा ट्राफिक प्रहरी बस्ने गरेका छन् । गाउँका अधिकांश ट्याक्टर र ट्रकहरु अवैधानिक तरिकाले ढुवानी ओसारपोसार गरेको र लाइसेन्स बेगर गाडी कुदाएको हेक्का पाएपछि शहरमा भन्दा बढी गाउँबस्तीका बाटाहरुमा ट्राफिक प्रहरीको उपस्थिति पाइन्छ ।

ट्राफिक प्रहरीको आफ्नो काम कर्तव्य ठीक होला तर बेलाबेलामा ट्राफिक जनचेतना तथा वडावडामा पुगेर वडा सरकारसँग समन्वय गर्दै ट्राफिक नियम पालना गर्न सके दुर्घटना न्यूनिकरण हुने थियो की !