प्रम ओलीद्वारा चीन भ्रमणका उपलब्धी बारे संसदलाई जानकारी, झापाका नदी नियन्त्रणका लागि समझदारी पत्रमा हस्ताक्षर « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

प्रम ओलीद्वारा चीन भ्रमणका उपलब्धी बारे संसदलाई जानकारी, झापाका नदी नियन्त्रणका लागि समझदारी पत्रमा हस्ताक्षर


यलम्वर टाइम्स
१२ असार २०७५, मंगलवार १२:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । चीन भ्रमणका क्रममा देशलाई फाइदा पुग्ने थुप्रै सहमति र सम्झौता भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचनपछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको बताउँदै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न यो सरकार सक्षम हुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्री ओलीले बताए ।

‘नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वातत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रस्तुत हुने काम गर्दैनौ’ प्रधानमन्त्री ओलीले भने, ‘देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गछौं ।’

नेपाल र चीनबीच मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशकाबीच विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘हाम्रो भ्रमणका अधिकांश उद्देश्य पूरा भएको हामीले महशुस गरेका छौं’ प्रधानमन्त्री ओलीले भने ।

चीनको भ्रमणमा राष्ट्रपति सीजिनपिङ्ग, प्रधानमन्त्री लीखच्याङ्ग, राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष लीझान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले बताए ।

यसैगरी तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धि समझदारी पत्र, मितेरी पुल र रसुवा पुल पुनः निर्माण सम्बन्धी सम्झौताहरु, मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धि प्राटोकल, लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धि समझदारी पत्र, नुवाकोट दरबार पुनः निर्माण, रसुवा, दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुनः निर्माण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यसैगरी पूर्व तराई नदी नियन्त्रण आयोजना अन्तर्गत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।