गाउँको विकास गर्न शिव पोखरीमा धार्मिक मेला « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

गाउँको विकास गर्न शिव पोखरीमा धार्मिक मेला


यलम्वर टाइम्स
१४ चैत्र २०७४, बुधबार ०९:४०

[राजन साम्पाङ]

शिवपोखरी । विकासको दृष्टिकोणबाट सधै पछाडि रहेको माई नगरपालिका–२ चेप्टीको शिव पोखरीलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विस्तार गर्दै विकासको गतिमा अगाडि बढाउन यस क्षेत्रका अगुवा, वुद्धिजीवि, युवाहरु कम्मर कसेर लागेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो लगायत हरेक क्षेत्रबाट टाढा रहेको यस क्षेत्र शिव पोखरीको धार्मिक विकासमा प्रवद्र्धन गरे कोशेढुंगा सावित हुने निचोड निकाल्दै चैत्र १६ गतेदेखि १८ गतेसम्म धार्मिक मेलाको आयोजना गरिने भएको जनाइएको छ ।

झापाको बिर्तामोडबाट शनिश्चरे, खुदुनाबारी हुँदै शिवपोखरी पुग्न करिब १७ किलोमिटरको यात्रा तय गर्नुपर्छ । बिचमा सुखानी शहीद पार्क पनि अवलोकन गर्न सकिन्छ ।

वरिपरि पोखरी र बिचमा किरात हाङसाम वरक माङहिम अवस्थित छ । करिव ३ विगाह क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा माईपोखरीमा पाइने अत्यन्त दुर्लभ प्रजातिको रुखका विरुवाहरु पनि देख्न सकिन्छ । पोखरीमा दुर्लभ प्रजातिका रातो माछा, कछुवा र रुखमा रंगीविरंगी सुनाखरीका फूलहरु देख्न पाइन्छ । वारिपारी हिमाल जस्ता टाकुरा डाँडाहरु सजिएको हुँदा विभिन्न किसिमका चराचुरुङीहरु पनि हेर्न पाइन्छ ।

२०४६ सालमा स्थापना भएको किरात हाङसाम वरक माङहिम धार्मिक भ्रमणका लागि अन्त्य मनमोहक स्थानको रुपमा रहेको छ । यस ठाउँको विकासमा थप टेवा पुर्याउनको लागि पनि धार्मिक मेलाको आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष उर्धबहादुर राई बताउँछन् ।

अध्यक्ष राई अगाडि भन्छन् –‘धार्मिक मेलाको साथसाथै पहिचान झल्कने खालको सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्दैछौं । जसले धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास हुँदै शिव पोखरीको नाम अन्य ठाउँमा पनि परिचित हुनेछ ।’

किराँत समुदायको महान चाड खिवेक्वा याक्वा (उभौली पर्व)को अवसर पारेर मेला आयोजना गर्न लागिएको र त्यसको तयारी हुँदै गरेको आयोजक समितिका सचिव रोशन लिम्बूले जानकारी दिए ।

मेलामा किरात भेषभुषा प्रदर्शन, राई जातिको साकेला सिली, मगर जातिको हुर्रा, तामाङ सेलो लगायतको झाँकी प्रस्तुत गरिने मेघराज चोङ्वाङ लिम्बूले बताए । मेलालाई थप रोचकता प्रदान गर्न स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिने पनि चोङ्वाङले बताए ।

अनुमानित १ लाखको लागतमा सम्पन्न हुने धार्मिक मेला भर्न महमाई, शुक्रबारे, खुदुनाबारी, शनिश्चरे लगायतका स्थानबाट आउने बताइएको छ । मेलालाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु गठन गरिएको वरक माङहिमका अध्यक्ष गंगाबहादुर लिम्बूले जानकारी दिए ।

मन्दिर परिषरको प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा यस क्षेत्रका युवा तथा बुद्धिजीविहरुको उपस्थिति रहेको थियो । मन्दिर अध्यक्ष गंगा लिम्बूका अनुसार यसपाली मन्दिरका लागि माई नगरपालिकाले बजेट तर्जुमा गरिदिएको छ ।

धार्मिक मेला पछाडी मन्दिर परिषर निर्माण गर्नका साथै आन्तरिक पर्यटकको लागि केही काम गरेर जानेछौं । यस मन्दिर र यसको हातामा रहेको पोखरी पूर्ण रुपमा राम्रो बनाएर आन्तरिक पर्यटनको प्रवद्र्धन गरिएमा माई नगरपालिकाको गहना मात्र होइन हरेक क्षेत्रबाट पछि परेको चेप्टी गाउँको उन्नतिमा टेवा पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिम्बूले बताए ।