नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा: प्रमओली « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा: प्रमओली


यलम्वर टाइम्स
१३ असार २०७५, बुधबार ०९:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

हनुमान ढोका स्थित गद्धी बैठक भवन पुनः निर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यस भवनको पुनः निर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवासमाफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् ।

हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।

२०७२ सालको भूकम्पले ९ हजारभन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

‘हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।’

प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुनः निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधान जारी गरेर नयाँ निर्वाचनमार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं ।’

फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुनः निर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।