अर्जुनधाराको सालबारीमा राष्ट्रिय धान दिवस (फोटो फिचरसहित) « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधाराको सालबारीमा राष्ट्रिय धान दिवस (फोटो फिचरसहित)


यलम्वर टाइम्स
१६ असार २०७५, शनिबार ०१:४२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले वडा नं. ११ स्थित सालबारीमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव कार्यक्रम शुक्रबार मनाएको छ ।

सुरुमा महिलाभन्दा पुरुष बढी रोपार देखिएतापनि अन्त्यमा महिलाहरुको सक्रियताबाटै ठीक ४ घण्टामा एक विगाह जमिनमा धान रोपन कार्य सम्पन्न भएको थियो । उक्त जमिनमा रन्जित मुसुली धानको विरुवा रोपीएको थियो ।

बिहानको १० बजेर १५ मिनेटमा नगर प्रमुख हरिकुमार रानाको नेतृत्वमा धानको गाभो रोपेपछि उपस्थित वडाध्यक्षहरु पनि स्वतस्फूर्त धान रोप्न हिलाम्मे खेतमा पसेका थिए । प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडा पनि हातमा बीऊ लिएर १५ मिनेटसम्म धान रोपेका थिए । उता प्रदेश सांसद बृख प्रधान पनि खेतमा धान रोप्न उत्साहित भएर प्रवेश भएका थिए । उनले पनि १५ मिनेट जति गाभो गाडे ।

राज्यले ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धी, व्यवसायीक कृषिमा सदैव समर्पित’ भन्ने नाराका साथ शुक्रबार असार १५ देशभर धान दिवस तथा रोपाईं महोत्सव सम्पन्न गरेको छ । नगर कृषि कार्यालय र साना किसान सहकारी कार्यालय अर्जुनधाराको संयुक्त आयोजनामा भएको कार्यक्रममा हिले दौड प्रतियोगिता समेत गरिएको थियो ।

पुरुषतर्फको हिले दौडमा प्रथम तिर्थ गजुरेल, दोस्रो रेशबहादुर थापा र तेस्रो अजय लम्जेल भएका थिए भने महिलातर्फ हिले दौडमा डम्बरकुमारी गिरी, रेजीना गजुरेल र गीता खतिवडा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

यसरी नै जनप्रतिनिधिहरु बीच पनि हिले दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम वडा नं. ९ का पुष्प प्रसाई, बोर्ड सदस्य रमेश त्रिखत्री दोस्रो र तेस्रो वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन र भोला गौतम भएका छन् ।

यसरी नै नगरका कर्मचारीहरु बीचमा पनि हिले दौडको आयोजना गरिएको थियो । दौडमा प्रथम महेश निरौला, दोस्रो दुर्गा नेपाल र तेस्रो गजेन्द्र खनाल भएका थिए ।

सोही दिन उत्कृष्ट कृषक सुमन राई, त्रिलोचन खरेल र दुर्गाप्रसाद निरौलालाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।
नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ११ का भैरव खड्का, प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, उपप्रमुख कमला आचार्य, प्रदेश सांसद बृख प्रधान लगायतले राष्ट्रिय धान दिवसको महत्व बारे आ–आफ्नो विचार राखेका थिए ।

कृषि नगर प्रमुख शालिकराम भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत साना किसानका व्यवस्थापक भूमि बरालले गरेका थिए ।