पूर्व माननीय, राजनीतिक दलबीच अर्जुनधारा नगरपालिकाको विकासका बारे वृहत छलफल « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

पूर्व माननीय, राजनीतिक दलबीच अर्जुनधारा नगरपालिकाको विकासका बारे वृहत छलफल


यलम्वर टाइम्स
१ बैशाख २०७५, शनिबार ०१:४४

अर्जुनधारा । नगर प्रमुख हरिकुमार रानाले नगरको समग्र विकासका योजनाबारे यस क्षेत्रबाट प्रतिनिधित्व भईसकेका पूर्व माननीय, विभिन्न राजनीतिक दल र सञ्चारकर्मीहरु बीच छलफल चलाएका छन् ।

प्रमुख रानाले आफू निर्वाचित हुनु, त्यसै साल बाढी, पहिरो आएर नगरलाई तहसनहस पार्ने काम भएको हुँदा अहिले हामी नगरको बाटो, पुलपुलेसोमा केन्द्रीत भएका छौं । नगरलाई समृद्धितर्फ डोहोर्याउन यहाँहरुको सुझाव सहित सहयोगको अपेक्षा गर्दै छलफलमा सहभागि हुन अनुरोध गरिएको जनाए ।

नगरले गर्दै गरेको विकासका कार्य बारे प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडाले वाचन गर्दै, हालसम्म १४५ वटा योजना सम्पन्न भईसकेको र २३६ वटा योजना सञ्चालन भईरहेको जानकारी दिए ।

खतिवडाले ०७४ साल मंसीर ३ गतेबाट बजेट ५४ करोड २४ लाख ६६ हजार ८३२ विनियोजन गरिएको बताउँदै योजना तथा कार्यक्रम र पूँजी निर्माणमा ३५ करोड ८२ लाख ८२ हजार ८३५ र चालु खर्च ६ करोड ४१ लाख ८४ हजार रहेको जनाए ।

प्रशासकीय प्रमुख खतिवडाले सामाजिक सुरक्षा भत्ता तथा दीर्घ सेवा वापत १२ करोड भएको समेत जानकारी दिए । उनले वडास्तरीय योजना तथा कार्यक्रम ४४४, नगरस्तरीय कार्यक्रम ६९ वटा छनौट भएको बताउँदै उक्त कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए ।

अर्जुनधारा नगरपालिकालाई समृद्धिको बाटोमा डोहोर्याउन बौद्धिक वर्ग र अनुभवि राजनीतिज्ञहरुको आवश्यकता भएको औल्याउँदै आउने दिनमा अझ सशक्त र सहज रुपमा विकासको कार्यक्रम अगाडि बढाउने जानकारी दिए ।

अधिकृत खतिवडाले नगरको विकासका बारे भएका गतिविधि प्रस्ट्याएपछि पूर्व माननीय भक्त खपाङ्गीले विकासका कार्यक्रम जे–जस्तो भएतापनि योजनाहरु दलित मैत्री नभएको बताए ।

कार्यक्रममा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले योजना त आयो तर, देखिने र दीर्घकालिन योजना प्रस्ट नआएको हो कि भनी त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । उनले मजदुरको सूचिकरण गरी काम अगाडि बढाउन सुझाव दिएका थिए ।

कार्यक्रममा वाणिज्य संघका सचिव चतुुर्भुज काफ्लेले बुँदागत रुपमा विकासका योजनाबारे चित्रण प्रस्तुत गर्दै त्यसतर्फ ध्यान केन्द्रीत भए नगर समृद्ध हुने ठोकुवा गरे ।

अर्का वक्ता नयाँ शक्ति पार्टीका नेता कुमार क्षेत्रीले समृद्धिका लागि ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताउँदै अर्जुनधारा हुँदै इलामको राजदुवालीसम्म पक्की बाटो निर्माण गरी अगाडि बढे अर्जुनधाराको भविष्य हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर संयोजक हेमराज खरेलले निर्वाचित जनप्रतिनिधि सेवा सुविधामा केन्द्रीत भएको आरोप लगाउँदै नगरको विकासमा योजना बनाएर अगाडि बढ्न सुझाव दिएका थिए ।

संयोजक खरेलले अगाडि भने –अर्जुनधारामा जग्गाको किचलो प्रशस्त देखिएको हुँदा सर्पट नापी ल्याएर समाधानमा लाग्नुपर्ने नगर प्रमुखलाई सुझाव दिएका थिए ।

कार्यक्रममा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले शनिश्चरेको भाग्य इलाम राजदुवालीसम्म जोडिने बाटोले निर्धारण गर्छ, त्यसतर्फ ध्यान दिन अनुरोध गरे । उनले अगाडि भने –नगरलाई समृद्ध बनाउन नगरवासीहरु जुट्नुपर्ने बताउँदै आयस्रोतको प्रशस्त माध्यम भएको क्षेत्र हुनाले विरिङ सम्पत्तीको स्रोत भएको बताए । उनले सुनिने खालका योजना होइन, देखिन खालका काम गर्न सुझाव दिएका थिए ।

अर्का वक्ता पूर्व माननीय प्रेमबहादुर गिरीले दीर्घकालिन योजनामा हात अगाडि बढाउन अनुरोध गर्दै त्यस्ता कार्यमा आफ्नो सक्दो सहयोग रहने बताए । अर्का पूर्व माननीय केदारमणि ढकालले उद्योग र कृषिको नजरमा ध्यान केन्द्रीत भए युवा शक्ति पलायन नहुने बताए ।

पूर्व माननीय शेरबहादुर इङ्नामले वडामा भएका विकासका गतिविधि आफू खुशी भएको बताउँदै यसरी छलफल चलाएर समृद्ध नगर बनाउन अगाडि बढेकोमा नगरलाई धन्यवाद दिएका थिए ।

प्रदेश सांसद बृख प्रधानले मानिसलाई आवश्यक बाटो, पुलपुलेसो भएको कारण पहिलो ध्यान त्यसतर्फ जानु स्वाभाविक भएको बताउँदै आउने दिनमा दीर्घ काम देखिने बताए ।

कार्यक्रममा माओवादीका भूपेन्द्र न्यौपाने, एमालेका प्रेमसागर सापकोटा, राप्रपाका छविलाल लम्साल, किसान नेता तारा सुवेदी, पत्रकार दिपीन राई लगायतले आ–आफ्नो विचार राखेका थिए भने छलफलमै नगरको समृद्धिका लागि आगामी हुने कार्यक्रमको योजनाबारे जानकारी दिएका थिए ।