जेटबोट यात्रामा देखिएको उत्साह « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

जेटबोट यात्रामा देखिएको उत्साह


यलम्वर टाइम्स
१० बैशाख २०७५, सोमबार ११:१६

[होमनाथ भट्टराई]

अर्जुनधारा । गत चैत्र १९ गतेदेखि सुनसरी स्थित चतारामा जेटबोट सञ्चालनमा आएको छ । वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि को नामले सञ्चालनमा आएको उक्त जेटबोटका चालक जनकपुरका वृक्षा सिंह दनुवार हुन् ।

करीब ३ करोण १५ लाख खर्च गरी ३ वर्ष निरन्तर प्रयास पश्चात उक्त बोट सञ्चालनमा आएको कुरा बोटका सञ्चालक सन्तोष भण्डारीले जानकारी दिए ।

यात्रुहरुको सुरक्षालाई ध्यानमा दिइ बोटमा लार्ईफगार्ड ज्याकेटको व्यवस्था गरिएको छ । यस बोटबाट चताराको मसानघाटदेखि बरहक्षेत्र, साङकाङ्मा (धनकुटा), त्रिवेणी (धनकुटा) र सुनसरीको सीमाना), छुवारा (भोजपुर) हुदैं भसुवा (भोजपुर) सम्मको यात्रा तय गर्न सकिन्छ ।

उक्त यात्रामा पर्ने त्रिवेणी माछा घरका सञ्चालिका मित्र राईका अनुसार भसुवाबाट चतारासम्म आइपुग्न करिब ८÷१० घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता थियो र यातायातको कुनै व्यवस्था थिएन ।

तर बोट सञ्चालनमा आएपछि करिब ३० मिनेटमा यो यात्रा सजिलै एवम् सुरक्षित रुपमा गर्न सकिने बताउछिन् । दैनिक करिब ३५० जना यात्रुहरुले सेवालिइरहेको कुरा उक्त बोटका सञ्चालकले जानकारी दिए ।

जेटबोट सञ्चालनमा आएपछि जलयात्राको आनन्दलिने मानिसहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । यसै जलयात्राको आनन्द लिन आएको झापा बिर्तामोड स्थित देवी माविका शिक्षकहरुको एउटा समुह ‘देवीयन्स’ का सदस्य एवम् उक्त विधालयका सहायक प्रअ लिलाप्रसाद भण्डारीका अनुसार जेटबोटको सञ्चालनले आन्तरिक पर्यटनलाई बढावा दिनुका साथै उक्त बोट सञ्चालन हुने स्थानका स्थानीयवासीले लाभ उठाउने छन् ।

बाह्य पर्यटनभन्दा आन्तरिक पर्यटनमा रमाउने उक्त समुहका अनुसार यस जलयात्राले विदेशी समुद्रमा गरिने जलयात्रालाई पक्कै चुनौती दिनेछ ।